सुनसरी, १३ चैत । पूर्वाञ्चलको धरान–२४ स्थित साविकको विष्णुपादुका–१ मा पर्ने पर्यटकीय स्थलको प्रबल सम्भावना बोकेको एउटा डाँडाको नामकरणमा एकरुपता हुन नसक्दा यसको थप पर्यटकीयस्थलको रुपमा विकास गर्न समस्या हुने भएको छ । वर्षौंपछि फेरिने नामले भावी दिनमा पर्यटकीयस्थलको प्रबल सम्भावना बोके पनि यसको थप विकास गर्न समस्या हुने देखिएको हो ।
धरानको ९९ प्रतिशत मनोरम दृश्य एउटै स्थानबाट देखिने सो डाँडाको नाम सुरुमा स्थानीयवासीको भनाइअनुसार शिवहाङ भनेर चिनिन्थ्यो । शिवहाङ भन्ने नाम बान्तवा भाषाबाट आएको होे । सो क्षेत्रमा बान्तवाहरूको बाहुल्यता रहेको छ । तर पछि आएर फेरि चिन्डे डाँडा पनि भनिने गरेको स्थानीयवासीको कथन छ ।
कसैले सो डाँडामा चिनो छोडेर गएकाले चिनो डाँडाले परिचित रहेको थियो । अहिले भने पूर्वमा धेरैजसो चिन्डेडाँडा भनेर परिचित भएको छ । खुइलिएको अर्थात् उजाड डाँडाको रुपमा चिन्डेडाँडा भनेर नामकरण भएकोसमेत मानिन्छ । सो डाँडा वास्तवमै हेर्दा अहिले पनि खुइलिएको उजाड नै छ । जहाँ हरियो बोटबिरुवा केही छैन ।
खाली कंक्रिट (पाँगो) माटो मात्रै देखिन्छ । अहिले पूर्वमा दिनानुदिन आकर्षण बन्नुको मुख्य कारण नै खाली डाँडा हुनु र धरानको मनोरम दृश्य देख्न सक्नु नै हो । त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु दिनानुदिन पुग्छन् । किरात राई भाषामा भने चिन्डे भनेको ‘चिन्डो’ भनेर बुझिन्छ । जसले राईहरुको संस्कृति बोकेको छ ।
५ वर्षअघिदेखि मात्रै चिन्डेडाँडा भनेर परिचित डाँडालाई नाम फेरि दिएका छन् । त्यहाँका युवाहरुले संरक्षण समिति नै बनाएका छन् । स्थानीयवासीहरु भने शिवहाङ, चिन्डेडाँडा भन्न आजभोलि रुचाउँदैनन् । धरान बजारदेखि ४ किलोमिटर उत्तर–पश्चिममा पर्ने सो डाँडा जसलाई हामी चिन्डे डाँडा भनेर चिन्छौँ । तर, त्यहाँका स्थानीयवासीहरु भने सो डाँडालाई रमिते डाँडा भन्न रुचाउँछन् ।
डाँडाबाट धरानको रमणीय दृश्य हेरेर रमाउन सकिने भएको हुँदा ५ वर्षअघि नै रमिते डाँडा भनिन थालिएको हो । दीपेन्द्र राईको अध्यक्षतामा १३ सदस्यीय रमिते डाँडा संरक्षण समिति नै गठन गरिएको थियो । त्यही समितिमार्फत् डाँडाको विकास र पर्यटन प्रवद्र्धनको निम्ति निरन्तर खटिरहेको अध्यक्ष दीपेन्द्र राईले बताए । पर्यटकीयस्थलको रुपमा विकास गर्न त्यहाँका युवाहरु कम्मर कसेर लागिपरेको राई बताउँछन् । गतसाल मात्रै सो डाँडाको नाम चिन्डे होइन, वाबु हुनुपर्छ भन्ने अर्को नामलाई प्रचार गर्न थालिएको छ ।
किरात राईहरुको जातीय संस्था किरात राई योयोक्खाको केन्द्रीय उपाध्यक्ष हालका नवनिर्वाचित अध्यक्ष तिलक राईको नेतृत्वमा गएको टोलीले सो डाँडालाई वाबु डाँडा भनेर घोषणा गरेको थियो । अहिले पनि सो डाँडामा किरात राईहरुको झन्डा नै फहराएको छ । सो डाँडालाई एक्लौटी रुपमा वाबुडाँडा भनेर घोषणा गरेपछि ५ वर्ष अघिदेखि अहोरात्र रमिते डाँडा नामकरण गरेर अघि बढेको समितिले दुखेसो गरेको छ ।
रमिते डाँडा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र राईले काम गर्ने कालु, मकै खाने भालु भने झैं स्थानीयस्तरसँग कुनै समन्वय र सोधीखोजी नै नगरी वाबुडाँडा भनेर घोषणा गर्न उचित नभएको बताए । शुक्रबार सो डाँडाबाट प्याराग्लाडिङ प्रतियोगिताको शुभारम्भ कार्यक्रम उद्घाटन कार्यक्रममा बोल्दै एकसय बढी सहभागीसामु उनले स्थानीयको भावनालाई कदर गर्नुपर्ने जिकिर गरे । संरक्षण समितिका सचिव सुजन तामाङ भन्छन्, ‘विस्तारै हामी रमिते डाँडा भनेर यसको पहिचान बनाउँदै गर्दा एक्कासि नाम परिवर्तनले अब यसको विकास कसरी गर्ने अन्यौल भएको छ ।’
उनी भन्छन्, ‘बान्तवा राई र तामाङको बसोबास भएको स्थानमा अब हामी तामाङ जातिले पनि नामकरण गर्छौँ, अर्को जाति आउँछ त्यसैगरी नाम घोषणा गर्दै जाँदा स्थानीयवासीलाई मान्य हुँदैन । त्यसैले रमिते डाँडा मार्फत् नै यस स्थानलाई चिनाउने हाम्रो चाहना हो ।’ समितिमार्फत् हालसम्म धरानदेखि ४ किलोमिटरसम्मको २३ लाखको सहयोग जुटाएर बाटो निर्माण, डाँडामा हेर्न आउने पर्यटकका लागि मनोरम स्थानलगायतको काम भएको छ ।
सो स्थानमा सजिलै सवारी साधन लिएर पुग्न सकिन्छ । तर, पक्की सडक भने बन्न सकेको छैन । सो स्थानसम्म पुग्नको लागि धरान–१६ स्थित सर्दुखोला तरेर जानुपर्छ, जहाँ पुल बनेको छैन । दिनानुदिन त्यहाँ जाने आगन्तुकहरु भए पनि वर्षाको समयमा कोही पनि पुग्न सक्दैन किनकि सर्दुमा आउने भेलले रोकिदिन्छ । वर्षौँसम्म स्थानीयस्तरबाट चिन्न नसकेको सो डाँडा अहिले आएर जो कोही त्यहाँ पुगे पनि रमाउँछ र फेरि फेरि त्यस स्थानमा पुग्ने चाहना राख्छ ।
थरिथरिका नामकरणले मात्रै नभइ यसको विकासमा पनि ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ । सुरुमा शिवहाङ भनेर चिनिने डाँडा, चिनो डाँडा, चिन्डे डाँडा, रमिते डाँडा हुँदै वाबुडाँडासम्म भएको छ । स्थानीयस्तरबाट भएको पहलकदमीबाहेक अरु कुनै सहयोग नभएको त्यहाँका बासिन्दाको गुनासो बढेको छ । किरात राई यायोक्खाले गतवर्ष झन्डासहित सो चिन्डे डाँडालाई वाबु डाँडा भनेर घोषणा गरी झन्डा गाडे पनि सो झन्डासमेत अहिले च्यातिन थालेको छ ।
सबैको आफ्नै जातिको पहिचान होस् भन्ने चाहना सबैमा हुन्छ तर ऐतिहासिक पृष्ठभूमि, सांस्कृतिक महत्व, धार्मिक महत्व, जातीय महत्वलगायत सबैको चाहना अट्ने नामकरण हुनुपर्छ । अनि मात्रै सोच अनुरुप पर्यटन विकासको लागि काम गर्न सकिने कार्यकारी अधिकृत राईको भनाइ छ ।
प्रतिक्रिया