मुद्दा छोडेको छैन : दाहाल

बाँके, २२ फागुन । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूहरूले संविधान जारी गर्न सम्झौता गरे पनि जनताका मुद्दा नछोडेको दाबी गरेका छन् । शनिबार बाँकेको कोहलपुरमा थारू राष्ट्रिय मुक्ति मोर्चा, नेपालका नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै उनले यस्तो बताएका हुन् ।

दाहालले भने, ‘हाम्रो पार्टीले संविधानसभामा आधिकारिक रूपले आफ्नो फरक मतसहितको संशोधन प्रस्ताव दर्ता गरेर मात्र वर्तमान संविधानमा समर्थन गरेको हो ।’

उनले पार्टीले आफ्ना मतभेद, संशोधन राखेको र ती संशोधन र फरक मतको आधारमा अगाडि बढ्ने आधार रहेको बताए । संविधानमा केही धाराहरू जस्तो राष्ट्रिय अखण्डता, सार्वभौमिकता, जनतामा निहित सार्वभौमसत्तालगायत बाहेक अरू परिवर्तनीय रहेको उनको भनाइ थियो ।

उनले भने, ‘हामीले संझौता ग¥यौँ, संझौता गर्नु ठीक थियो कि थिएन । ठीक थियो । यदि संविधान नबनेको भए देश अग्रगमन तिर होइन पश्चगमन तिर जाने थियो । ठूलो दुर्घटना हुने थियो ।’

उनले पार्टी नेतृत्वले जनयुद्धमा र शान्ति प्रक्रियामा जस्तै संविधान निर्माणमा पनि निकै ठूलो जोखिम लिएको बताए । पहिलो संविधानसभाबाट संविधान बनाउन नसक्दा माओवादीलाई ठूलो नोक्सानी भएको अध्यक्ष दाहालको भनाइ थियो ।

प्रतिक्रिया