यमनमा भएको आक्रमणको राष्ट्रसंघद्वारा छानबिन माग

संयुक्त राष्ट्रसंघ, १७ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले यमनमा शनिबार भएको हवाई हमलाको सत्य तथ्य छानबीन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

यमनको एक व्यस्त बजारमा भएको सो आक्रमणमा परी कम्तीमा पनि ३२ जनाको ज्यान गएको थियो । सो आक्रमणको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । उनले सोमबार निकालेको विज्ञप्तिमा सो आक्रमणको निन्दागर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका थिए ।

खोलेक बजारमा भएको सो हमलाको जिम्मेवारी कसैले नलिएको यमनी अधिकारीहरूले जनाएका छन् । उनीहरूले सो विषयको खोजी गरिरहेको भए पनि आक्रमण कसले गरेको हो भन्ने बारेमा भने केही पत्ता नलागेको बताएका छन् । यमनमा यसअघि पनि साउदी अरेबियाको नेतृत्वको सेनाले हवाई आक्रमण गर्ने गरेको थियो । सो आक्रमणबाट सयौं व्यक्तिको ज्यान गएको थियो ।

उक्त आक्रमणको पनि संयुक्त राष्ट्रसंघले विरोध गरेको छ । यस्ता कुनै पनि खालका र कुनै पनि समूह वा पक्षले गर्ने गरेका हमलाबाट नागरिकको ज्यान जाने काम तत्कालै रोक्नुपर्नेमा जोड दिइएको छ ।

यमनमा त्यहाँका हुथी विद्रोहीहरूले सरकारका विरुद्धमा सुरु गरेको हिंसाका क्रममा सयौं नागरिक मारिएका छन् । पछिल्लो समयमा त्यहाँ निस्किएका विभिन्न आतंककारी संगठनका कारण पनि नागरिक हताहतिको संख्या बढ्दो मात्रामा रहेको देखिन्छ ।

प्रतिक्रिया