एनआरएनएले लाप्राकमा नमुना बस्ती बनाउने

/fi6«klt e08f/L–;Daf]wg e"sDkn] Ifltu|:t uf]/vfsf] nfk|fs uflj;sf] k'gMlgdf{0fsf nflu cfOtaf/ ePsf] lqkIfLo ;Demf}tf sfo{qmddf ;Daf]wg ug'{x'Fb} /fi6«klt ljBfb]jL e08f/L . tl:a/ M eLid/fh cf]emf÷/f;;

गोरखा, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पको पीडालाई बिर्सन शोकलाई शक्तिमा बदल्नुपर्ने बताएकी छन् । भूकम्पले क्षतिग्रस्त गोरखाको लाप्राक गाविसको पुनर्निर्माणका लागि आइतबार भएको त्रिपक्षीय सम्झौता कार्यक्रममा राष्ट्रपति भण्डारीले आफूहरू भूकम्पपीडित जनताको मनोबल उच्च बनाउन र सुख दुःख बाँड्न आएको बताइन् ।

विपत्तिको सामना गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै उनले भनिन्, ‘भूकम्पले घरबारविहीन भएकाको चाँडोभन्दा चाँडो उचित व्यवस्थापन गर्ने सरकारी प्रतिबद्धताअनुसार काम अघि बढोस्, यही मेरो शुभेच्छा छ ।’

विपद्मा धैर्य गरी सामना गर्ने स्थानीयको उच्च मनोबलको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले विपद्को घडीमा सहयोग गर्ने सबै स्वदेशी एवं विदेशी संघसंस्थाको सहयोगको प्रशंसासमेत गरिन् । दुःखलाई बिर्सेर उत्साहका साथ सबै मिलेर सुखद् भविष्यका लागि लाग्नुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले पुनर्निर्माण र नवनिर्माण अभियानमा सबै मिलेर अघि बढे मात्र सफलता प्राप्त हुनेमा जोड दिइन् ।

०७२ सालमा ‘गोरखा भूकम्प’ गएको १ वर्षपछि आइतबार गोरखाको लाप्राक गाविसको गुप्सीपाखामा आयोजित कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच त्रिपक्षीय सम्झौता भएको हो ।

कार्यक्रममा एमाओवादीका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले क्षतिग्रस्त लाप्राकको बस्तीमा बन्ने नमुना गाउँ जस्तै मुलुकभर निर्माण गर्नुपर्ने बताए । उपाध्यक्ष श्रेष्ठले पूर्वाधार निर्माणका योजनामा सचेत भए भूकम्प रोक्न नसके पनि भूकम्पले गर्ने क्षतिलाई कम गर्न सकिने बताए । गोरखामा केन्द्रबिन्दु भएर २०७२ साल १२ वैशाखमा गएको ७ दशमलव ६ रिक्टर स्केलको भूकम्पले लाप्राक गाविसका सबै घर क्षतिग्रस्त भएका थिए । लाप्राक गाविसको सो बस्ती भूकम्पले चिरा परेर जोखिममा परेपछि सरकारले त्यस बस्तीलाई सोही गाविसको गुप्सीपाखामा रहेको सामुदायिक र राष्ट्रिय वनको १८ दशमलव ३२ हेक्टर जमिनमा सार्ने निर्णय गरेको थियो । सरकारको निर्णयसँगै भूकम्पपीडित लाप्राकवासी गुप्सीपाखामा अस्थायी टहरा निर्माण गरी बसेका छन् ।

कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले क्षतिग्रस्त लाप्राकवासीका लागि एनआरएनएको सहयोगमा गुप्सीपाखामा नमुना एकीकृत बस्ती निर्माण हुने अवगत गराउँदै निर्माणमा सरकारले बाटो, खानेपानी, बिजुलीलगायत पूर्वाधार निर्माण गर्ने बताए ।

एनआरएनएले सरकारी तथ्यांकको सूचीअनुसार गुप्सीपाखामा २ वर्षभित्रमा ५ सय ७८ घर निर्माण गर्ने सम्झौतामा आइतबार हस्ताक्षर भएको छ । सो सम्झौतापछि एनआरएनएले प्रतिघर २ लाख ५० हजार लागतमा नमुना एकीकृत बस्ती निर्माण गर्नेछ । एनआरएनएका अध्यक्ष डा. शेष घलेले आफूले नेपालको पुनर्निर्माण र नवनिर्माणमा सच्चा साझेदार बन्ने घोषणा गर्दै सहयोगका हात अघि बढाएको बताए । अध्यक्ष डा. घलेले पुनर्निर्माणमा सच्चा साझेदार बन्ने एनआरएनएको उत्कट चाहनाअनुसारको काम आइतबारदेखि सुरु भएको बताउँदै यसमा सबैको सहयोगको अपेक्षा गरे । कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, गोरखाका प्रमुख श्यामकिशोर सिंह, लाप्राक गाविस सचिव ध्रुव पराजुलीलगायतले लाप्राकको पुनर्निर्माणमा नमुना बस्ती विकास गर्न सबैको सहयोग आवश्यक हुनेमा जोड दिए ।

गाविसले बस्ती पुनर्निर्माणका लागि विस्तृत सर्भेक्षण गरी घर निर्माणका लागि सूची सार्वजनिक गरिसकेको छ । २ वर्षभित्र घर निर्माण हुने सम्झौतासँगै लामो समयसम्म सरकारको आशामा मात्र रहेका लाप्राकवासीको मुहारमा खुसी छाएको छ ।

प्रतिक्रिया