१०२ वर्षे योद्धाको कथा

old man copyभोजपुर जिल्ला तिम्मा गाविस पाङखाङका बखतबहादुर थुलुङ राई गत मंसिरबाट १ सय १ पूरा भई १ सय २ वर्षमा लागे । नेपालीको औसत आयुभन्दा करिब दोब्बर बाँचिसकेका उनी गाविस भरिकै सबैभन्दा पाका व्यक्ति हुन् । अनुहार र शरीर हेरेर उनको उमेर अनुमान काट्नेहरू फेल हुन्छन् कि भने शरीरमा कुनै चाउरी छैन, कुनै कमजोरी देखिँदैन । अनुहारमा युवा चमक ताजै छ ।

उनी मुख धुन आफैँ धारामा जान्छन् । चर्पी जान कसैको सहारा चाहिँदैन । आँखाको ज्योति मधुरो भए पनि निकै परसम्म देख्छन् । कान भने निकै कमजोर छन् । हत्तपत्त सुन्दैनन् । उनलाई भेट्न आउनेलाई आफूले भोगेका, देखेका कुराहरू तन्नेरी स्वरमा सुनाउँछन् । दोहोर कुरा गर्न सक्तैनन् । उनी बस्ने घर पूर्वको कुकुम डाँडो र उत्तरको मैयुङ चुचुरो युगौँ अघिदेखि उस्तै छन् । नजिकै रहेको पिखुवा खोलामा उस्तै पानी बगिरहेको छ । तर, विगत सम्झेर ल्याउँदा उनी आफैँलाई सपना जस्तो लाग्छ । उनका भोगाइ सुन्नेलाई कथा जस्तो लाग्छ । उनी रुमानी कथाको नायक जस्ता लाग्छन् ।

रहरले लाहुरे
त्यो समय लर्के जवानहरू बटुल्न गाउँगाउँमा गल्लावाल आउथेँ । लडाइँको समय थियो । लाहुरे हुनु भनेको सिधै मृत्युको मुखमा हामफाल्नु हुन्थ्यो । उमेर पुगेकाहरू गल्लावालको आँखा छलेर भाग्थे । गल्लावालहरू भेटेजति किशोरहरूलाई फकाएर लैजान्थे ।

बखतबहादुरलाई मृत्यसँग एकपटक पौठेजोरी खेल्ने रहर जाग्यो । उनको रहर जागेको बेला भने गल्लावाल गाउँ पसेन । कुर्दाकुर्दै २१ वर्ष पुगे । उनको पालो मामली पर्ने एकजनाको साथ लागेर दार्जिलिङ पुगे छाती नाप्न । आपूmसँग भएको केही रकम साथीको मामाले मैनाको एक आना ब्याज दिने भन्दै लगेनन् मात्रै लाहुरमा भन्दा रकम ब्याज लगाउँदा बढी फाइदा हुने प्रलोभन देखाएर नापिन जानै दिएनन् । ब्याजमा दिएको पैसा पनि आएन, उता भर्ती पनि बन्द भयो । उनी गाउँ फर्के ।

४ वर्षपछि आफ्नो पैसा उठाउने मेसोमा फेरी दार्जिलिङ पुगे । पैसा पनि उठाए । भर्ती पनि भए । गल्लावाल गाउँको आपूmभन्दा १० वर्ष जेठो चहकमान राई रहेछन् । उनलाई अभिभावक पाएजस्तो भयो ।

तालिमको लागि बिहार पुगे । सबै कुरा हिन्दीमा हुने । खाँट्टी किराती, भर्खरै गाउँबाट देश कटेर विदेश पुगेको केटो, हिन्दी जान्ने कुरै भएन । पल्टनीय गोर्खाली पनि हिन्दी मिसिएको भाषा बोल्ने । आधा मात्रै बुझिने । सुरु दिन खाना खाने बेलामा सोधियो, ‘मुर्गा खाने कि सब्जी खाने ?’ उनले सब्जी त बुझेछन् । ‘मुर्गा’ लाई ‘मुक्का’ सुनेछन् । लागेछ मुक्का खानुभन्दा त सब्जी खानु बेस । भनेछन्, ‘सब्जी खाने, सब्जी खाने ।’ सबैलाई भातसँग मासु आयो उनको भागमा झोलसँगको साग । भोलिपल्ट ‘मुर्गा खाने’ भनेपछि कुखुराको मासु पाएछन् । त्यसपछि कहिल्यै पनि ‘सब्जी खाने’ भनेनन् ।

लडाइँ नै लडाइँ
भारत बेलायतको उपनिवेश थियो । उनको रिक्रुट तालिम नसकिँदै लडाइँ सुरु भयो । दोस्रो विश्वयुद्ध । उनको पल्टन उत्तर भारत खटियो । बर्मातिरबाट जापान आइपुग्यो । आसाम, मणिपुर, मेघालय जताततै भीषण लडाइँ भयो । उनीहरूलाई अफिसरहरूले लेक्चर दिएका थिए, ‘लडाइँ हारे जापान, जर्मन घर पस्छ । आइमाई केटाकेटी सबैलाई मार्छ । सरकारले जिते पैसा, सुनचाँदी सबै थोक दिन्छ ।’ जंगलैभरि जापान, जर्मनले ‘बृटिस हारिसक्यो, कमान्डरहरू भागिसके, तिमी गोर्खालीहरू आप्mनो देश फर्क’ जस्ता सन्देश लेखिएका चिठी हवाइजहाजबाट खसाएका हुन्थे ।

आसाममा रातभरि दुवैतिरबाट बमगोला हानाहान भयोे । बिहान जापानसँग आमनेसामने गोली हानाहान भयो । जापानको हवाइजहाज मिसिनगनले खसाए पनि केही सीप नचल्ने देखेर दुस्मनहरू पछि हटे । कति मरे, कति बाँचे कुनै हिसाबकिताब नै भएन । मणिपुरमा भएको लडाइँमा १ हजार जति मरे । १० हजार जति गोर्खाली घायल भए । आफ्नै कान्छो भाइ भने बाँचेछ । मिसनगनले जापानको ट्याङ्क लडाको । उसले भिसी पाउनुपर्ने । पाएन ।

कुनै कुनै कमान्डर साह्रै खराब । आसामको लडाइँमा कमान्डर क्षेत्री जर्नेल थियो । साह्रै खराब । खाहै दुःख दिने । दयामाया नभएको । सिपाहीलाई त मान्छे नै नगन्ने । लडाइँ जित्ने हार्ने सिपाहीकै हातमा छ । पछि ऊ पनि म¥यो । उसको रनर भने गाउँमा लुकेर बाँचेछ ।

जता गयो उतै कष्ट । हिउ, झरी, गर्मी, भीर पहरा, भरर गोली, न खाने न सुत्ने कुनै ठेगान नै थिएन । सरकार जन मात्रै बढाउने । जति जन बढ्यो उति दुःख । कलकत्तामा बस्दा निकै सारो बिमार लाग्यो । डाक्टरले उपचार नै गरेन । रगतमासी परेको थियो । ‘सरकार गरिब छ’ भन्दै डाक्टरले निको हुने दबाइ नै दिएन । झन्डै मरेको ।

लडाइँ सकिएपछि उनीहरूलाई रोज्न लाए बक्सिस लिएर घर फर्कने कि पल्टनमै बसेर पेन्सन पकाउने । त्यसबेलाको तलब घर आउन बाटो खर्च पनि नपुग्ने । पल्टनै बसे फेरी लडाइँ होला । बल्लबल्ल बाँचिएको । अर्को लडाइँमा त मरिने नै हो । बक्सिस थाप्दा थुप्रो पैसा पाइने । बखतबहादुरले बक्सिस थापेर घर फर्कने रोजे ।

घर आइपुग्नासाथ ०७ सालको राणा विरोधी लडाइँ चलिहाल्यो । कांग्रेसी सेनामा उनै भारत–ब्रिटिस गोर्खाहरू थिए । कमान्डर पनि, सिपाही पनि । उनै चहकमानले त्यसभेगका पल्टनीयाहरू बटुल्ने जिम्मा पाएका थिए । दोस्रो विश्वयुद्ध लडेर घर आएकाहरू धमाधम संगठित हुँदै थिए । उनी पनि लागे फेरी बन्दुक पड्काउन । कुकुमसम्म आइपुगेका राणा फौजलाई लखेट्दै उनी खोटाङको ऐँसेलुखर्कसम्म पुगे । राजा, राणा र कांग्रेसले सम्झौता गरेपछि लडाइँ रोकियो । कतिपय राजालाई हेर्न राजधानीतिर हानिए । उतै पुलिसको जागिर खाए । धेरैजसो आफू खुसी आ-आफ्ना गाउँ फर्किए । बखतबहादुर आफ्नै गाउँ आएर अभावको जिन्दगी, परम्परागत जीवन जिउन थाले ।

भातमा मुसाको लिँड
‘लडाइँभरि कहिल्यै राम्रो भात खान पाइएन’, बखतबहादुर सम्झिन्छन् । कहिले काँचै । कहिले अपुरो । कहिले भात मात्रै, तिहुन बेगर । कहिले मिस्टिनमा थापिसकेको भात छोडेर कुद्नु पर्ने । कहिले कति दिनसम्म भातको अनुहारै देख्न नपाइने ।

धेरैजसो चामलमा फोहोर । ढुंगा, दाउराको चोइटा र भूस त कति हो कति । नकेलाई पकाउने । कहिलेकाहीँ त भात खान भन्यो चामलभन्दा धेरै मुसाको लिँड पाकेर ढाडिएको । भोकको रन्कोमा मन नमाने पनि जबर्जस्ती खानै प¥यो । २ औँलाको चिम्टाले मुसाको लिँड टिप्दै प्mयालेर बचेको खानुपर्ने । अफिसरहरूलाई पनि चामल त उही हो तर मजाले केलाइवरी पकाउने, भान्सेले ।

लडाइँभरि उनी कहिल्यै एक ठाउँमा रहन पाएनन् । धेरै ठाउँ पुगे । कुन ठाउँ कस्तो लेखाजोखा गरेर बस्ने अवस्था पनि थिएन । सबै ठाउँहरू सम्झिएर साध्य पनि भएन । लडाइँ अगाडि जतिखेर तालिममा थिए र लडाइँ पछाडि रहेका ठाउँहरू भने राम्ररी सम्झिन्छन् । लडाइँमा शत्रु मार्ने र आफ्नो ज्यान जोगाउने मात्रै ध्यान हुन्थ्यो ठाउँसँग रम्ने कुरै थिएन । लडाइँको बेलामा हिउँले थिचेको ठाउँ पनि उनले बिर्से ।

उनलाई सबैभन्दा राम्रो लागेको बिहार हो । किनभने त्यहाँ मात्रै उनले खेतीका हरिया फाँटहरू देखे । अलि मीठो खान पाए । अलि फुर्सद पनि भयो ।

प्रतिक्रिया