अध्यादेशको हल्लापछि नलागौँ : प्रधानमन्त्री

KP_oli copyकाठमाडौं, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई वाइपास गरी अध्यादेश ल्याउने हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । एमाले नेता रामनाथ ढकालको प्रथम स्मृति दिवसमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीभित्र देशभक्ति छ, राष्ट्रिय दृष्टिकोण, लोकतान्त्रिक मान्यता र देशलाई समृद्ध बनाउने लक्ष छ, त्यही अनुसार मुलुक चल्छ ।’

मुलुकका समस्या स्वाभिमानपूर्वक समाधान गरिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अध्यादेशमार्फत मुलुक चलाउन खोजियो, संसद् सिध्याउन खोजियो भन्ने भनी निरर्थक हल्ला चलाइएको छ ।’ प्रधानमन्त्री ओलीले मुलुकमा भएका समस्यालाई सम्बोधन गरेर अघि बढ्ने तर खडा गरिएका नक्कली समस्या र व्यवधानलाई पराजित गरिने बताए । ‘समस्या छन्, समस्याहरूको सम्बोधन पनि गरिन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘तर, खडा गरिएका नक्कली समस्या र व्यवधानलाई पराजित गरिन्छ ।’

प्रधानमन्त्री ओलीले मुलुकलाई असफल बनाउन भएका धेरै प्रयासहरू असफल पार्दै आएको पनि बताए । उनले समस्या खडा गर्न नै अनेक हल्ला चलाइने गरेको पनि जनाए । ‘मुलुकलाई असफल बनाउन, राष्ट्रिय एकता र समृद्ध मुलुक बनाउने अभियानलाई असफल बनाउन धेरै प्रयास भए’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘देशविरुद्धका त्यस्ता प्रयास हामीले असफल बनाउँदै आएका छौँ देशभक्ती, स्पष्ट राष्ट्रिय दृष्टिकोण, लोकतान्त्रिक मान्यता र समृद्ध देश बनाउने संकल्पमा कसैले पनि खडा गरेका अवरोधलाई परास्त गरिन्छ ।’

देशभक्ति र राष्ट्रिय स्वार्थको विपक्षमा हुनेहरू आपैmँ पराजित हुने प्रधानमन्त्रीको भनाइ थियो । ‘राष्ट्रिय आकांक्षामा अवरोध पु¥याउनेहरू आफैँ पराजित हुनेछन्, राष्ट्रिय हित र समृद्ध नेपाल बनाउने अभियान पराजित हुनेछैन ।’

समारोहलाई सम्बोधन गर्दै एमाले महासचिव ईश्वर पोखरेलले नेपालले छिमेकी देशहरूसँगको असन्तुलित सम्बन्धलाई सन्तुलित बनाउन एमाले नेतृत्वको सरकार सफल रहेको वताए । महासचिव पोखरेलले अन्तर्राष्ट्रिय कानुनअनुसार नेपाल भूपरिवेष्ठित भए पनि भारतवेष्ठित व्यवहार हुँदै आएकाले अहिले त्यो बदलिएको बताए । ‘हाम्रो देश भूपरिवेष्ठित हो भन्ने कुरा भाषणमा मात्रै सीमित थियो, हामीले छिमेकी देशहरूसँगको असन्तुलित सम्बन्धलाई सन्तुलित बनायौँ’ पोखरेलले भने, ‘आफ्नो आत्मनिर्णयको अधिकार प्रयोग गरी देशलाई समृद्धिको बाटोमा अघि बढाउने मान्यतामा एमाले उभिएको सावित गरेका छौँ ।’

गतवर्ष निधन भएका पोलिटब्युरो सदस्य ढकालको प्रथम स्मृतिमा एमाले लुम्बिनी अञ्चल कमिटीले पार्टी मुख्यालय धुम्बाराहीमा श्रद्धाञ्जलीसभा आयोजना गरेको हो । कार्यक्रममा दिवंगत नेता ढकालका परिवारजनको पनि उपस्थिति थियो ।

प्रतिक्रिया