निजीले पनि तेल ल्याउन पाउने

काठमाडौं, ७ वैशाख । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निजी कम्पनीले पनि तेल ल्याउन पाउने निर्णय गरेको छ । सरकारले पहिल्यै अनुमति लिएर एलसी खोलेका निजी कम्पनीहरूलाई फेरि इन्धन ल्याउन अनुमति दिने भएको छ । मन्त्रीपरिषद्को आजको बैठकले पहिल्यै एलसी खोलेका कम्पनीहरूलाई इन्धन ल्याउन दिने निर्णय गरेको हो ।

नेपालमा नाकाबन्दीका कारण इन्धन अभाव हुँदा अस्थायी इजाजत पाएर इन्धन ल्याइरहे पनि ४ चैतको मन्त्रिपरिषद् बैठकले इजाजत खारेज गर्ने निर्णय गरेपछि समस्यामा परेकाहरूका लागि अनुमति दिइएको आपूर्ति मन्त्रालयले जनाएको छ । ४ कात्तिकको राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न देशबाट इन्धन ल्याउनका लागि पैसा बुझाइसकेका र इन्धन आउने क्रममा रहेका कम्पनीहरू सरकारले खारेजीको निर्णय गरेपछि समस्यामा परेका थिए ।

उनीहरूले अहिलेसम्म इन्धन ल्याइरहेको विवरण आपूर्ति मन्त्रालयमा बुझाउनुपर्ने मन्त्रालयले जनाएको छ । अल्पकालीन इन्धन आपूर्तिको लागि ३५ वटा कम्पनीले अनुमति लिए पनि थोरैले मात्र एलसी खोलेर तेल ल्याइरहेको आपूर्ति विभागले जनाएको छ ।

सरकारले खोरजीको निर्णय गरेपछि तेल ल्याइरहेका कतिपय कम्पनीले ल्याएको तेल नेपाल भारत सीमानाकामा रोकिएको छ । मन्त्रालयले खारेजीको निर्णय गरेकोले ल्याउने अनुमति नपाउँदा रोकिएको भन्दै उनीहरू मन्त्रालय र विभाग धाइरहेका थिए ।

आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका अनुसार आर्यन पेट्रोलियमले ४६२२४.५७ केएल, अटोमेक्सले ५० केएल, फुजिमा आयल ले २९३.२४ मेट्रिकटन इन्धन ल्याउन एलसी वा टिटी गरेर पैसा पठाइसकेका छन् । बाला, म्याक्सलगायतका कम्पनीहरूले पनि इन्धन ल्याइरहेको आपूर्ति व्यवस्था विभागको भनाइ छ ।

देशमा नाकाबन्दीका कारण इन्धन अभाव भएपछि आपूर्ति इन्धन ल्याउन विभिन्न निजी कम्पनीले अनुमति लिए पनि आयल निगमले विराट पेट्रोलियमलाई २० करोडको एलसी खोलिदिएर इन्धन ल्याउन अनुमति दिएपछि यो निर्णय विवादित भएको थियो । पछि विराटले ल्याएको पेट्रोल कहिले जर्किनमा बेच्ने र कहिले चर्को मूल्यमा बेच्न थालेपछि सरकारले अनुमति लिएका सबै कम्पनीको इजाजत नै खारेज गरको थियो ।

प्रतिक्रिया