‘आमाभन्दा सम्पत्ति ठूलो रहेछ’

geetaकाठमाडौं, १५ चैत । कतिपय वृद्धवृद्धा सन्तान नहुँदा बेवारिसेजस्तो जीवन बाँचिरहेका हुन्छन् । त्यस्तालाई लाग्दो हो सन्तान भए के के न हुँदो हो । तर, गीता थापा सन्तान हुँदाको पीडा बेहोर्दै छिन् । ‘१२ छोरा १३ नाती बुढीको धोक्रो काँधैमाथि’ भन्ने उखान चरितार्थ भएको छ उनको जीवनमा । आधा दर्जन सन्तानको प्रसव पीडा धानेकी यी आमा जीवनको उत्तरार्धमा पनि एक्लो जीवन गुजार्न वाध्य छिन् ।

हाल उनी जीवन धान्न काठमाडौं इन्द्रचोक गेटको मन्दिरको छेउमा प्लास्टिकमा काइँयो, टीकालगायतका सामग्री राखेर हरेक यात्रीका पाइला हेर्दै दिन कटाइरहेकी छन् । सो बाटो भएर हिँडने यात्रीका पाइला आफू भएतिर मोडिँदा उनी खुसी हुन्छिन् । उनका सामान किन्न आएका ग्राहक आफ्नै सन्तानजस्तो लाग्ने गरेको उनी बताउँछिन् । काभ्रे जिल्लाको पनौती–४ स्थायी ठेगाना बताउने गीता उमेर सोध्दा ३ बीस १० वर्ष भएको बताउँछिन् । पनौतीमा पहिलेको घर भए पनि अहिले त्यहाँ आफ्नु भन्नु केही नरहेको उनले बताइन् । उनले यसरी इन्द्रचोकको फुटपाथमा आँखा ओछ्याएर दिन कटाउने गरेको पनि १६ वर्ष भइसकेको छ । तर, नितान्त एक्लो भएको भने ७ वर्ष । साथरहेका एक मात्र पतिको पनि निधन भएपछि उनी एक्ली भएकी हुन् ।

कसैले छोराछोरीको कुरा सोध्यो भने उनी भक्कानिन्छिन् । बाबुको मृत्युको खबर सुनेर पनि काठमाडौंमै रहेको जेठो छोरो नआएको पीडाले उनलाई ७ वर्षपछि पनि अहिले नै होजस्तो भएर सताउने गरेको उनी बताउँछिन् । २ छोरा र ४ छोरीकी आमाले जेठो छोरो काठमाडौं मै छ भन्ने सुनेको तर, १६ वर्ष भो अनुहार नदेखेको सुनाउँछिन् । कान्छो छोरा भने कहिलेकाँही आए पनि टुलुटुलु हेरेर फर्कने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘कान्छोले भक्तपुरमा आफ्नै घर बनाएको छ रे ! तर, आमा हिँड घर जाउँ भन्दैन ।’ अर्काको घर गएका छोरीहरू पनि कहिलेकाहीँ आएर हेरेर फर्कने गरेका छन् ।

पनौतीमा रहेको घडेरी बुबाले बेचेर खाएको भन्दै छोराछोरी टाढिएको उनको बुझाइ छ । ‘त्यही बेलादेखि जेठो अर्जुन बोल्न छोडेको हो । कान्छो नहकुल पनि दाजुको लहैलहैमा लाग्यो’ उनी भन्छिन्, ‘सम्पत्ती त रहेछ नी सबथोक ।’ मरिलानु के छ र ? उनी भन्छिन् ‘जन्मदा मान्छे नांगै जन्मन्छ र मर्दा खेरी पनि नांगै मर्नुपर्छ ।’ सन्तानले नहेरे पनि सन्तानको उन्नतीको कामना गर्न छाडेकी छैनन् । ‘उनीहरूलाई राम्रो होस् । दुःख कष्ट नपाउन्’ उनी भन्छिन्, ‘म त अब कति पो बाँच्छु र ?’

महिनामा बढीमा ८ हजारजति आम्दानी हुने गरेको उनी बताउँछिन् । कमाएकोे जति सबै खर्च हुने गरेको बताउँदै उनी भन्छिन्, ‘एकपैसा जोगाउन सकेको छैन ।’ उनी सबेरै उठेर खाना खाएर करिब १० बजेसम्ममा त्यहाँ आइपुग्ने गर्छिन् । बुढेसकालमा अरू काम गर्न नसक्ने हुँदा यो कामबाहेक अरू कुनै विकल्प नरहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘जस्तोसुकै भए पनि आजसम्म कसैसँग हात जोडेर भिख माग्नु परेको छैन । त्यसमै खुसी छु ।’

यही सानो पसल पनि निर्धक्क गर्न नपाएको उनको गुनासो छ । नगरपालिकाको जगजगी छ । कतिबेला सामान फालिदिने हो वा लगिदिने हो ध्याउन्न त्यसैमा हुन्छ । कतिपटक नगरपालिकाले सामान खोसेर लग्दा भोकभोकै बस्नुपरेको पीडा उनले भुलेकी छैनन् । ‘अब उमेर ओरालो लाग्यो बिरामी भइरहिन्छ । त्यस्तो बेला पानी दिने पनि होही हुँदैनन्’ उनी भन्छिन्, ‘त्यस्तो बेला चाहीँ सन्तानको याद आउने रै’छ ।’ बाँच्दा नभएका सन्तान मरेपछि किन चाहियो र ? भन्ने प्रश्न गर्दै उनी भन्छिन्, ‘मरेपछि त के भो र ? जसलाई गन्हाउँछ उसले फाल्ला नी !’

सामान किन्न आउने क्रममा सबैले ‘आमा’ भनेर सम्बोधन गर्दा आफ्नै छोराछोरीले बोलाएकोजस्तो लाग्ने गरेको उनको अनुभव छ । कसै कसैले त माया गरेर सामान किनिदिने मात्र होइन खानेकुरा पनि दिने गरेको उनी बताउँछिन् । ‘यसरी खाने कुरा दिँदा भने पत्तै नपाई आँखाबाट बलेसी झर्दा रै’छन्’ उनी भन्छिन् ‘कतिपटक यसरी रोएछु ।’ तै पनि थलापरेको थाहा पाएपछि जेठो अर्जुन नआए पनि कान्छो छोरो लिन आउने आशमा छिन् गीता । (प्रशिक्षार्थी पत्रकार)

प्रतिक्रिया