अस्ट्रेलिया र न्युजिल्यान्डमा सम्पन्न विश्वकपकै दौरान श्रीलंकाका कुमार सांगाकारा र माहिला जयवद्र्धनेजस्ता कीर्तिमानी खेलाडीले समेत सन्यास लिए । अस्ट्रेलियाका माइकल क्लार्कले त सन्यासअघि टोलीलाई आफ्नै कप्तानीमा विश्वकप जिताए । न्युजिल्यान्डका डेनियल भिट्टोरीले आफ्नो टोलीलाई इतिहासमै पहिलो पटक फाइनल यात्रा गराए । अफ्रिदीकै टोलीका कप्तान मिसवाहले विश्वकपकै दौरान सन्यास लिए । उनीहरूको तुलनामा साहिद अफ्रिदीको सन्यास फिक्का रह्यो, भारतका पूर्वक्रिकेटर तथा कमेन्टेटर रवि शास्त्रीले ‘बुम बुम अफ्रिदी’ भनेर नामाकरण गर्नुअघि ‘ला ला’ भनेर चिनिने पठान साहिबजादा मोहम्मद साहिद खान अफ्रिदी प्रतियोगिता अवधिभर चलेनन् ।
तथापि उनको टोली दक्षिण एसियाली भूमिमा हुने ट्वान्टी–२० विश्वकप जितेर नयाँ अभियान चाल्ने सुरमा छ । बुधबार प्रतियोगिताका महत्वपूर्णखेलहरू सुरु हुँदा साहिद अफ्रिदीका लागि पनि यस प्रतियोगिताका हरेक खेल महत्वपूर्ण हुनेछन् । उनी पनि ट्वान्टी– २० मा उत्कृष्ट प्रदर्शन गर्दै कप्तानको रूपमा उपाधि जितेर खेल जीवन सार्थक बनाउन चाहन्छन् ।
अन्तिम खेलमा उनको ब्याटले अस्टे«लियाविरुद्ध केवल २३ रन मात्रै बटुल्यो । तर, अझैँ पनि चर्चा उनको सन्यासको नभएर आगमनको छ, १९ वर्षअघि विश्व क्रिकेटमा उनले देखाएको अद्भूत उपस्थितिलाई सायदैले भूल्नेछन् । उनले १९ वर्षसम्म एकदिवसीय खेललाई रंगीन र भरपूर मनोरन्जनात्मक बनाउन खेलेको भूमिकाको कदर गर्दै क्रिकइन्फो डटकमले लेखेको छ, ‘क्रिकेटले यस्तो असाधारण व्यक्ति न पाएको थियो । न त उनीपछि पाउनेछ । उनको तुलना कसैसँग हुनै सक्दैन ।’
१९९६ अक्टोबर ३ मा केन्याको नैरोबीस्थित जिमखाना क्लब मैदानमा पाकिस्तानी टोली अभ्यासकै क्रममा थियो । नेट अभ्यासका क्रममा तत्कालीन विश्वका नम्बर एक बलर वासिम अक्रमको बल एक टिनएजरको ब्याटमा लागेर गायब भयो । पाकिस्तानका कप्तान थिए, सइद अनवर । उनले त्यो कलिलो ठिटोलाई फेरि ब्याटिङ गर्न लगाए । विश्वकै खतरनाक बलर अक्रमको बलमा उसले फेरि त्यस्तै डरलाग्दो प्रहार ग¥यो । त्यसयता, अर्का बलर वकार युनिसलाई बलिङ गर्न लगाउँदा सबै एकाएक छक्क परेका थिए, किनकी यसपटक बल मैदान नाघेर कार पार्किङसम्म पुगेको थियो । वासिम अक्रम र वकार युनिसजस्ता बलरहरू एउटा १६ वर्षे टिनएजरसँग नतमस्तक भएको घटनालाई पाकिस्तानी टोलीका प्रशिक्षक मोहम्मद मुस्तकले सामान्य रूपमा लिएनन्, तर उनले घटना गुपचुप नै राख्न चाहे । प्रशिक्षक मोहम्मद मुस्तक र कप्तान सइद अनवरले छनोट कमिटीको सिफारिसमा १६ वर्षको फुच्चेलाई पाकिस्तानी टोलीमा राख्दा धेरैलाई लागेको थियो, केही वर्षपछि यो ठिटोले बलिङमा राम्रो गर्नसक्ला । लेग स्पिनर अहमद मुस्तकको सट्टामा उसलाई बलिङ गर्न टोलीमा बोलाइएको थियो । तर, सुरुआती खेलमा केन्याविरुद्ध धेरै रन खर्चिएर एक विकेट पनि लिन नसकेपछि उसमाथि कसैको नजर पर्न सकेन ।
अफगानिस्तानसँग सीमा जोडिएको क्षेत्र खाइबर एजेन्सीमा जन्मिएको त्यो टिनएजरको विषयमा खाइबरकै धेरै जनता जानकार दिएनन् । श्रीलंकाविरुद्धको खेलमा कसैले नचिनेको त्यही फुच्चे सलिम मलिक, रामेज राजाजस्ता खेलाडीभन्दा अघि पिन्च हिटरका रूपमा तेस्रो क्रममा ब्याटिङ गर्न आउँदा तत्कालीन विश्व च्याम्पियन टोलीका मुथैया मुरलीथरन, कुमार धर्मसेना, चामिन्डा भास र सनथ जयसूर्या तीनछक खाएका थिए । तर, खेल अन्त्यसम्म त्यो फुच्चे ‘मेघा स्टार’ बनिसकेको थियो । खेलमा ओपनर अनवरले खेलमा १ सय १५ रन बटुलेका थिए । त्यही खेलमा साहिद अफ्रिदीले १ सय २ रन प्रहार गरे जसका कारण सइद अनवरको शतकीय इनिङ्सको चर्चा गर्ने फुर्सद कसैलाई भएन । शतक प्रहार गरेको दिन अफ्रिदी १६ वर्ष २ सय १७ दिनका थिए ।
विश्व क्रिकेटमै सबैभन्दा कम उमेरमा शतक प्रहार गर्ने अफ्रिदीले राखेको अर्को कीर्तिमान क्रिकेटलाई माया गर्ने जनता भएका प्रत्येक देशका लागि हेडलाइन्स थियो । उनले केवल ३७ बलमै शतक प्रहार गरे । सुरुआतमा धेरै पाकिस्तानीले कीर्तिमान सइद अनवरले बनाएको ठानेका थिए, किनकि अफ्रिदी सबैका लागि बिलकुल नौलो नाम थियो । अझ, पाकिस्तानीले अफ्रिदीलाई बलरका रूपमा मात्रै बुझेका थिए, तर उनी निस्किए आक्रामक ब्याटस्म्यान । अफ्रिदीले त्यही खेलमा ११ छक्का प्रहार गर्दै तत्कालीन समयमा सनथ जयसूर्याको नाममा रहेको सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बराबरी गरेका थिए । श्रीलंकाविरुद्ध नै अफ्रिदीले लिएको अर्जुना रनतुङ्गाको विकेट उनकै शतकको छायाँ प¥यो । अफगानिस्तानमा सोभियत युद्ध जारी रहँदा अफ्रिदीको जन्म खाइबर एजेन्सीमा भएको थियो ।
पहाडको सुन्दरताले भरिएको खइबर अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा पर्ने भएका कारण युद्धबाट अछुतो थिएन । साहिद जन्मिदैँ गर्दा बम र बारुदको त्रासमा खाइबर थियो । विस्फोट र मृत्यु पूरै पाकिस्तानका लागि अस्वभाविक थिएन । खाइबरमा अर्का अफ्रिदी चर्चामा थिए, हजि अयूब अफ्रिदी । ड्रग्स सप्लाई गर्ने हजि अयूबले खइबार पासबाट युद्धका दौरान अफगानी विद्रोहीलाई हतियार सप्लाई गर्थे र उनलाई अमेरिकी गुप्तचर संस्था सिआइए तथा पाकिस्तानी सरकारको पूर्ण समर्थन थियो । सीमाक्षेत्रका खाइबरका जनता त्रासकैबीच बाँचेका थिए । साहिद अफ्रिदी १० वर्षको पुग्दा सोभियत युद्ध सकिनै लागेको थियो तर युद्धको घाउ बाँकी थियो । आफ्ना दाजुले खेलेको देखेर अफ्रिदीले ब्याट समाउन सिकेका थिए । सन् १९९२ को विश्वकप उपाधि इमरान खानले उचाल्दाको केही क्षण सायद पाकिस्तानले अस्थिरता, गरिबी, असुरक्षा, अभाव र युद्धको घाउ बिर्सिएको थियो । त्यसयता, पूरा पाकिस्तानभर फेरि लोकप्रिय बनेको क्रिकेट खेलबाट खाइबर अछुतो रहेन । त्यही खाइबरमा अफ्रिदी चम्कन थाले, उनले कराँचीबाट फस्ट क्लास क्रिकेट खेल्दै अन्ततः मुस्तक अहमदको सट्टामा राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । जब अफ्रिदीले आफ्नो पहिलो इनिङस्मै शतक लगाए, तब उनको चर्चा अन्तर्राष्ट्रिय स्तरमै भयो, उनी पाकिस्तानका उदाउँदा नायक बने । त्यतिबेलासम्म जतिसुकै चर्चामा रहे पनि इमरान खान, जावेद मियाँदाद, इन्जमाम उलहक र वसिम अक्रमको लोकप्रियतालाई अफ्रिदीले माथ खुवाउने अनुमान गर्न गाह्रो थियो । तर, पाकिस्तानको अस्थिर राजनीति र दिनँहुजसो हुने विस्फोटका कारण सिनेमाले राम्रो बजार लिएन, स्टार क्रिकेटरहरू म्याच फिक्सिङमा पर्न थाले, डामाडोल पाकिस्तानमा १९ वर्षसम्म आर्कषणको पाटो बन्दै गए, साहिद अफ्रिदी । ‘बम, बारुद र गोलीको त्रासका बीच जीवनयापन गर्ने थुप्रै पाकिस्तानीहरू अफ्रिदीको आक्रामक ब्याटिङ हेर्ने आशामा बसिरहे, अविराम ।’
साहिद अफ्रिदीको लोकप्रियता बढ्नुका पछाडि भारतीयहरूको पनि ठूलो हात छ । अफ्रिदी भारतमा समेत सर्वाधिक रुचाइने एक मात्रै पाकिस्तानी क्रिकेटर हुन् । सचिन तेन्दुलकरको सन्यासअघिसम्म हरेकपल्ट पाकिस्तानविरुद्ध भारतीयहरू चोटिलो प्रहार गर्थे, ‘हामीसँग क्रिकेटका भगवान् छन् । पाकिस्तानीसँग के छ ?’ अफ्रिदी पाकिस्तानी क्रिकेटका भगवान् होइनन्, न त उनी पाकिस्तानका सर्वकालिन महान् खेलाडी नै हुन् । तर, पछिल्लो १९ वर्षमा अफ्रिदी नै निरन्तर एक्लो नाम रह्यो, जसका लागि पाकिस्तानीहरूले गर्व गर्न सिके । संयोगवस् अफ्रिदीले पहिलोपटक शतक प्रहार गर्दा उनै भारतीय क्रिकेटका भगवान् सचिन तेन्दुलकरको ब्याट प्रयोग गरेका थिए । वकर युनुसलाई पाकिस्तानबाट ब्याट मगाइदिन आग्रह गर्दै सचिनले आफ्नो ब्याटको मोडल दिएका थिए, ब्याट नै नबोकी नैरोबी आइपुगेका अफ्रिदीलाई श्रीलंकाविरुद्धको खेलअघि युनिसले त्यही सचिनको ब्याट थमाइदिए, जुन ब्याटबाट ११ छक्का र ६ चौका प्रहार गर्दै अफ्रिदीले कीर्तिमानी शतक बनाए । भारतमा शौचालय, क्रिकेट र सिनेमालाई मात्रै त्यस्तो क्षेत्र मानिन्छ, जहाँ धर्मको कुरा उठ्दैन् । सायद, अफ्रिदी नै त्यस्तो पहिलो क्रिकेटर होलान् जसको प्रशंसा गरेर भारतीयहरू थाक्दैनन् । अफ्रिदीले टोरेन्टो र कानपुरमा भारतविरुद्ध शतक प्रहार गर्दा धेरै भारतीयले आफ्नै राष्ट्रमाथि अफ्रिदीले चोटिलो प्रहार गरेको तथ्य भूलेका थिए, उनीहरू अफ्रिदीको छक्कामा रमाइरहे । विज्ञहरू भन्छन्, अफ्रिदीको इनिङस्ले पाकिस्तानको सिंगो स्वरूप झल्काउँछ । उनको स्टायल झैँ सिंगो देशको पाटो ‘अस्थिर तर संभावनायुक्त, सनसनीपूर्ण तर अविश्वसनीय, हेर्न लायक तर दुखद छ ।’ आफ्नो खेल जीवनभर अफ्रिदीले कमै मात्र टिकेर खेले । उनले जतिपटक नायक बने त्योभन्दा बढी समय गैरजिम्मेवार देखिए । महत्वपूर्ण समयमा चल्न नसक्नु उनको विशेषता रह्यो ।
सन् १९९९ मा अस्ट्रेलियाविरुद्धको विश्वकप फाइनल, सन् २०११ मा भारतविरुद्धको विश्वकपको सेमिफाइनल र यसै वर्षसम्म अस्ट्रेलियाविरुद्धको विश्वकपको क्वाटरफाइनलमा टोलीलाई उद्धार गर्नसक्ने निर्णायक मोडमा उनी थिए । तर, समर्थकहरूको आशालाई तीनैपटक न्याय गर्न सकेनन् । उनी एकदिवसीय क्रिकेट (१ सय १७) सहित ८ हजार रन कटाउने खेलाडी हुन् । तर, ८ हजार रन कटाउने खेलाडीमध्ये सर्वाधिक कम २३ दशमलव ५७ को औसतमा रन बनाउने पनि उनै अफ्रिदी हुन् । विश्वका सर्वाधिक छिटो प्रहार गरिएका १० शतकमध्ये अहिले पनि दुई शतक अफ्रिदीकै नाममा छ । न्युजिल्यान्डका कोरी एन्डरसन (३६ बल) र दक्षिण अफ्रिकाका एबी विलियर्सले (३१ बल) मा शतक प्रहार गरेपछि अफ्रिदी सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडीको सुचिमा तेस्रो स्थानमै चित्त बुझाएर सन्यास लिन बाध्य भए । जसलाई उनले जीवनकै सर्वाधिक दुःखद घटना भनेका छन् । सर्वाधिक छिटो प्रहार गरिएका २० अर्धशतकमध्ये ६ अर्धशतक अफ्रिदीकै नाममा छ । एकै खेलमा ५ विकेट लिएर ५० भन्दा बढी रन प्रहार गर्ने कीर्तिमान अहिलेसम्म एकदिवसीय क्रिकेटमा १५ खेलाडीले मात्रै बनाएका छन् । तर, बाँकी १४ खेलाडीले एकपटक मात्रै त्यस्तो अद्भूत प्रदर्शन गरेका छन् भने अफ्रिदीले ३ पटक ५ विकेट लिएर ५० भन्दा बढी रन प्रहार गरेका छन् ।
क्रिकेट खेलमै सर्वाधिक लामो छक्का लगाउने कीर्तिमान उनको नाममा छ, जोहानेसवर्गमा आयोजक दक्षिण अफ्रिकाविरुद्ध उनले प्रहार गरेको बलले मैदान छुनुअघि १ सय ५८ मिटर परसम्मको हवाई यात्रा तय गरेको थियो । अफ्रिदीको प्रशंसा यतिमै सीमित भने रहन्न, उनले भारतविरुद्ध १८ बलमा ३४ रन प्रहार गर्दै २०१४ को एसिया कपमा पाकिस्तानलाई जीत दिलाएका थिए । केवल एक विकेट बाँकी रहेको अवस्थामा अन्तिम ४ बलमा पाकिस्तानलाई ९ रन चाँहिदा अफ्रिदीले छक्का प्रहार गर्दै भारतलाई एसिया कपबाट घरको बाटो देखाइदिए । सन् २०१२ को एसिया कपको उपाधि पाकिस्तानलाई जिताउन उनको प्रदर्शन महत्वपूर्ण थियो । अफ्रिदीलाई धेरैले टि–२० विश्वकपको प्रदर्शनका कारण पनि बिर्सन सक्दैनन् । एकदिवसीयबाट सन्यास लिए पनि टि–२० मा उनको रफ्तार अझै कायमै छ । अफ्रिदीले सन् २००९ को विश्वकपको उपाधि पाकिस्तालाई जिताउने क्रममा सेमिफाइनल र फाइनलमा नायकीय इनिङ खेलेका थिए । उनले सेमिफाइनलमा ३४ बलबाट ८१ रन बनाए भने थप २ विकेट लिँदै दक्षिण अफ्रिकालाई घर फर्काउन भूमिका खेले । फाइनलमा उनै अफ्रिदीले अविजित ५४ रन बटुल्दै पाकिस्तानलानई कान्छो भर्सनको विश्वकपको उपाधि दिलाए ।
क्रिकेटका अलराउन्डर अफ्रिदी फिल्डिङमा पनि माहिर छन् । तीनवटै डिपार्टमेन्टमा उत्कृष्ट खेल्नसक्ने अफ्रिदीलाई क्रिकेटका अलराउन्डरभन्दा उनको व्यक्तिमाथि न्याय नहुने तर्क अधिकाशंको छ । विश्वचर्चित पोर्टल क्रिकइन्फोले लेखेको छ,‘अफ्रिदीलाई अलराउन्डर र अल्बर्ट आइन्स्टाइनलाई वैज्ञानिक भन्नु कन्ज्युस्याइँ हो । यसमा विशेषण जोडिन आवश्यक छ ।’ प्रत्येकपटक ब्याटिङ गर्दा ३७ बलभन्दा आगाडि नै शतक प्रहार गरे आफ्नो कीर्तिमान तोड्ने हतारोमा अफ्रिदी रहन्थ्ये, अफ्रिदीले छिटै शतक बनाएको हेर्न उनका दर्शक उत्तिकै लालायित । अफ्रिदीको इनिङसलाई क्रिकेटको विशेषतासँग दाँज्न पनि सकिन्छ । वर्षौअघि विश्वचर्चित लेखक जर्ज ब्रनार्ड शाले क्रिकेटलाई ११ जना मूर्खले खेल्ने र ११ हजार मूर्खले हेर्ने खेलको संज्ञा दिएका थिए । शाले भनेझैँ अफ्रिदीको इनिङस हेर्न करोडभन्दा बढी समर्थक आतुर भएर बसिरहे । तर, न अफ्रिदीले फेरि त्यस्तो इनिङस खेल्न सके, न त अफ्रिदीले त्यस्तो इनिङस खेल्न सक्दैनन् भन्ने नै कसैलाई लाग्यो । अफ्रिदीले कुनै बलमा ६ प्रहार गर्ने र लगत्तै २ वा ३ बलमा क्रिज छाड्ने गरेर आफ्नो करियरका ८० प्रतिशत खेल खले । तर, उनीसँग पाकिस्तानी दर्शकलाई अझै कुनै गुनासो छैन् ।
धेरैले भन्ने गरेका छन्, ‘उनले विश्व क्रिकेटलाई भरपूर मनोरन्जन दिए ।’ उनलाई संभावनायुक्त खेलाडी भएर पनि आफ्नो स्वभाविक खेल देखाउन नसकेको आरोप लाग्ने गरेको छ । आफ्नो टोलीलाई झन्डै ५० वटाजति खेल जिताउन अहं भूमिका खेलेका अफ्रिदीले झन्डै १ सय ५० खेल हराउन उत्तिकै महत्वपूर्ण भूमिका खेले तर पठानको यो कमजोरीलाई पाकिस्तानीले आँखा चिम्लिएरै बिर्सिदिएका छन् । त्यसैले पाकिस्तानका अन्य क्रिकेटरहरू बेला–मौकामा अफ्रिदीले योगदानभन्दा बढी प्रंशसा कमाएको भन्दै सार्वजनिक ईष्र्या गर्न पछि पर्दैनन् । अफ्रिदी एकदिवसीय क्रिकेटमा ३ सय ५० भन्दा बढी विकेट लिएर ८ हजारभन्दा बढी रन बटुल्ने एक मात्रै खेलाडी हुन् । खासमा उनले आफ्नो विकेट संख्या सन्यास अघिसम्म ३ सय ९५ पु¥याएका छन् । मिसवाहले सन्यास लिएको अवस्थामा केही समय पाकिस्तानलाई सिनियर खेलाडीको खाँचो थियो । त्यसैले अझै केही म्याच खेल्दै आफ्नो विकेट संख्या ४ सय पु¥याउने अवसर अफ्रिदीसामू नभएको होइन । उनका फ्यानहरू चाहन्थे, अफ्रिदीले ८ हजार रनसँगै अब ४ सय विकेटको कोशेढुंगा पार गरुन् । तर, अमेरिकी विजनेसम्यान रोस पिरोटले भनेझैँ, ‘धेरै मानिसले त्यतिबेला छाडिदिन्छन् । जतिबेला उनीहरू सफलताको नजिक हुन्छन् । सफलताबाट एक यार्ड मात्रै पर रहेको अवस्थामा, खेलको अन्तिम मिनेटमा र विनिङ टचलाइनभन्दा एक फूटअघि ।’ तर, पिरोटले भने झैँ एक यार्डअघि यो निर्णय गरेका अफ्रिदीका लागि यही विश्वकप दुई कदमको नयाँ फड्को मार्ने अवसरसमेत बन्नेछ ।
प्रतिक्रिया