हवाई आक्रमणमा २२ जिदाहीको मृत्यु

बेरुत । सिरियाको उत्तरपूर्वी भागमा आइतबार गरिएको एक हवाई आक्रमणमा कम्तीमा २२ जिहादीको मृत्यु भएको एक मानवअधिकारवादी समूहले जानकारी दिएको छ । सो आक्रमणमा अल कायदासँग आबद्ध अल नुस्रा फ्रन्टका प्रवक्ता र उनको छोरा तथा अन्य २० जिहादी मारिएका हुन् । अलकायदा आतंककारी समूहसँग आबद्ध अल नुस्रा फ्रन्टको बलियो प्रभाव रहेको कफार जेलेस् इलाकामा सो हवाई आक्रमण भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाइएको छ ।

प्रवक्ता अबु फिरस अल सुरी, उनका छोरा र अन्य कम्तीमा २० जिहादीको मृत्यु भएको सुरक्षा स्रोतले जनाएको छ । इद्लिब प्रान्तमा भएको यस हवाई आक्रमणमा उज्बेकिस्तानबाट आएका अल नुस्रा फ्रन्ट र जुन्द अल अक्साका जिहादीहरुको मृत्यु भएको अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले बताए । आक्रमण गरिएका युद्धकविमान सिरियाली सरकारसँग आवद्ध हो या रसियासँग आवद्ध सो भने प्रष्ट भएको छैन् ।

सिरियामा सरकारी बल र विद्रोहीबीच गत फेब्रुअरी २७ बाट युद्धविराम सुरु भएको थियो । यस युद्धविरामपछि अल नुस्रा फ्रन्ट र इस्लामिक स्टेटले भने कुनै प्रतिक्रिया जनाएका थिएनन् । (एजेन्सी)

प्रतिक्रिया