चलिचत्र बनाउने सुरमा दया र प्रियंका

daya_priyankaकाठमाडौं, २ चैत । अहिले नेपाली चलचित्र बजारका चल्तीका २ कलाकार दयाहाङ राई र प्रियंका कार्कीले चलचित्र निर्माण कम्पनी खोल्न लागेका छन् । आफूले चाहेजस्तो चलचित्र अहिले पनि निर्माण हुन नसकेको भन्दै उक्त कम्पनीले आपूmले चाहेजस्तो चलचित्र निर्माण गर्ने नायिका कार्कीले बताएकी छन् ।

नयाँवर्ष लागेसँगै नयाँ प्रोडक्सन कम्पनी खोल्ने र फागुनसम्म चलचित्रलाई छायांकनमा लैजाने योजना राखेको कार्कीले बताएकी छन् । चलचित्र क्षेत्रमा लागेर थुप्रै चलचित्र खेले पनि आफूले चाहेजस्ता विभिन्न भूमिका खेल्न नपाएको भन्दै कार्कीले ‘दयाको पनि आफ्नै खालको सपना छ । मेरो पनि चलचित्रमा भूमिका गर्ने आफ्नै खालको सपना छ’ भनेकी छन् । तर, आफूले अरूको ब्यानरमा चलचित्र खेल्दा उनीहरूको चाहना अनुसार काम गर्नुपर्ने बाध्यता भएकाले प्रोडक्सन कम्पनी खोल्न लागेको उनको भनाइ थियो ।

आफ्नो प्रोडक्सन कम्पनीबाट वर्षमा एउटा चलचित्र बनाएर दया र आफूले नै अभिनय गर्ने उनले बताइन् । वर्षमा एउटा चलचित्र निर्माण गर्ने र आफूले चाहेजस्तो भूमिका खेल्ने योजनामा दया र प्रियंका लागेका छन् । उनीहरूले लगानी मात्र गर्ने निर्माता पाएको खण्डमा सहकार्य गरे पनि चलचित्रको विषयवस्तुमा हस्तक्षेप गर्ने कोहीसँग पनि सहकार्य नगर्ने योजना बनाएका छन् ।

दया र आफू एकदमै नजिक साथी भएको भन्दै उनले ‘जीवनमा यति राम्रो साथी सायदै भेटिदैन । दया र ममा पोजेटिभ इनर्जी छ । हामी दुबै नै यो क्षेत्रलाई पूजा गर्छौं’ समेत् भनेकी छन् । आफूले विश्वास गर्नसक्ने नजिकको साथ दया भएकाले पनि उसँग मिलेर प्रोडक्सन कम्पनी खोल्न लागेको नायिका कार्कीको भनाइ छ । दयाले आफूलाई विश्वास गर्ने र आफूले पनि दयालाई विश्वास गर्ने भएकाले एकसाथ नयाँ कदम चाल्न लागेको कार्कीले बताइन् । दयाको श्रीमती र छोरासँग पनि आफू नजिक भएको र दया पनि आफ्नो परिवारसँग नजिक भएको नायिकाको भनाइ छ ।

प्रतिक्रिया