म पैदल हिड्ने हो जानदिनुहोस्

marasaini copyगत बिहिबार म भाटभटेनीबाट काम बिशेषले बालुवाटार, राष्ट्रपति भवन हुँदै सशस्त्र प्रहरी बलको तालिम केन्द्रसम्म पुग्नु थियो । हामी मोटरसाईकलमा थियौँ मेरो साथमा मेरी जिवनसाथी र साढे ३ बर्षको छोरा पनि सँगै थिए । गर्मीको सिजन शुरु भइसकेको थियो । गर्मीले छोरो हामी दुईबिचको सिटको चेपुवामा मोटरसाइकलमै निदाइसकेको थियो । जब हामी बालुवाटार पुग्यौँ, ट्राफिक प्रहरीले हामीलाई अगाडी बढ्न दिएन । मैले सोचे कुनै कारण होला तर अर्को तिरबाट पनि गाडी चल्न दिइएको थिएन । कुनै आन्दोलन पनि थिएन ।

बाटाको छेवैबाट बिदेशी पर्यटक पैदल हिडिरहेको थियो । उसलाई पनि अगाडि बढ्न दिइएन मलाई कौतुहलता लागेर छैवैमा रहेको ट्राफिक प्रहरीलाई सोधेँ, ‘तपाईले के को लागि गाडी राक्नुभएको ?’ उसले जवाफ दियो, ‘प्रधानमन्त्रीको सबारी हुँदैछ त्यसैले ।’ म रनभुल्लमा परेँ । ‘प्रधानमन्त्रीलाई त एकापट्टिको बाटो भए पुग्छ दुवैतिर किन रोकेको ?’, मैले प्रश्न गरेँ । ट्राफिक प्रहरीसँग पनि त्यसको कुनै जवाफ थिएन र उसले हामीलाई रोक्ने आदेश छ भनी पन्छियो । पैदल हिडिरहेको पर्यटकले ‘म बाटाको फुटपाथबाट हिड्ने यात्रु हो मलाई जान दिनुहोस्’ भनी बिन्ती गरिरहेको थियो तर त्यसलाई पनि त्यत्तिकै उभिन लगाइयो । अर्कोले संकेतको भाषामा अनुमति मागिरहेको थियो । तर, त्यसलाई पनि अगाडि बढ्न दिइएन ।

करिब १५ मिनेट त्यहाँ कुरेपछि मात्र बालुवाटार प्रधानमन्त्री निवासबाट सुरक्षा भ्यान र साइरनसहित प्रधानमन्त्रीको सवारी राष्ट्रपति भवनतर्फ गयो । सवारी हिडेको ५ मिनेटपछि मात्र अरू गाडीहरूलाई पनि जान दिइयो । त्यो पैदल हिड्ने पर्यटक पनि छक्क परेर उभिइरहेको थियो । जाने अनुमति पाएपछि ऊ पनि फटाफट अगाडि बढ्यो । हामी जनपथ प्रहरी तालिम केन्द्र आइपुग्यौैँ । चक्रपथबाट महाराजगञ्ज हुँदै त्यहाँबाट लाजिम्पाट जाने गाडीहरूलाई रोकेर फेरि बालुवाटारतिर पठाइएको थियो । यात्रु र सवारीहरू अस्तव्यस्त देखिन्थे । महाराजगञ्जबाट लाजिम्पाट जाने त्यति ठूलो बाटोका दुवैतिरका सवारीहरू चल्न दिइएको थिएन । अर्कोतिर कहाँदेखि रोकिएको थियो थाहा भएन तर नारायणगोपाल चोकबाट लाजिम्पाटतर्फ हिँडेका सबै सवारीलाई बालुवाटारतिर पठाइएको थियो ।

पहिला बालुवाटारतिर अगाडि बढ्ने दुवै तर्फका सवारीलाई रोकियो लगत्तै बालुवाटारबाट प्रहरी प्रशिक्षण केन्द्र महाराजगञ्ज आइनपुग्दै त्यहाँबाट पश्चिमतिर जाने बाटो पनि थुनियो । मैले त्यहाँ सुरक्षामा खटिएकी एक महिला प्रहरीलाई ‘हामीलाई जानदिनुहोस्’ भनी अनुमति मागेँ तर उनले हामी कसैलाई पनि त्यता जान अनुमति नभएको बताइन् । उक्त बाटोको दुवैतर्फका पैदल यात्रुसमेत रोकेर हिड्न दिइएको थिएन । मैले ति प्रहरीलाई मलाई राष्ट्रपति भवनको पछाडीपट्टि रहेको सशस्त्र प्रहरी बलको तालिम केन्द्र नजिक जानुपर्ने भएकोले सवारी नचलुञ्जेल त्यही बाटोमा रोकिने अनुमति मागँे तर ति प्रहरीले हामीलाई त्यहाँ रोक्न अनुमति पनि नभएको बताइन् ।

मलाई अत्यन्त कौतुहलता जागेर आयो । मोटरसाइकललाई टिचिङ हस्पिटल महाराजगञ्जको अगाडि राखि तमासा हेरिरहेँ । लाजिम्पाट अगाडिको बाटो सबै खाली थियो । केही समयमा सुरक्षाको गाडि महाराजगञ्ज हुँदै लाजिम्पाटतर्फ लाग्योे तर उक्त गाडीलाई जान दिइएन । गाडीमा रहेको ड्राइभरसँग कुरा गरेपछि गाडी बालुवाटारको बाटो ततायो । त्यसको लगत्तै प्रहरी हस्पिटलको एम्बुलेन्स आयो त्यलाई पनि जान दिइएन र गाडी त्यहाँबाट फर्काइयो ।

केही क्षणमा महाराजगञ्जको टिचिङ हस्पीटलबाट बिरामी बोकेर एम्बुलेन्स त्यतातिर हुईकियो तर त्यसलाई पनि उक्त बाटो जान नदिई अन्तै मोडियो । त्यहाँ उपस्थित सबैले त्यो दृष्य हेरिरहेका थिए । असैह्य भएपछि सबैले मुख खोलेरै प्रधानमन्त्री ओलीको आलोचना गर्न थालेँ । त्यतिखेरसम्म हामी महाराजगञ्जको मुल सडकको बाटो छेवैमा सवारीको प्रतिक्षामा बसेको आधा घन्टा भइसकेको थियो । मलगायत सबै जनालाई सास्ती परेको त्यहाँ प्रष्टै देखिन्थ्यो । तर, सबैजना मुकदर्शक भएर बसिरहेका थिए । १५ मिनेट अरू पर्खिएपछि बल्ल राष्ट्रपति भवनबाट कारगेट सहितको गाडि बाहिर निस्कियो । त्यहाँबाट राष्ट्रपतिको सवारी लाजिम्पाटतर्फ भयो । हामी ४५ मिनेट जति सवारीमा अल्झिसकेका थियौँ त्यसैले त्यसका पछाडी लाग्न फुर्सद भएन र मनमा अनेकन तरंगहरू खेलिरहेका थिए । त्यतिकैमा जानुपर्ने गन्तब्यमा हामी निर्धारित समयभन्दा १ घन्टा ढिलो पुग्यौँ । कारण प्रधान मन्त्री र राष्ट्रपतिको सवारी थियो । त्योभन्दा पनि असोभनीय त आँखै अगाडी एम्बुलेन्स, सुरक्षा गाडी र बिरामी बोकेको सवारीलाई समेत बाटो नदिएर गरिएको तमासा लाजमर्दो थियो । त्यसको ५ मिनेटपछि मात्रै सर्वसाधारणलाई बाटो खुला गरियो ।

आफूले भोटहाली चुनेर पठाएको जनप्रतिनिधिहरू ठूलो पदमा पुगेपछि आफूलाई नै सास्ती पुग्ने गरी सुरक्षा घेरामा बसेर पहिला पहिलाका राजा–महाराजाहरूको झल्को पुग्ने गरी दुःख देलान् भन्ने कसैले सोचेको पनि थिएन होला । त्यसैमा पनि कम्युनिस्ट विचारधारा बोकेर सर्बहाराको प्रतिनिधित्व गर्दै रात दिन जनता जनाता रट्दै नथाक्ने सर्बहाराको नेताले दिएको दुःख कत्ति पनि शोभनीय भएन ।

यसअघिका प्रधानमन्त्री र राष्ट्रपतिले सवारीको नाममा आम मानिसलाई दुःख पुग्छकि भन्ने कुरामा सचेत देखिन्थे तर अहिलेका राष्ट्र प्रमुख र प्रमुख कार्यकारीको रवैया अत्यन्तै आलोचक बन्न पुगेका छन् । उक्त पदमा आसिन जो कोहिले पनि आफूलाई नसच्चाउने हो भने आममानिस र उनीहरूको दुरी बढ्दै जाँदा विश्वास पनि कम हुने देखिन्छ । साना–तिना कार्यक्रममा पनि चुटकिला हालेर ठट्टा गर्दै हिड्ने प्रधानमन्त्रीको असोभनीय व्यबहारले उनका झर्रा ठट्टामाथि ठट्टा गरेको आभास हुन्छ । उखान टुक्काले पनि देश चल्छ भनी हिड्नेको लागि थप बल पुग्ने देखिन्छ ।

पुँजीवादको नेतृत्व गर्ने बेलायतका युवराज ह्यारीको लागि नेपालका काठ, दाउरा, डोको, नाम्लो, खुर्पेटो लगायत सर्बसाधारणको ग्रामीण जिवनशैली प्रिय लागेर तिनैसँग दुईसाता रमाएर स्वदेश फर्केको १५ दिन नबित्दै नेपाली जनताको भोट पाएर प्रधानमन्त्री बनेका यी महापुरुषको रवैया किमार्थ राम्रो मान्न सकिँदैन । यसरी दिन दिनै आफूलाई जनाताको सेवकभन्दा शासकको रूपमा उभ्याउँदै जाने हो भने लोकतन्त्रप्रतिको जनाताको मोह पनि घट्दै जाने निश्चित देखिन्छ । राजनीतिक दलका प्रतिनिधिले जनताको चासोलाई राम्रोसँग संबोधन गर्न नसकिरहेको अबस्थामा यस्ता क्रियाकलाप थप पीडादायी बन्ने निश्चित छ ।

यी र यस्तै कार्यले गर्दा सर्वहारा नेताको हैसियतले जनतालाई पुगेको सास्तीप्रति क्षमा माग्नु पर्दछ र आगामी दिनमा यी कार्यहरू नदोहोरिने गरी प्रतिबद्धता पनि जनाउनु जरुरी छ । अन्यथा हामी लोकतन्त्रमा किन प्रवेश ग¥यौँ ? हजारौँ सहिदहरूको बलिदान केका लागि थियो ? प्रश्न अनुत्तरित नै हुनेछ । यस्ता क्रियाकलापले राज्यको उपस्थिति कि त प्रधानमन्त्रीको भाषण र चुटकिला तथा सवारी गुडाउँदा मात्र महसुस गर्न सकिन्छ । राज्य शक्तिलाई दुरूपयोग गरेर पदको क्षणीक मोहमा गरिने यस्ता क्रियाकलापले पदीय गरीमा गुम्ने यथार्थ हुँदाहुँदै कालान्तरमा राजनीतिक पार्टी प्रतिको बिकल्पमा जनता उत्रिन बाध्य हुनेछन् जुन हामी सबैको लागि सुखद् भने अपश्य हुँदैन ।

भर्खरै मात्र संविधान जारी गरेर नेपाली जनाताले त्यसको स्वामित्व पूर्णरूपमा ग्रहण गरिनसकेको अवस्थामा हुने यस्ता कार्यले संविधान कार्यान्वनको क्रममा सफ्टेरोभन्दा अप्टेरो वातावरण बन्न पुग्दछ । प्रधानमन्त्रीज्यूले आलिसान गाडीमा सुरक्षा घेराभित्र घेरिएर हिड्नेभन्दा जनताको पिरमर्काको नजिक हुनु हितकर हुन्छ । विगतका शासकले जनाताको भावना बुझ्न नसकेर दुःख पाएको तितो यथार्थ हाम्रासामु जिवितै छ । तिनकै झल्को आउने गरी हुने गरेका यस्ता घटनाहरू छिटै नै अन्त्य हुनुपर्दछ । सबैलाई चेतना होस् ।

प्रतिक्रिया