सिन्धुपाल्चोक जिल्लाको उत्तर–पश्चिमस्थित हिमाली गाउँ सेतीघ्याङ कि फिन्जो ओमु बिहान ५ बजे उठ्छिन् उठ्ने बित्तिकै उनी केही बेरको घरको काम सकेर विद्यालय जाने तयारीमा व्यस्त हुन्छिन् । घरबाट करिब २ घन्टाको ओरालोपश्चात् उनी आफूले शिक्षा आर्जन गर्ने हेलम्बु–६ नाकोतेस्थित पेमाछोलिङ निमावि पुग्छिन् । यो त उनको भूकम्पपछिको दैनिकी नै बनेको छ । भूकम्पपछि खण्डहरमा परिणत भएको आफ्नो विद्यालयको पुनर्निर्माणपश्चात् यहाँका विद्यार्थी, अभिभावकमा नयाँ खुसी छाएको छ । यस्तै १३ वर्षीया फुर्पा डोेल्मा शेर्पाले पनि ओमुको कुरामा सहमत जनाउँदै बिहान ७ बजे खाना खाएर विद्यालय जाने गरेको बताइन् ।
भूकम्पअघि छात्राबास (होस्टेल) मा बस्दै आएका फिन्जो र फुर्पा डोल्मा भूकम्पले छात्राबास भत्किएपछि अहिले घरबाट नै धाएर आउने गरेका छन् । फुर्पा भन्छिन् ‘गतवर्ष १२ वैशाखको भूकम्पले पूरै घर नै ध्वस्त बनाएको भए पनि घरसहित विद्यालयको पनि चिन्ता लागेको थियो । अब पढ्न पाउँछु भनेर कल्पनामा समेत गरेको थिइनँ ।’ अहिले भूकम्पप्रतिरोधी भवनमा बसेर पढ्न पाउँदा निकै खुसी भएको र विद्यालयका विद्यार्थीले एकै स्वरमा खुसी हुँदै भने हामी भूकम्परहित भवनमा पढ्छौँ ।
गत आइतबार भूकम्प गएको १ वर्षको सन्दर्भमा भूकम्पले खण्डहरमा परिणत गरेको पेमाछोलिङ निमाविकोे भूकम्पप्रतिरोधी रेट्रो फिटिङसहितको पुनर्निर्माण गरेको भवनको उद्घाटन शिक्षाविद् विद्यानाथ कोइरालाले गरेका थिए । विद्यालयको पुनर्निर्माणपछिको उद्घाटन गर्न पाउँदा आफू निकै हर्षित भएको बताउँदै कोइरालाले विकट हिमाली क्षेत्रमा रहेको विद्यालयमा अन्यत्रभन्दा निकै छिटो भूकम्पप्रतिरोधी विद्यालय निर्माण भएकामा खुसी व्यक्त गरे ।
कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव कृष्ण ढुंगानाले भूकम्पले नेपालभरका ६७ जना शिक्षक शिक्षिका, १ हजार २ सय ३४ विद्यार्थीको मृत्यु भएको त्यो कालो दिन रहेको बताउँदै भूकम्पले ९ हजार विद्यालय र १८ हजार कक्षाकोठासमेत ध्वस्त भएको जानकारी दिए ।
यता विद्यालय भने हेलम्बु नाकोतेवासीले आफ्नो घर निर्माण चाडपर्व मेलापात छोडेर आफ्नोे बालबच्चा शिक्षित बनाउनका लागि अहोरात्र खटेर ३७ लाख रुपैयाँको लगानीमा जम्मा १५ कोठाको २ तले र ३ कोठाको विद्यालयको भान्छाघर निर्माण गरिएको हेलम्बू एजुकेसन लाइभ्ली हुड पार्टनरका संयोजक जिमी लामाले बताए ।
भूकम्प गएको १ महिनापछि पठनपाठन अस्थायी आवास केन्द्रबाट नै सुरु गरेको भए तापनि हेलम्बूका नाकोतेवासीको मिहिनेतपश्चात् भूकम्पप्रतिरोधी विद्यालय भवनमै आफ्ना बालबच्चाले पठनपाठन गर्न पाएकोमा निकै खुसी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साङ्गे ह्यल्मोेले बताए ।
विद्यालयमा खेलकुदका लागि बास्केटबल कोणलगायतका विद्यार्थी बालबच्चालाई आकर्षित गर्ने पिङ तथा खेलकुद सामग्रीको समेत व्यवस्था गरिएको थियो । भूकम्पअघि विद्यालयमा १ सय ५ जना विद्यार्थी थिए भने अहिले ५६ जना मात्र छन् । भूकम्पले मानसिक डर, तनाव भएर विद्यार्थीको कमी भएको भए तापनि यस वर्षदेखि विद्यार्थीको चाप बढ्दै जाने विद्यालयका प्रध्यानाध्यापक मणिप्रसाद अधिकारीले विश्वास व्यक्त गरे ।
विद्यालयका ५६ जना विद्यार्थीलाई हेलम्बू एजुकेसन लाइभ्ली हुड पार्टनरले शैक्षिक सामग्री टिफिन बक्स र बोटलसहितको रातो झोला वितरण गरेको थियो भने नयाँ भर्ना भएर आउने विद्यार्थीलाई पनि वितरण गरिने संयोजक जिमी लामाले बताए ।
हिमालको काखमा रहेको चारैतिर डाँडाकाडाले ढाकेको स्वच्छ र मनोरम वातावरण रहेको पर्यटकीय केन्द्रको रूपमा परिचित नाकोतेमा भूकम्पपछिको विद्यालयको पुननिर्माण भई सञ्चालन हुँदा यसले हेलम्बूको नै आकर्षणलाई अझ बढाएको छ ।
प्रतिक्रिया