महिला टेम्पुचालकको कथा : रामप्यारी

Rampyariकाठमाडौं, ३ चैत । नयाँबानेश्वरबाट पुरानोबानेश्वर जाने क्रममा एउटा माइक्रोले टेम्पुलाई अप्ठेरोसित ओभरटेक गरेको देखेकी रेखाले टेम्पोबाट झरेकी महिलाले माइक्रो ड्राइभरलाई हप्काएको समेत हेरिरहेकी थिइन् । यो फिल्मको कथा बन्छ कि भन्ने त्यसैबेला उनलाई लाग्यो र अझ ध्यान दिएर चासोका साथ हेर्न थालिन् ।

रेखाले सुनाएको कथा अनुसार टेम्पु र माइक्रो दुवै रोकिए । रेखाले पनि आफ्नो गाडी पनि रोकिन् । टेम्पुको अगाडि सिटबाट एक महिला बाहिर निस्किइन् र पाखुरा सुर्कंदै भनिन, ‘ओई तैँले के सोचेको छस् ? यो बाटो तेरो बाउको हो ?’

माइक्रोचालक नर्भस भए । रेखालाई यो दृष्य अनौठो लाग्यो । टेम्पोचालक महिलाले थर्काएपछि माइक्रोचालक निरीह मात्रै देखिएनन् । आफूबाट गल्ती भएकोमा क्षमा पनि मागे । एक पुरुषले महिलासँग बीच सडकमा यसरी क्षमा मागेको देख्दा उनलाई भित्रभित्रै खुसी बनिन् । उनले भनिन् ‘त्यो दृष्यपछि मलाई लाग्यो महिला पनि महसूर पो हुँदा रहेछन् त ।’

सोही घटनापछि टेम्पोचालक महिलाको विषयमा फिल्म बनाउने सोच दिमागमा पलाएको रेखाले बताइन् । त्यसपछि त हरेक कार्यक्रममा जाँदा होस् या बाटोघाटोमा, टेम्पो चालक महिलाको बारेमा विशेष चासो राख्न थालिन् उनी । टेम्पोचालक महिलाको लाइफ स्टाइलका बारेमा चासो राख्न थालिन् ।

उनको घरपछाडि नै चाबहिलमा टेम्पो ग्यारेज रहेको त्यो बेलासम्म थाहा नपाएको उनले पछि पत्ता पाइन् र चियो गर्न थालिन् ग्यारेजमा । ग्यारेजमा जम्मा हुने महिलाको बारेमा व्यापक चासो राख्न थालिन् उनले । रेखा भन्छिन्, ‘ग्यारेजको दृष्य देखेपछि मलाई झन् रमाइलो लाग्यो ।’ केही दिन ग्यारेजको चियो गरेपछि उनले थाहा पाइन्, महिलाहरू वास्तवमै महसूर हुँदा रहेछन् । रक्सी खाएर स्वास्नीलाई थर्काउने लोग्नेहरू ग्यारेजमा निरीह जस्ता देखिन्थे । लोग्नेले अलिकति फुर्ती लाउने बित्तिकै महिलाहरू भनिहाल्थे, ‘दिनभरि टेम्पु चलाउँछु, बेलुका ल्याएर खुवाएकी छु । के फुर्ती लाउँछौ ।’ यस्ता धेरै महिला भेटिन् उनले, जो आत्मनिर्भर थिए र लोग्नेको हेपाइ पटक्कै सहँदैनथे ।

आउँदो २६ चैतमा रिलिजको तयारीमा रहेको रामप्यारीमा रेखा आपैmँले टेम्पुचालकको भूमिका निर्वाह गरेकी छन् । टेम्पुचालकको बोलीचाली, लवाइखवाइ र खानपिनलाई जीवन्त बनाउन उनले महाराजगञ्ज रुटमा टेम्पु चलाउने एक महिलालाई सुटिङमै बोलाएकी थिइन् ।

प्रतिक्रिया