सूर्य नेपाल म्याच प्ले गल्फको क्वाटरफाइनल बुधबारदेखि

काठमाडौं, २ चैत । शीर्ष वरीयताका प्रो गल्फर शिवराम श्रेष्ठ र रामे मगर सूर्य नेपाल एनपिजिए म्याच प्ले गल्फ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै रोयल नेपाल गल्फ क्लबमा भएको खेलमा सञ्जय लामा, रवि खड्का, सूर्य शर्मा, दीपक थापा, भूवन नगरकोटी र धने थापाले पनि क्वाटरफाइनलमा स्थान बनाएका छन् । उनीहरूले प्रतियोगितामा आआफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै शीर्ष खेलाडीहरूले अन्तिम ८ मा ठाउँ पक्का गरेका हुन् । नेपाल नम्बर १ शिवराम श्रेष्ठले सञ्जीव नेपालीलाई ७–५ ले हराए ।

दोस्रो वरीयताका सञ्जय लामाले यलम्बर अधिकारीलाई ३–२ ले हराए । क्वाटरफाइनलमा शिवराम श्रेष्ठले राम मगरसँग प्रतिस्पर्धा गर्नेछन् । राम मगरसँगै रवि खड्का, सूर्य शर्मा, दीपक थापामगर, भूवन नगरकोटी र धन थापा पनि क्वाटरफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनल र सेमिफाइनल खेलहरू बुधबार हुनेछन् भने फाइनल खेल बिहीबार हुनेछ । प्रतियोगितामा अघिल्लो वर्षका शीर्ष १६ जना व्यावसायिक गल्फर सहभागी छन् । प्रतियोगिताको फाइनल खेलमा ३६ होल र अन्य खेलमा भने १८ होलमा खेल हुनेछन् । प्रतियोगिताको उत्कृष्ट ४ ले क्रमशः ५० हजार, ३० हजार, २२ हजार र १८ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । क्वाटरफाइनलसम्म स्थान बनाउन सफल गल्फरलाई १० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया