यस वर्ष दर्जन बढी आयोजना सम्पन्न हुने

aayojana copyकाठमाडौं, १५ वैशाख । वि.सं.२०७३ सालभित्र २ दर्जनभन्दा बढी जलविद्युत् आयोजनाहरुको निर्माण कार्य सम्पन्न हुने ऊर्जा मन्त्रालयको अनुमान रहेको छ । २०७२ सालमा सम्पन्न हुने भनिएका आयोजनालाई भूकम्प तथा नाकाबन्दीले प्रभाव पारेसँगै ती आयोजनासहित झण्डै ३ सय मेगावाट क्षमताका आयोजनाहरु यो वर्ष सम्पन्न हुने मन्त्रालयको अनुमान छ ।

गत वर्ष २२ वटा आयोजना सम्पन्न हुने भनिएकोमा भूकम्प तथा नाकाबन्दीको प्रभावका कारण ४ वटा आयोजना मात्रै पूर्ण रुपमा सम्पन्न भएका छन् । ती आयोजनाको विद्युत् उत्पादन क्षमता कुल साढे १८ मेगावाट बराबर रहेको छ । अरु २ वटा आयोजनामा ट्रान्समिसनको काम बाँकी रहेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत् विकास विभागका अनुसार लमजुङमा २ मेगावाट क्षमताको छ्याङ्दी खोला आयोजना गत वर्ष निर्माण सम्पन्न भएको छ । त्यस्तै दार्चुलामा रहेको साढे ८ मेगावाटको नौगाड जलविद्युत् आयोजना सम्पन्न भई गत भदौ २ गतेबाट व्यवसायिक उत्पादन भएको छ ।

ईलाम जिल्लामा माई क्यास्केड जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई चैत १९ गतेबाट व्यवसायिक उत्पादन भएको छ । यस आयोजनाको उत्पादन ७ मेगावाट क्षमताको रहेको छ ।

त्यस्तै दोलखा जिल्लामा ९ सय ९८ किलोवाट क्षमताको सुस्पा बुखरी आयोजना पनि गत वर्ष सम्पन्न भएको विभागले जनाएको छ । व्यवसायिक उत्पादन सुरु भएका यी आयोजनाबाहेक गत वर्ष ललितपुरमा २ वटा आयोजनाको निर्माण कार्य पनि पूरा भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सहप्रवक्ता गोकर्ण पन्तका अनुसार ४ दशमलव ३६ मेगावाट क्षमताको टुंगुन थोस्रे जलविद्युत आयोजना र २ मेगावाटको खानी खोला जलविद्युत् आयोजनाको काम करिब सम्पन्न भएको छ । यी आयोजनामा ट्रान्समिसनको काम बाँकी रहेकाले व्यवसायिक उत्पादन हुन नसकेको उनले बताए ।

गत वर्ष भूकम्प र नाकाबन्दीका कारण लक्ष्यअनुरुपका आयोजनाको निर्माण कार्य सम्पन्न हुन नसकेको जनाउँदै उनले यो वर्ष सम्पन्न हुने आयोजनाको संख्या बढ्ने बताए । ‘गत वर्ष सम्पन्न हुन नसकेका र यो वर्षका समेत गरेर २ दर्जन बढी आयोजनाहरु सम्पन्न हुने अनुमान छ’ उनले भने ।

गत वर्ष कुल २ सय ५ मेगावाट क्षमताका आयोजना सम्पन्न हुने मन्त्रालयको अनुमान थियो । तीमध्ये धेरै जसो आयोजनाको काम भूकम्पपछि नै अवरुद्ध रहन गएको पन्तले बताए । ५० मेगावाट क्षमताको अपर मस्र्याङ्दी ए, २५ मेगावाट क्षमताको अपर मादीजस्ता २२ वटा आयोजना गत वर्ष नै सम्पन्न हुने अनुमान थियो । ‘बीचमा कुनै समस्या नआएमा यो वर्ष यी आयोजना सम्पन्न हुने अपेक्षा छ’ पन्तले भने ।

मन्त्रालयका अनुसार गत वर्ष सम्पन्न नभएका १६ र यो वर्षको १६ वटा आयोजना गरी कुल ३२ वटा आयोजनाहरु ७३ सालभित्र सम्पन्न हुने छन् । यी सम्पूर्ण आयोजनाको क्षमता जोड्दा झण्डै ३ सय मेगावाट हुन आउने मन्त्रालयले जनाएको छ । ‘गत वर्ष निर्माण सम्पन्न नभएका आयोजनाहरु पनि जोडिँदा यो वर्ष झण्डै ३ सय मेगावाट क्षमताका आयोजनाहरु सम्पन्न हुनुपर्ने हो’ पन्तले भने ‘संख्यात्मक हिसाबले यो वर्ष धेरै आयोजनाहरु सम्पन्न हुने छन् ।’

विद्युत् विकास विभागका अनुसार विद्युत् उत्पादनका लागि अनुमति दिइएको ३५ वर्षपछि यी आयोजनाहरु सरकारी स्वामित्वमा जान्छन् । यसले गर्दा पनि चाँडो उत्पादन गरी चाँडो लाभ लिनेतर्फ लाग्न निर्माण कम्पनीलाई दवाब पुग्छ ।

विभागका इन्जिनियर दुर्गानारायण भुसाल भन्छन् ‘२०४९ को विद्युतीय ऐनले गरेको व्यवस्थाअनुसार उत्पादन अनुमति पाएको ३५ वर्षपछि आयोजना सरकारी स्वामित्वमा जान्छन्, त्यस कारण जति चाँडो विद्युत् उत्पादन हुन्छ, निजी क्षेत्रले त्यति चाँडो र धेरै नाफा लिन सक्छन् ।’ यसले निर्माण कार्य चाँडो सम्पन्न गर्न सम्बद्ध कम्पनीलाई दवाब पुग्ने उनको भनाई छ । त्यस्तै सर्वेक्षण अनुमति लिएर पनि काम नगर्ने आयोजनाको प्रगति विवरण हेरेर अनुमति रद्दसमेत हुन सक्ने उनले बताए ।

आयोजना सर्वेक्षणको अनुमति लिने तर लामो समयसम्म प्रक्रिया अनुरुप सर्वेक्षण नगर्ने परिपाटी अझैं रहेको उनले बताए । त्यसमा प्रगति विवरण हेरेर आवश्यक निर्णय हुँदै आएको उनले बताए ।

प्रतिक्रिया