दिल्लीबाट फर्केपछि कहाँ गए पूर्वराजा ?

काठमाडौं, २० वैशाख । भारतको औपचारिक एवं रहस्यमयी निम्तो मानेर पूर्वराजा ज्ञानेन्द्र शाह शनिबार नेपाल फर्किए । तर, सोमबार दिउँसोसम्म निर्मल निवासमा उनको अत्तोपत्तो छैन । उनी नागार्जुन पनि गएनन् । आखिर दिल्लीबाट फर्कनासाथ कहाँ गए त पूर्वराजा ?

आइतबार महाराजगञ्जस्थित निर्मल निवासको गेटमा निकै ठूलो भीडभाड थियो । मधेसबाट बस रिजर्भ गरेर आएका केही मानिसहरू पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न पाउनुपर्ने माग गरिरहेका थिए । नेपाल राष्ट्रवाद संघ वीरगञ्जको नाममा उनीहरूले ज्ञानेन्द्रलाई भेटेर राजतन्त्र फर्काउने आग्रह गर्न काठमाडौं आएको बताउँदै थिए । तर, निर्मल निवासमा रहेका सुरक्षाकर्मी र पूर्वराजाका सहयोगीहरूले शाह निवासमा नरहेको जानकारी गराउँदै उनीहरूलाई मुस्किलले फर्काए । उनीहरूले अबदेखि आउँदा फोन गरेर, समय मिलाएर मात्रै आउन आग्रह गरेपछि उनीहरू रित्तै फर्किए । कतिपय अझैसम्म राजधानीमा छन् र निर्मल निवासको गेटमा धाइरहेका छन् ।

स्रोतको दाबी अनुसार दिल्लीबाट शनिबार फर्किएपछि पूर्वराजा मुग्लिनतिर लागेका छन् । तर, मुग्लिनमा पूर्वराजा बस्ने ठाउँ छैन । पूर्वराजपरिवार स्रोतले मुग्लिनतिर देखाए पनि पूर्वराजा नुवाकोटतर्फ लागेको स्रोतले बतायो । उनी सोमबार साँझ मात्रै फिर्ने बताइएको छ ।

भारतीय सत्तारुढ पार्टीका राजनाथ सिंहलगायत उच्च तहका नेताहरूको निम्तोमा पूर्वराजा बिहीबार दिल्ली गएका थिए । उनी शुक्रबार नै काठमाडौं फर्कने कार्यक्रम थियो । तर, शुक्रबार बिहान ९ बजे उड्ने भनिएको नेपाल एयरलाइन्सको विमान दिउँसो १ बजे मात्रै उडेका कारण पूर्वराजा ज्ञानेन्द्र शनिबार मात्रै नेपाल फर्किएको स्रोतले बतायो ।

भारतले पूर्वराजा ज्ञानेन्द्रलाई किन निम्तो दियो भन्ने रहस्य अहिलेसम्म पटाक्षेप हुन सकेको छैन । नेपालको संविधान र नेताहरूको क्रियाकलापप्रति असन्तुष्ट पूर्वराजा ज्ञानेन्द्रको यो भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

त्यसो त भारतले सत्तारुढ दल एमाओवादीका अध्यक्ष दाहाललाई पनि भ्रमणको निम्तो दिएको थियो । तर, अहिले दिल्ली जाँदा राष्ट्रवादी जनमतबाट आलोचित हुने डरका कारण प्रचण्डले दिल्ली भ्रमण अस्वीकार गरे । दाहालले अस्वीकार गरे पनि ज्ञानेन्द्रले भने दिल्लीको निम्तो स्वीकार गरेका छन् । सूत्रहरूका अनुसार मधेसी र जनजातिलाई मिलाएर आन्दोलनमार्फत सरकारलाई दबाव दिने रणनीतिमा रहेको दिल्ली यतिबेला सरकारविरोधी यो मोर्चामा ज्ञानेन्द्रको ‘कार्ड’ समेत प्रयोग गर्न चाहन्छ भन्ने विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया