काठमाडौं, १९ चैत्र । ‘अर्थदंश’ पैसाको टोकाइले मान्छेका पारिवारिक जीवनमा पार्ने असरलाई मुख्य कथावस्तु बनाइएको उपन्यास राजधानीमा लोकार्पण गरिएको छ । पूर्वप्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले उपन्यास लोकार्पण गर्दै उपन्यासको कथावस्तुको प्रशंसा गरेका छन् ।
आफ्नो छोटो मन्तव्यमा नेपालले एक शब्द पनि राजनीतिक कुरा गरेनन् । उनले उपन्यासमा उठाइएका कथा, पात्र र लेखकको बारेमा खर्च गरे । वैदेशिक रोजगारका कारण नेपाली युवाहरूको जीवन समृद्धभन्दा बढी लथालिंग भएको नेता नेपालले बताए । सुनौला सपना लिएर अरब जानेहरू सबै सपना पूरा गरेर फर्केका छैनन् । अनेक हन्डर खाएर फर्केका छन् वा लास बनेर । स्वदेशभित्र रोजगारीको राम्रो व्यवस्था गर्न सके अरबमा बग्ने नेपाली पसिनाले नेपाली भूमि सम्मृद्ध हुने नेपालको तर्क थियो ।
वैदेशिक रोजगारीमा जानेहरूको पारिवारिक समस्यालाई समेटिएको उपन्यास ‘अर्थदंश’ को लेखिका राजनीति कर्मी कल्पना रिजाल पाण्डे हुन । पति राजदूतको जिम्मेवारीमा साउदी अरबमा सँगै बस्दा देखेका समस्यालाई कथाबस्तु बनाएर उपन्यास लेखेको उनले बताइन् ।
एमाले नेता एवं साहित्यकार प्रदीप ज्ञवाली र कथाकार माया ठकुरीले उपन्यासमा टिप्पणी गरेका थिए । टिप्पणीको क्रममा ज्ञवालीले उपन्यासमा महिला पात्रलाई दोषी ठहर गरेको प्रति आपत्ती जनाए । महिला लेखकले एउटा माहिलाप्रति दोष देखाउन खोज्नु ठीक नभएको उनको तर्क थियो ।
कार्यक्रममा उपकुलपति गंगाप्रसाद उप्रेती साउदीका तत्कालीन राजदुत उदयराज पाण्डेलगायतले शुभकामना मन्तव्य दिएका थिए । मकालु प्रकाशन गृहद्वारा प्रकाशित उक्तकृति रिजालको पहिलो उपन्यास हो ।
प्रतिक्रिया