लाप्राकबासीले आफैँ बनाए घर

काठमाडौं, २७ फागुन । गोरखा लाप्राकका भूकम्पपीडितले सरकारी र दातृ निकायको अनुदानको बाटो नहेरी अर्मपर्म र ऋण खोजेर बर्खाको पानी छल्न नयाँ घर बनाएका छन् । भूकम्पले ध्वस्त बनाएका पूराना घरका काठपात, ढुङ्गा र माटोको जोडाइले लाप्राकीले नयाँ घर उभ्याएका हुन् ।

गुप्सीपाखाको अस्थायी टहरोमा हिउँद कटाएका लाप्राकीले आउँदो बर्खा पुरानै लाप्राक गाउँमा बनाएको घरमा बिताउने तयारी गरेका छन् । मौसमअनुसारको खेती गर्न र उत्पादन भएका अन्नपात भित्राउन पनि लाप्राकीलाई घर चाहिएको छ । अस्थायी आवास प्रयोजनका लागि सरकारले राहतमा दिएको जस्तापाताको प्रयोग नगरेका लाप्राकीले गोब्रेसल्लाको फलेकले घर छाएका छन् । राहतस्वरूप पाएको दुई बन्डल जस्तापाताले गुप्सीपाखाको टहरो छाएका उनीहरूले पुरानो गाउँमा जस्तापाताको प्रयोग गरेका छैनन् ।

भूकम्पअघि पर्यटकीय गाउँका रूपमा विकास भएको लाप्राकलाई पुनः त्यो साख फर्काउन मौलिकता झल्कने घरहरू बनाइएको स्थानीयवासीले बताए । उनीहरूले बनाएका घर पुरानै शैलीका छन्। ती घर भूकम्पप्रतिरोधी छैनन्। लाप्राकीले बनाएका नयाँ घरमा सिमेन्टको प्रयोग गरिएको छैन । केही मानिस सिमेन्ट, बालुवा र छडको जोडाइले घर बनाउन चाहन्छन् । उनीहरूले अहिले घर बनाउन थालेका छैनन्, घडेरी नापजाँच गरेर राखेका छन्। ढुङ्गा, माटो र काठको जोडाइले नै भूकम्प प्रतिरोधी घर बनाउने गाउँलेको चाहना रहेको लाप्राक–२ का पुरबहादुर गुरुङको भनाइ छ ।

‘भत्केका घरको संरचना तह लगाइयो। बस्नयोग्य नयाँ घर बनाएँ,’ गुरुङले भने, ‘वन समितिले नयाँ काठ काट्न रोक्का लगायो । पुराना काठपात बटुलेर घर उभ्याएँ ।’ भूकम्पपछि गाउँबाट विस्थापित भई गुप्सीपाखाको शिविरमा बस्दै आएका लाप्राकीहरू अहिले घर बनाएर पूरानै गाउँमा बस्छन् ।

गुप्सीपाखामा पानीको अभाव छ भने बिहान, बेलुकी चिसो स्याँठ चल्छ । लाप्राक–२ का चामबहादुर गुरुङका अनुसार गुप्सीपाखा र रिञ्जिलुङ गाउँमा जस्तापाताले छाएको पक्की टहरा बनाइएका छन् । ‘लाप्राकीका दुईवटा घर हुने भयो,’ उनले भने, ‘हिउँदमा बेँसी झ¥यो, बर्खामा गुप्सीतिर बस्नुपर्ला ।’ ०५६ सालमा लाप्राक गाउँमुनि पहिरो गएपछि त्यसबेला पनि लाप्राकलाई अन्यत्र सार्न खोजिएको थियो । त्यसबेला पनि स्थानीयवासीले गाउँ छाड्न मानेनन् ।

भूकम्पपछि व्यवस्थित गाउँ बनाउने उद्देश्यले सरकारले गुप्सीपाखा लाप्राकीलाई दिने निर्णय गरेको छ । गाउँले सुरक्षित आवासका लागि गुप्सीपाखामा बस्न चाहन्छन् । भूकम्पपछि चिरा परेको जमिन, पानी परेपछि बग्ने हुँदा सुरक्षित बसोबासका लागि गुप्सीपाखा आवश्यक पर्ने लाप्राकीहरू तर्क गर्छन् । तर खेतीपाती, भेडाच्याङ्ग्रा पाल्न आवश्यक जग्गा गुप्सीपाखामा नहुँदा उनीहरू मर्कामा छन् ।

लाप्राक गुरुङ समुदायको बाक्लो बस्ती भएको गाउँ हो । यहाँका नौवटै वडा एकै गाउँमा छन् । गुरुङ समुदायको संस्कृतिमा धनी रहेको लाप्राकमा पछिल्लो समय विदेशी एवम् स्वदेशी पर्यटक घुम्नका लागि पुगेका थिए । पर्यटकको बसाइ बढाउन लाप्राकमा होमस्टे सञ्चालनको तयारी गरिएको थियो । ‘भूकम्पपछि गाउँको अवस्था सोधखोज गर्न पनि पर्यटक आउँछन’ – लाप्राकका हरिप्रसाद गुरुङले भने ‘होटल होइन होमस्टे प्रवद्र्धन गर्नुपर्छ ।’

प्रतिक्रिया