काठमाडौं, १ चैत । ललितपुरको सातदोबाटोस्थित अलग आर्ट हबमा अलग अभियानको मासिक शृंखला सम्पन्न भएको छ । फागुन शृंखलामा युवा स्रष्टाहरूका साथमा कवि तथा प्राज्ञ सुलोचना मानन्धर धिताल र संगीतकार–गायक वसन्त मुकारुङको विशेष प्रस्तुति रह्यो ।
मण्डल साम्पाङ, नाकिमा, रेवत राई, बबिना किराती, सागर संसार राई, राजकुमार समाल, पावल थुलुङ, रमेश खड्का, एकदेव लिम्बु, सुनिता राई र शारदा राईले सांगीतिक प्रस्तुति दिए भने साङ्केन बान्तावा, निमेश सापकोटा, लक्ष्मी रुम्बा, बिना थिङ तामाङ, उदिम किराती, इनुमा राई, प्रज्ज्वल अधिकारी, जीवन आरोही, ज्योति भट्टराई, प्रणिका कोयू, सुनिता खनाल, रामगोपाल आशुतोषलगायतले कविता वाचन गरे ।
साहित्यतर्फका अतिथि सुलोचना मानन्धर धितालले आफ्ना केही छोटा चोटिला कविताहरू वाचन गरिन् । ‘आज यहाँ मैले चहकिला मनहरू भेट्न पाएँ’ उनले उपस्थित र आयोजकप्रति खुसी व्यक्त गरिन् । त्यसैगरी साहित्यतर्फका अतिथि बसन्त मुकारुङले ‘बैगुनी रैछौ मायालु’, ‘चोमोलुङ्मामुनि’, ‘पिखुवा खोला’ लगायतका ५ संगीत सिर्जना प्रस्तुत गरे ।
उनलाई गायनमा गायिकाहरू पार्वती राई र आभा मुकारुङले साथ दिएका थिए । अलग अभियानले निरन्तर मासिक शृंखला सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया