काठमाडौं, १ चैत । रकम विवादका कारण केही महिनादेखि रोकिएको हास्य टेलिसिरियल मेरी ‘बास्सै’ प्रसारणमा आउने भएको छ । चर्चित हास्य कलाकार सीताराम कट्टेलले निर्देशन गर्दै आएका सिरियललाई अब भने प्रायोजक संस्था मिडिया हबकै कर्मचारी मनराज श्रेष्ठले निर्देशन गर्ने भएका छन् ।
अब, हरेक मंगलबार नेपाल टेलिभिजनमा बेलुकी ८ बजेको समाचारपछि यो सिरियल प्रसारण हुने मनराजले जानकारी दिए । यो सिरियलको सोमबार भइरहेको छायांकनमा चर्चित पात्र ‘धुर्मुस–सुन्तली’को अभिनय छैन । यी २ पात्र यो सिरियलमा अब देखिने संभावना पनि नरहेको बताइएको छ । तर, केदार घिमिरे ‘माग्ने बुढा’सँग भने कुरा भइरहेको निर्देशक श्रेष्ठले जानकारी दिएका छन् । अहिले यो सिरियलमा हास्य कलाकार ज्योती काफ्ले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र हालका प्रधानमन्त्री केपी ओलीको भूमिकामा छन् । सीताराम र कुञ्जनाबाहेक सिरियलका सबै पुराना कलाकारलाई देख्न सकिने निर्देशकले बताए ।
मिडिया हबले नै निर्माण गर्दै आएको यो सिरियलका निर्देशक तथा कलाकार सीताराम कट्टेलसँग रकम विवाद भएपछि यसको प्रसारण बन्द भएको थियो ।
प्रतिक्रिया