‘सरकार परिवर्तन होइन विस्तार हुन्छ’

KP_Oli copyकाठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालको पहल र अडानका कारण नयाँ संविधान बनेकाले संविधान कार्यान्वयनको अगुवाइ पनि यसैले गर्ने बताएका छन् । सुखानीका सहिदको ४३औँ स्मृति दिवसका सन्दर्भमा एमाले काठमाडौं जिल्ला कमिटीद्वारा शुक्रबार आयोजित ‘सहिदको सपना र समृद्ध नेपाल’ विषयक विचार गोष्ठीमा प्रधानमन्त्री ओलीले कांग्रेसको महाधिवेशनतर्फ लक्ष्यित गर्दै संविधानको कार्यान्वयन गर्न बाँकी भन्दै केही उम्मेदवारले मत मागेको सन्दर्भमा अलमलमा पर्नुपर्ने आवश्यकता नरहेको आफ्ना कार्यकर्तालाई स्पष्ट गरे ।

उनले भने, ‘संविधान बनाउन एमालेको पहल र दृढ अडानबाट संविधान बनेको हो । यो सबैलाई थाहा छ । कांग्रेसको महाधिवेशनपछि सरकार परिवर्तन हुन्छ पनि भनिएको छ । त्यो भाषा मिलेन । कुरा के हो भने महाधिवेशनपछि सरकार विस्तार हुन्छ । कांग्रेस पनि सरकारमा आउँछ तर आएन भने पनि लोकतान्त्रिक विधिअनुसार सरकार अघि बढ्छ ।’ सरकारले पुनर्निर्माणको अभियान सुरु गरिसकेको र अघोषित नाकाबन्दीबाट मुलुकलाई पार लगाउन थालेको सन्दर्भमा सरकारबारेमा भ्रममा नपर्न आग्रह गर्दै उनले जनताले एमालेप्रति विश्वास बढाउँदै आएकाले देशव्यापी प्रवेशको लहर बढ्ने विश्वास  व्यक्त गरे ।

उनले एमाले ऊर्जा विकासलगायतका कामबाट देश बनाउने संकल्पमा रहेकाले सबै पार्टीबाट प्रवेशका लागि आह्वान गर्दै अब चर्का कुरा गर्ने, विध्वंश मच्चाउने र अलमलमा पर्नुपर्ने कुनै आवश्यकता नरहेको जनाए । वर्तमान सरकारलाई मजबुत बनाउनुपर्ने र अबको निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

‘केही व्यक्तिले नाकाबन्दीले निस्सासिएर वा छिमेकीको सम्बन्ध बिग्रिएर यो सरकार ढल्छ भन्न थालेका थिए तर छिमेकीसँगको सम्बन्ध सुधारले विरोधीलाई छटपटि भएको हुन सक्छ,’ उनले भने, ‘एमालेको मन लिएर अर्काे पार्टीमा बसेका र मुलुक बनाउने पक्षमा रहेका सबैलाई गाउँगाउँमा गएर एमालेमा फर्काउन म आह्वान गर्दछु ।’

एमालेका अध्यक्षसमेत रहेका ओलीले नेपालमा कम्युनिस्ट पार्टीको स्थापनासँगै गणतन्त्र, राष्ट्रिय एकता र जाति, भाषा, धर्मको सम्मान तथा समान अधिकारको आवाज उठाउँदै आएकामा ०२७ देखि झापाबाट गणतन्त्र स्थापनाको स्पष्ट लक्ष्यसहित गरिएको आन्दोलन अहिले पूरा भएको बताए । उनले भने, ‘विभाजित कम्युनिस्ट समूह र घटकलाई एउटै मोर्चामा ल्याउने अभियान त्यहीँबाट सुरु भयो, जुन आज पनि जारी छ । कम्युनिस्ट पार्टीका नाममा विभाजित भएर जानु वा एकमुष्ट विचार प्रस्तुत गर्न नसक्नु हाम्रा कमजोरी थिए । अहिले वामपन्थी आन्दोलनकै धारबाट संसद्बाट निर्वाचित राष्ट्रपति र सरकारको नेतृत्वमा पुगेको छ । विचार, संगठन र आन्दोलनलाई पुनःगठन गर्दै अघि बढेको यो आन्दोलनलाई अगुवाइ गर्ने ठाउँमा एमाले आइपुगेको छ ।’

हरेक २१ फागुनको दिन नेपाली राजनीतिको सहादतको इतिहासमा विशेष महत्व रहेको भन्दै उनले राजतन्त्रको विरोध र लोकतान्त्रिक गणतन्त्रको आन्दोलन सञ्चालन गर्दा जेलबाट निकालेर पञ्चायती सरकारले विरोधीहरूलाई गोली हानेर त्रूmरतापूर्वक हत्या गरिएका घटना साधारण नभएको टिप्पणी गरे । भीमदत्त पन्त, दुर्गानन्द झा, ऋषि देवकोटा आजादलगायत झापा आन्दोलनका योद्धालाई आफ्नो सरकारले निर्विवादरूपमा सहिदका रूपमा घोषणाको निर्णय गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने ‘देश र जनताका लागि जीवन आहुति दिनेलाई सम्मान हुन्छ भन्ने कुराको झलक हो । अन्य सहिदको पहिचानको काम पनि भइरहेको छ ।’

पञ्चायतको विरोधमा लागेको आरोपमा तत्कालीन सरकारले रामनाथ ढकाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायणप्रसाद श्रेष्ठ, वीरेन राजवंंशीलाई ०२९ फागुन २१ गते जेल सार्ने निहुँमा झापा र इलामबीचको सुखानी जंगलमा हत्या गरेको थियो । एमालेले उनीहरूको स्मृतिमा हरेक वर्ष सहिद दिवस मनाउँदै आएको थियो । नेपाल सरकारले यही फागुन १९ गते ती ५ सहित विभिन्न समयका योद्धालाई सहिद घोषणा गरेको थियो ।

कार्यक्रममा सहिद नेत्र घिमिरेकी धर्मपत्नी तथा सांसद जीवन घिमिरेले सुखानीका सहिदको बलिदानीप्रति सम्मान दर्शाउन सरकारले सहिद घोषणा गरेकामा आभार व्यक्त गरिन् ।

प्रतिक्रिया