स्वयंसेवामा प्रतिस्पर्धा गरौँ : प्रधानमन्त्री

kp_oli_copy1काठमाडौं, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पछिको पुनर्निर्माण अभियानमा स्वयंसेवक खटाउने कार्यमा प्रतिस्पर्धा गर्न राजनीतिक दललाई आह्वान गरेका छन् ।

पुनर्निर्माणका लागि खटिएका इञ्जिनियरलाई बिदाइ गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले पुनर्निर्माण र नवनिर्माण हुन्छ भन्ने विश्वासका साथ नेपाली साँच्चिकै मेहनती र बहादुर छन् भन्ने प्रमाणित गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘कुरा काट्न र कुरा पिट्न जान्ने सबैलाई एक महिना गाउँगाउँमा गएर पुनर्निर्माणमा लाग्न आह्वान गर्छु । सबै दलले कहिलेदेखि कति कार्यकर्ता खटाउने त्यसका हामी प्रतिस्पर्धा गरौँ, नेपाल जुरुक्कै उठ्न सक्छ ।’

नयाँ जिम्मेवारीसहित खटिने इञ्जिनियरलाई पीडितसमक्ष गएर ‘देवदूत’को रूपमा काम गर्न आग्रह गर्दै उनले पुनर्निर्माण र नवनिर्माणको यस अभियानले मुलुकबाहिर रहेका युवालाई पनि स्वदेशमा फर्काएर काम दिन सरकार लागिपरेको बताए । गत वर्ष एमालेले एक महिनासम्म दैनिक ३० हजारका दरले स्वयंसेवक परिचालन गरेको उल्लेख गर्दै उनले अब एक इञ्जिनियरका साथ कम्तीमा १० स्वयंसेवक खटाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले भने, ‘कुनै पनि मुलुक त्यहाँका जनता आफैँले बनाउँछु भनेपछि मात्र बन्छ, अर्काेले आएर बनाउँदैन, चीन, कोरिया, भारत त्यही बाटोमा छन् । हामी पनि विश्वलाई देखाउने गरी मुुलुक निर्माणमा लाग्नुपर्छ ।’ भूकम्प प्रभावित क्षेत्रका जनतामा भोकमरी भएमा पनि खबर र सहयोग गर्न आग्रह गर्दै उनले भने, ‘कोही पनि नेपाली खान नपाएर मर्नु हुँदैन । सरकार साथमा छ ।’ प्राधिकरणले सहरी विकास मन्त्रालयअन्तर्गत पुनर्निर्माणका लागि १ हजार ३ सय ४७ इञ्जिनियर खटाएको छ । प्राप्त ३ हजार आवेदकमध्येबाट सो संख्यामा छनोट गरिएको र त्यत्तिकै संख्यामा सबइञ्जिनियर खटाइएको मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले जानकारी दिए । ती प्राविधिकले प्रभावितले पाउने घर निर्माणको अनुदान रकम वितरणमा प्राविधिक सहयोग गर्नुका साथै घर निर्माणका डिजाइनमा सल्लाहकारीय भूमिका निर्वाह गर्नेछन् । ती प्राविधिक कम्तीमा १ गाविस १ का दरले जानेछन् ।

संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही र सहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरीले विपद् न्यूनीकरणको जिम्मेवारीसहित पुनर्निर्माणको अभियानमा खटिने प्राविधिकलाई सफलताको शुभकामना दिए । प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भूकम्प पीडित प्राविधिकलाई बाटो पर्खिएर हेरिरहेकाले पीडितको घरमा पुगेर परिवारको सदस्यसरह काम गर्न सक्षम हुने अपेक्षा गरे ।

प्रतिक्रिया