एक वर्षपछि पनि विस्थापित

Gorkha Earthquake copyगतवर्ष १२ वैशाखको ‘गोरखा भूकम्प’पछि विस्थापित उत्तरी रसुवाका जनता अझै आफ्नो थातथलो फर्कन सकेका छैनन् । भूकम्पका कारण जिल्लाका ९९ प्रतिशत घर क्षति भएको र जमिन ठाउँठाउँमा चिरा परेको अवस्थामा रहँदा पनि हालसम्म ठोस रूपले भौगर्भिक अवस्था परीक्षण गर्न सकिएको छैन । अर्कातर्फ पटकपटक गएको परकम्पले पनि जनमानसमा बढी त्रास छाएको छ । हाकु गाविसका ९० प्रतिशत ग्रामीणवासी अझै पुख्र्यौली थलामा फर्कन नसकेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।

भूकम्प गएलगत्तै डाँडागाउँ गाविस–८ र ९ करुम्राङ एवं हाकु गाविसका ८ वडाका बासिन्दा सुरक्षित ठाउँको खोजी गर्दै जिल्लाका धुन्चे, कालिकास्थान, लहरेपौवाको सातबिसे, बोगटीटार तथा नुवाकोटका सिम्मुटारलगायत शिविरमा आश्रय लिई रहे पनि हिउँदको हावाहुरीले शिविरका टहरा उडाउने समस्या बढ्दै गएको हाकुका विस्थापित निमदर्के तामाङले जानकारी दिए ।

भूकम्पपछि रसुवाका अधिकांश पानीका मुहान सुकेको, अस्थायी शिविरमा पानी र शौचालयको अभाव, बालबालिकाको अध्ययन, समयसमयमा स्वास्थ्य परीक्षण जस्ता कार्यमा परेको समस्या समाधान गर्न विस्थापित परिवारले माग गरेका छन् ।

जमिन चिराचिरा भएका ठाउँमा बसोबास गर्न उपुयक्त छ, छैन भन्ने भौगर्भिक अवस्था छिटो परीक्षण गराई आफ्नो थातथलोमा पुनर्वासका लागि आवास बनाउने वातावरण सिर्जना गरिदिन सरकारसमक्ष आग्रह गर्दै हाकुका सेनवाङ्दी तामाङले शिविरमा बसी शरणार्थी जस्तो जीवन बिताउँदा बिहान बेलुका छाक टार्न गाह्रो परिरहेको बताए । प्रायः सबैको आवाज छ, ‘आफ्नो थातथलो फर्की खेतीपाती गरी जीविकोपार्जन गर्न पाऊँ ।’

हाकु गाविसबाट ४ सयभन्दा बढी र डाँडागाउँबाट २ सय घर परिवार विस्थापित भई विभिन्न शिविरमा छरिएर बसेका छन् । एकै ठाउँमा शिविर नहुँदा छरिएर बसेका मानिसले राहत पाउनबाट छुटेका छन् । राहत वितरण गर्न पुगेका विभिन्न संस्थाले झुरूप्प भएको शिविरमा मात्र ध्यान पु¥याउँदा कतिपय विस्थापितप्रति अन्याय भएको विस्थापित परिवारको भनाइ छ ।

लाङटाङ गाविसका बासिन्दाको भने जनजीवन सहज बन्दै गएको छ । लाङटाङ व्यवस्थापन एवं पुनर्निर्माण समितिका अध्यक्ष तेम्बा लामाका अनुसार भूकम्प जाँदा ६ हजार २ सय मिको उचाइमा रहेको लाङटाङ हिमालको आधार शिविरमा रहेको पेबछे ताल फुट्दा चलेको भीषण पहिराले लाङटाङभित्रको लाङटाङ गाउँका १३ भन्दा बढी पर्यटकीय होटल, घर र १ सैनिक ब्यारेकसमेत पुरिएपछि ठूलो संख्यामा मानिस बेपत्ता भएका थिए ।

पटकपटक परकम्प आइरहँदा माथिल्लो लाङटाङ, मन्डु र क्यान्जेन क्षेत्रमा बढी त्रास बढेपछि नेपाली सेनाले हेलिकोप्टरमार्फत पूरै लाङटाङवासीलाई उद्धार गरेर धुन्चे पु¥याई सामूहिक रूपमा काठमाडौंको स्वयम्भूस्थित पहेँलो गुम्बामा लगेको थियो । केही महिनाको बसाइँपछि संघसंस्थाको सहयोगमा आफ्नो थातथलोमा फर्की उनीहरू पर्यटन व्यवसायमा अगाडि बढेको बताइएको छ । सुरुको विपद्का दिन लाङटाङ क्षेत्र मानवविहीन भए पनि अहिले भरिभराउ भएका छन् । पर्यटकीय क्षेत्रलाई पूर्ववत् स्थितिमा लगी आफ्नो पेसालाई निरन्तरता दिन होटल खोल्ने कामसमेत सुरु भई पर्यटक लाङटाङ जान थालिसकेका छन् ।

भूकम्पपछिको पहिराले लाङटाङभित्रको लाङटाङ पुरिँदा समग्रमा १ सय ७५ स्थानीयवासी, १० सैनिक, २० मजदुर, ४० पथप्रदर्शक र ८० पर्यटक पुरिएको तत्कालीन अवस्थामा आँकलन भए पनि पहिराले पुरेका ८३ जनाको शव अझै पनि भेट्न सकिएको छैन । पछिल्ला दिनमा फेला परेको मानव कंकाल डिएनए परीक्षणका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीको तथ्यांकअनुसार भूकम्पबाट मर्नेको संख्या जिल्लामा ६ सय ८२ पुगेको छ ।

तत्कालीन अवस्थामा लाङटाङ क्षेत्रबाट स्वदेशी तथा विदेशी गरी ७ सय ५१ जनालाई हेलिकोप्टरबाट उद्धार र ५ सयको हाराहारीमा गाउँ गाउँबाट उद्धार गरी अस्पताल पु¥याइएको थियो । भूकम्प गएको महिनौँ दिनपछि विभिन्न संघसंस्था आएपछि राहत वितरणमा थप सहयोग भएको थियो ।

वैशाख र जेठ महिनामा ग्रामीणवासीलाई ठूलो कष्ट भयो । असारबाट सरकारले लागू गरेको मापदण्डअनुरूप २÷२ बन्डल जस्ता वितरण प्रत्येक परिवारलाई गरिएपछि वर्षायाममा सहजता आएको थियो ।

स्वास्थ्य संस्थाको पुनःसंरचना कहिले ?
सरकारले गोरखा भूकम्प गएको १ वर्ष पूरा हुँदासमेत वाचा गरेअनुसार स्वास्थ्य संस्थाहरूको पुनर्संरचना गर्न सकेन । भूकम्पले विभिन्न जिल्लाका गरी कुल १ हजार ३८ स्वास्थ्य संस्थामा क्षति पु¥याएको छ ।

तिनै स्वास्थ्य संस्थाको पुनर्संरचना निर्माण गर्ने योजनाबमोजिम सरकारले १ वर्षभित्र अस्थायी संरचना बनाइसक्ने लक्ष्य लिएको थियो । तैपनि यो १ वर्षको अवधिमा त्यस्ता संरचना ६ प्रतिशत मात्र निर्माण भएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । मन्त्रालयले अतिप्रभावित १४ जिल्लाका स्वास्थ्य संस्था बनाउन अन्तर्राष्ट्रिय दातृ निकायसँग सम्झौता गरेको छ । मन्त्रालयले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि अहिलेसम्म ४५ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग ४ अर्ब २१ करोड रुपैयाँ सम्झौता भइसकेको जनाएको छ ।

त्यसमध्ये स्वास्थ्य संस्था पुनर्निर्माणमा १ अर्ब ५१ करोड, मर्मतमा २ करोड ८७ लाख, स्वास्थ्य उपकरण तथा सामग्रीका लागि २ अर्ब ९ लाख र स्वास्थ्य सेवा पुनःस्थापनाका लागि ५२ करोड ५७ लाख रुपैयाँ बराबरको काम भइरहेको बताइएको छ । सम्झौताअनुसार अस्थायी संरचना ५ वर्षका लागि सेवा गर्न सकिने खालका हुनुपर्ने छ भने ६ महिनाभित्र पूरा गर्नुपर्ने छ । तर, संविधान जारिपछिको तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण आवश्यक उपकरण ल्याउन नसकिएको भन्दै निर्माणको काम थाल्न थप ६ महिनाको समय माग गरिएको थियो ।

अति प्रभावित १४ जिल्लामा ३ सय ५८ स्वास्थ्य संस्था पूर्णरूपमा क्षति भएका छन् । मन्त्रालयले दिएको तथ्यांकअनुसार अहिलेसम्म २५ प्रिफेव भवन (अस्थायी भवन) मात्र निर्माण भएका छन् । १५ वटा संरचनाको मर्मत कार्य सम्पन्न भई सञ्चालनमा आएका छन् । स्थायी संरचनाका लागि अमेरिकी सरकारको सहयोगमा सिन्धुपाल्चोकको बाह्रबिसेमा बाह्रबिसे प्राथमिक स्वास्थ्य सेवा केन्द्रको शिलान्यास भएको छ ।

अतिप्रभावित १४ जिल्लाका ७ सय ८४ भवनमध्ये ३ सय ५८ पूर्ण क्षति र ३ सय ११ आंशिकरूपमा क्षतिग्रस्त भएका थिए । तीमध्ये १ सय १५ स्वास्थ्य संस्थामा कुनै क्षति पुगेको छैन । आंशिक क्षति पुगेका ९ भवन मर्मत गरी सञ्चालन गर्न सकिने भनी प्रविधिज्ञले स्वास्थ्य मन्त्रालयलाई सुझाव दिएकामा हालसम्म १५ वटा मात्र मर्मत सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भत्किएका भवनमध्ये स्वास्थ्य मन्त्रालयले विभिन्न दातृ निकायबीच ३ सय १२ वटा अस्थायी भवन बनाउन सम्झौता भएको र बाँकी सरकारले बनाउने बताए । उनले भने, ‘अहिलेसम्म २५ वटा प्रिफेब भवन निर्माण भइसकेको र १५ वटा मर्मत भइसकेका छन् । यो महिनाभित्र थप ४० वटा अस्थायी संरचना निर्माण भइसक्नेछ ।’ सम्झौता गरिएका दातृ निकायमध्ये एमडिएम फ्रान्सले सिन्धुपाल्चोकमा १७ प्रिफेव (अस्थायी) भवन बनाई मन्त्रालयलाई हस्तान्तरण गरेको छ भने एम डिएम स्पेनले पनि रामेछापमा एउटा संरचना निर्माण पूरा गरिसकेको छ ।

त्रिदेश होम फाउन्डेसनले बनाइदिने भनिएका काभ्रेका ४ स्वास्थ्य संस्थाको पनि निर्माण सम्पन्न भएको छ । सोसल वेलफेयरले बनाउने भनेको ११ मध्ये ५ वटा सम्पन्न भएको छ । यस अतिरिक्त जाइकाको आर्थिक तथा प्राविधिक सहयोगमा वीर तथा परोपकार प्रसूति अस्पताल, जर्मन बैंक केएफडब्लुको सहयोगमा रामेछाप, गोरखा, दोलखाको जिरी तथा रसुवाका जिल्ला अस्पताल बनाउने सम्झौता भएको छ । कोइकाको सहयोगमा नुवाकोट जिल्ला अस्पताल तथा स्वास्थ्य संस्था र युएसएआइडीको सहयोगमा बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रको स्थायी पुनर्निर्माणको सम्झौता भएको मन्त्रालयले जानकारी दिएको छ ।

भूकम्पमा परी घाइते हुनेका लागि विश्व स्वास्थ्य संगठन, दैवी उद्धार कोष र निक साइमन इन्सटिच्युटबाट आएको १ करोड अर्ब ७० लाखमध्ये १ करोड ६१ लाख रुपैयाँ प्रभावित जिल्लाका सरकारी तथा निजी स्वास्थ्य संस्थामा घाइतेको उपचार, ठूला शल्यक्रिया तथा स्वास्थ्य संस्था मर्मतका लागि वितरण गरिएको मन्त्रालयले जनाएको छ । भूकम्पले सबैभन्दा बढी सिन्धुपाल्चोकका ४७ उप र स्वास्थ्य चौकी पूर्ण ध्वस्त भएका थिए भने १७ मा आंशिक क्षति पुगेको थियो । सिन्धुपाल्चोकको जिल्ला जनस्वास्थ्य कार्यालय पूर्णरूपमा क्षति भएको थियो ।

यसैगरी काठमाडौंका ९, नुवाकोटका ३८, धादिङका ३२, गोरखाका २५, काभ्रेका २१, रसुवाका १४, ललितपुरका ८, दोलखाका २७, मकवानपुरका १८, रामेछापका १९, ओखलढुंगाका १४ र सिन्धुलीका १२ उप र स्वास्थ्यचौकी ध्वस्त भए । यसैगरी ती जिल्लाका ३ सय ३४ वटा उप र स्वास्थ्यचौकी क्षतिग्रस्त भएका छन् । काठमाडौंका वीर, प्रसूतिगृह, पाटन, कान्ति बाल अस्पताल, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, आर्मी अस्पताल र सरुवा रोग अस्पतालका केही भवनमासमेत क्षति पुगेको थियो । भूकम्पबाट ८ हजार ८ सय ९७ जनाको ज्यान गएको थियो भने २२ हजार ३ सय १० जना गम्भीर घाइते भएका थिए । मन्त्रालयका चिकित्सा सेवा महाशाखा प्रमुख डा. दीपेन्द्ररमण सिंहले भूकम्पमा घाइते भएका मध्ये १५ हजारभन्दा बढी ट्रमाका बिरामी भएको, ३ हजार २ सय २१ जनाको मेजर अपरेसन गरिएको र ४ हजारभन्दा बढीको माइनर अपरेसन गरिएको बताए । भूकम्पपछि ३६ देशका १ सय १५ वटा विभिन्न संस्थाबाट १ सय ३७ वटा मेडिकल टिम नेपाल आएका थिए ।

प्रतिक्रिया