‘डाइङ क्यान्डल’ तीन विधामा मनोनित

daying candleकाठमाडौं, २ चैत । अमेरिकाको प्रतिष्ठित क्युइन्स वल्र्ड फिल्म फेस्टिभलमा नेपाली फिचर फिल्म ‘डाइङ क्यान्डल’ (निभ्न लागेको दियो) स्क्रिनिङ हुने भएको छ । स्क्रिनिङसहित ३ प्रतिस्पर्धी विधामा ‘डाइङ क्यान्डल’ मनोनयनमा समेत परेको छ । डा. नरेशकुमार केसी निर्देशित यस फिल्म उत्कृष्ट फिल्मसहित सिर्जना सुब्बा उत्कृष्ट हिरोइन, दिपांकर सिग्देर र रविन आचार्य उत्कृष्ट छायाँकारमा मनोनित भएका हुन् ।

फेस्टिभल मार्च १५ देखि २० सम्म अमेरिकाको न्युयोर्कमा हुँदै छ । ‘डाइङ क्यान्डल’ १९ मार्चमा स्क्रिन हुने फेस्टिभलको अफिसियल वेबसाइटमा उल्लेख गरिएको छ । ‘स्क्रिनिङसहित मनोनयनमा परेको खबरले खुसी भएका छौँ,’ निर्देशक केसीले उत्साही हुँदै भने, ‘पुरस्कार जित्यौँ भने त अन्तर्राष्ट्रिय बजारमा फिल्मको डिमान्ड बढ्नेछ ।’ फिल्मले दिदीभाइबीचको आत्मीयताको कथा मार्मिक र कलात्मक शैलीमा पोखेको छ ।

उसो त यसभन्दा अगाडि पनि ‘डाइङ क्यान्डल’ भ्यालेन्टाइन्स डेमा अमेरिकाकै सिने भर्डी फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । उक्त फेस्टिभलबाट पाएको सकारात्मक प्रतिक्रियाले आफ्नो हौसला बढाएको केसीले बताए । ३ मार्चमा यस फिल्म युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्निया(युएसस्सी)को स्कुल अफ सिनेम्याटिङ आर्टस् विभागमा स्क्रिनिङ भएको थियो । यो कलेज विश्वकै पहिलो नम्बरमा रहेको फिल्म कलेज हो । स्क्रिनिङमा नेपालबाट अभिनेता अर्पण थापा तथा निर्माताद्वय रविन आचार्य र उत्तम केसी सहभागी थिए । क्युइन्समा पनि उनीहरू तीनै जना उपस्थित हुने निर्देशक केसीले जानकारी गराए ।

उनले फिल्मको बारेमा भने, ‘दिदीभाइ हुनेले त यो फिल्मसँगै आफूलाई सजिलै कनेक्ट गर्छ नै, नहुनेको मन झन् धेरै छुन्छ, अभावले ।’ कथाजस्तै लोकेसनमा पनि मौलिकता र नेपाली सुगन्ध दिलाउन उनले रसुवाको दुर्गम गाउँ गत्लाङमा फिल्म खिचेका छन्, त्यो पनि स्थानीय कलाकारलाई लिएर । फिल्ममा मुख्य भूमिका रहेका बालकलाकार लाक्पा सिंगी तामाङ गत्लाङकै बच्चा हुन् ।

प्रतिक्रिया