सिटीका हार्ट चम्किएपछि रोकियो मड्रिड

city vs  madridलण्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगको खेलमा रियल मड्रिड रोकिएको छ । क्रिश्चन रोनाल्डो बिना मैदान उत्रेको मड्रिडविरुद्धको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीका गोलरक्षकले उत्कृष्ट प्रदर्शन गरेपछि मड्रिड रोकिन बाध्य भयो । खुट्टाको चोटको समस्याका कारण स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो बिना नै मड्रिड मैदान उत्रिएको थियो । मंगलबार राती भएको सेमिफाइनल पहिलो लेगको खेलमा इङ्ल्यान्डको म्यानचेस्टर सिटी र स्पेनको रियल मड्रिडले बराबरी खेलेका छन् । सिटीको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । सिटीका गोलरक्षक जोए हार्टले रियलको दुई खतरानाक पोस्ट आक्रमण बचाए । खेलको अन्त्यतिर सिटीका गोलरक्षक जोए हार्टले दुईवटा उत्कृष्ट बचाउ गरेपछि दुवै टोलीले बराबरीमा चित्त बुझाएका हुन् ।

सिटीको मैदान इतियाद स्टेडियममा भएको खेलमा सिटीले १० पटकसम्मको उपाधि बिजेता रियल मड्रिडलाई गोलरहित बराबरीमा रोक्न सफल भयो । अन्तिमको २० मिनेटमा रियलका जेसेले हेडमार्फत पोस्टमा प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो । त्यसअघि सिटीका गोलरक्षक हार्टले कासमिरो र पेपेको प्रहार जोगाएका थिए । सन् २००९–१० को सिजनदेखि रियल मड्रिडले च्याम्पियन्स लिगमा रोनाल्डो बिना खेलेका ४३ प्रतिशत खेल मात्रै जितेको छ । रोनाल्डो खेलको ७१ प्रतिशत खेलमा भने रियल विजयी भएको छ । म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको दोस्रो लेगको खेल अर्को हप्ता रियल मड्रिडको मैदानमा हुनेछ । दोस्रो लेग आगामी २३ गते रियलको बर्नावेउमा हुनेछ । (एजेन्सी)

प्रतिक्रिया