‘९ बुँदामा जे लेखिएको छ, त्यही हो सहमति’

kamal-thapa-photoकाठमाडौं, २५ वैशाख । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले एमाले र एमाओवादीबीच भएको ९ बुँदे सहमतिमा जे लेखिएको छ त्यही मात्रै भएको भन्दै त्यसकै आधारमा सरकार अघि बढ्ने स्पष्ट पारेका छन् । दुई दलबीच बजेट ल्याएपछि सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा भद्र सहमति भएको भनी बाहिर चर्चा चलिरहेको बेला सत्ता गठबन्धनको तेस्रो ठूलो दलको अध्यक्षसमेत रहेका थापाले भने, ‘९ बुँदामा जे लेखिएको त्यो मात्रै सहमति हो, त्यसकै आधारमा सरकार अघि बढ्छ । प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छैन ।’

शनिबार आयोजना गरिएको एक साक्षात्कारमा उनले प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारलाई अहिले कुनै चुनौती र त्यसमाथि प्रश्न उठाउने ठाउँ नभएको दाबी गर्दै यही सरकारले नै अब स्थानीय निकाय र डेढ वर्षमा संसदीय निर्वाचन गराउने ठोकुवा गरे ।

उपप्रधानमन्त्री थापाले अन्तिम घडीमा एमाओवादीले गरेको निर्णयलाई स्वागत गर्दै त्यो निर्णयले मुलुकलाई अस्थिरताको दलदलबाट जोगाउँदै सरकारको स्थिरतालाई सुनिश्चिता प्रदान गरेको विश्वास ब्यक्त गरे । नेपालले अझै राजनीतिक अस्थिरता र द्वन्द्व धान्न नसक्ने भन्दै उनले मधेसको समस्या समाधान गर्न सरकारले आफ्नो संयोजकत्वमा गठन गरेको उच्चस्तरीय राजनीतिक समितिलाई पूर्णता दिन अप्ठ्यारो परेको भए आफू खुसीका साथ पद छाड्न तयार रहेको स्पष्ट पारे ।

थापाले भने– ‘मेरै कारणले समितिले पूर्ण नपाएको हो भने म खुसीसाथ पद छाडेर सहमतिको वातावरण बनाउन तयार छु । मधेसको माग पूरा गर्ने फ्रेमवर्क तयार भएको छ । राजनीतिक समितिले गरेको सहमतिको आधारमा संविधान संशोधन गर्ने हो । मधेसी मोर्चा, सरकार र प्रमुख प्रतिपक्षी कांग्रेसबीच समिति गठनको विषयमा सहमति छ तर केही प्राविधिक कारणले मात्रै नभएको हो ।’

उनले प्रधानमन्त्री केपी शर्माओलीले संसदलाई सम्बोधन गर्दै मधेसको समस्या समाधानका लागि संवादमा आउन आह्वान गरेको उल्लेख गर्दै आफू नेतृत्वको राजनीतिक समितिले आइतबार नै आन्दोलनरत मधेसी मोर्चालाई वार्ताको लागि औपचारिक रूपमा पत्र लेख्ने तयारी गरेको जानकारी दिए । द्वन्द्वकालिन मुद्दा संविधानको परिधिभित्र रहेर संक्रमणकालिन व्यवस्था अनुसार सत्यनिरूपण तथा मेलमिलाप आयोगमार्फत टुंग्याइने स्पष्ट पार्दै अन्तर्राष्ट्रिय समुदायले द्वन्द्व निरूपण गर्ने निकायको सिद्धान्त, निष्पक्षता र अधिकारको विषयमा मात्रै चासो राख्ने गरेको बताए ।

थापाले नेपालको भूराजनीति संवेदनशिलताको कारणले नेपालमा अन्तर्राष्ट्रिय चासो रहेपनि आन्तरिक मामिला आन्तरिक रूपमै हल गर्नुपर्ने मान्यता पनि विकसित भइरहेको उल्लेख गर्दै संविधान निर्माण, वर्तमान सरकार निर्माण, नाकाबन्दी र पछिल्लो राजनीतिक घटनाक्रमले आन्तरिक शक्तिको निर्णायकत्व प्रमाणित गरिसकेको दावी गरे । आफ्नो अमेरिका र बेलायतको भ्रमणको क्रममा नियोजित रूपमा नेपालको संविधानको विषयमा भ्रम छरेको आफूले पाएको उल्लेख गर्दै उनले नेपाललाई अरूको आँखाबाट हेर्ने सोचलाई परिवर्तन गरेर नेपालको भूराजनीतिक अवस्था, विशिष्ट राजनीतिक पृष्ठभूमिलाई दृष्टिगत गरेर नेपालप्रतिको स्वतन्त्र दृष्टिकोणका लागि ध्यान आकर्षित गराएको जानकारी दिए ।

थापाले भने, ‘मैले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल असुरक्षित हुँदा क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति सुरक्षामा असर पर्ने भएकोले स्वतन्त्र विचार राख्न मैले आग्रह गरेको छु । साना तिना कमी कमजोरी औँल्याएर नेपालमा अस्थिरता फैलाउने काम गर्नु हुँदैन भनेको छु । संविधानमा संसारमा कतै पनि पूर्ण हुँदैन केही कमजोरी भए सच्याउने व्यवस्था पनि संविधानमै छ ।’

नेपालको संविधानको विषयमा अपूर्ण रहेको, समावेशी नभएको र आमजनताको सहमति नभएको भनी भ्रम फैलाइएको उल्लेख गर्दै थापाले सरकारले आफ्नो संयन्त्र परिचालन गरेर त्यस्ता भ्रम चिर्ने काम अगाडि बढाउने तयारी गरिरहेको जानकारी दिए । उनले भने– ‘त्यसका लागि उच्चस्तरीय भ्रमण आदानप्रदानको पनि तयारी भइरहेको छ ।’ उनले छिमेकी मुलुकहरू चीन र भारतसँगको सम्बन्ध सौहार्द्रपूर्ण रहेको दावी उल्लेख गर्दै प्रधानमन्त्री केपी शर्माओलीको भ्रमणपछि असमझदारी हटेर सम्बन्ध सामान्यकरण भइसकेको दावी गरे ।

थापाले भने, ‘नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको विश्वास र भावना सकारात्मक बन्दै छ । केही अपवादलाई छाड्ने हो भने संविधानलाई सबैले समर्थन गरेका छन् र नेपालको विकासमा सहयोग गर्न चाहेका छन ।’

प्रतिक्रिया