एकअर्काको बाटो कुर्दै देउवा र पौडेल

Congress-flag_308312814 copyकाठमाडौं, १७ फागुन । कांग्रेसको १३औँ महाधिवेशनमा सभापतिका लागि आधा दर्जन उम्मेदवारको चर्चा गरिए पनि अहिलेसम्म कसैले औपचारिक घोषणा गरेका छैनन् । महाधिवेशनको उद्घाटन हुन २ दिन बाँकी रहँदासमेत चर्चामा रहेका सबैजसोले एकअर्काको बाटो हेर्दा औपचारिक घोषणामा ढिलाई भएको कांग्रेस श्रोतले बताएको छ ।

सभापतिमा लड्ने भन्दै नेताहरूले आफ्ना कार्यकर्ताबीच सहयोग गर्न आग्रह भने गर्ने गरेका छन् । कार्यबाहक सभापति रामचन्द्र पौडेलले आपूm सभापति पदमा उम्मेदवारी दिने भनी आपनो निवास बोहोराटारदेखि अन्य भेटघाटमा प्रचार गर्ने गरेका छन् ।

वरिष्ठ नेता शेरबहादुर देउवाले पनि अब आपूm पार्टीको नेतृत्व गर्न तयार रहेको भन्दै सहयोगको लागि आग्रह गर्ने गरेका छन् । देउवालाई भेट्न उनको पक्षका नेता तथा कार्यकर्ता उनकै निवास बुढानीलकण्ठसम्म पुग्ने गरेका छन् । पौडेल र देउवाले आआफ्नो प्यानल बनाएर उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेको बताइएको छ । संस्थापनपक्षबाट कार्यवाहक सभापति पौडेलले कोइराला परिवारबाट बिपी पुत्र शशांक कोइरालालाई महामन्त्री बनाउने सोचाइ बनाएका छन । तर, कोइराला परिवारका अन्य नेताहरूले पनि ठोस निर्णय गरिनसकेको कारण पौडेलले निर्णयलाई पूर्णता दिन सकेका छैनन् ।

देउवा र पौडेलले एकले अर्कालाई पर्खेका छन् । देउवाले पौडेलले सार्वजनिक गरेपछि मात्रै आफनो प्यानल घोषणा गर्ने सोचाइ बनाएका छन् भने पौडेलेको पनि देउवाले प्यानल घोषणा गरेपछि मात्रै आफ्नो प्यानल घोषणा गर्ने सोचाइ बनाएको उनीहरूका नजिकका नेताहरूले बताएका छन् ।

यता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालकी नेतृ इन्दु थापा काठमाडौं क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि चयन भएको बुझिएको छ । नयाँ बानेश्वरकी सम्पन्न परिवारकी थापाले प्रसस्त पैसा खर्च गरेर महाधिवेशन प्रतिनिधि चयन भएको दाबी गरिएको छ ।

संघीय समाजवादी पार्टीमा रहँदा उनलाई काठमाडौं क्षेत्र नम्बर १ को जिम्मेवारी दिइएको थियो । संघीय समाजवादी र मधेसी जनअधिकार फोरम नेपालबीच पार्टी एकीकरण भएपछि थापा सोही पार्टीमा सक्रिय थिइन् । तर, अहिले उनी कांग्रेसको राजनीतिमा सक्रिय भएकी छिन् ।

थापा दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट संघीय समाजवादी फोरम नेपालको समानुपातिक उम्मेदवार बनेकी थिइन् । उनलाई संघीय समाजवादी फोरम नेपालले अहिले पनि आफ्नो नेतृका रूपमा स्वीकार गर्ने गरेको छ । थापा संघीय समाजवादी फोरम नेपालले पेस गरेको बन्द सूचीको क्रमसंख्या २३५ को उम्मेदवार क्रम संख्या २३९ मा उनको नाम उल्लेख छ ।

त्यसैगरी नेपाली कांग्रेसको महाधिवेशनका प्रतिनिधि तथा पर्यवेक्षकका लागि आवासको व्यवस्था गर्न होटल बुकिङ गर्न थालिएको छ । कांग्रेसको अर्थसमिति र भोजन समितिका सदस्यहरूको संयुक्त टोलीले आवासका लागि होटलको बुकिङ सुरु गरेको र भोजनका लागि भने टेन्डर आह्वान गरिएकाले मंगलबारसम्ममा ठेकेदारको टुंगो लाग्ने समितिले  जनाएको छ ।

समितिका संयोजक तथा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले अर्थ समितिसँग छलफल गरेर होटल बुकिङका लागि सुरुमा दिनुपर्ने केही रकम माग गरिएको बताएका छन ।

अघिल्लो महाधिवेशनमा आवास तथा भोजनका लागि ६६ लाख खर्च भएकोमा यसपटक त्योभन्दा केही बढी खर्च लाग्ने समितिका संयोजक केसीले अनुमान गरेका छन । यही फागुन २० देखि २३ गतेसम्म हुने महाधिवेशनका लागि झन्डै ३ हजार ३ सय प्रतिनिधि बाहेक पाहुना, पर्यवेक्षक, सहयोगीलगायत गरेर झन्डै ४ हजार जनालाई भोजन तथा आवासका लागि समितिले तयारी गरिरहेको छ । समितिले काठमाडौंको सुन्धारा, बागबजार, ठमेल, गौशालालगायतका क्षेत्रका होटलमा आवासको व्यवस्था मिलाउन लागेको छ ।

चिनिया“ राष्ट्रपतिलाई पनि निम्तो

काठमाडौं । कांग्रेसको १३औँ महाधिवेशनको उदघाटन सत्रमा चीनका राष्ट्रपतिलगायत दर्जनौँ विदेशी विशिष्ट अतिथिलाई निमन्त्रणा गरिएको छ ।

महाधिवेशनको उद्घाटनसत्र २० फागुनमा खुलामञ्चमा आयोजना हुँदै छ । सो समारोहमा भाग लिन सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, नेता तथा गृहमन्त्री राजनाथ सिंह, नेत्री तथा विदेशमन्त्री सुष्मा स्वराज, भाजपा नेता भगतसिंह कोसियारी तथा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष सोनिया गान्धी, उपाध्यक्ष राहुल गान्धीलगायत नेतालाई निमन्त्रणा गरिएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव एवं राष्ट्रपति सि जिनपिङ र पार्टीका केन्द्रीय सदस्य एवं अन्तर्राष्ट्रिय विभागमन्त्री सोङ ताओलाई पनि महाधिवेशनको उद्घाटन सत्रमा भाग लिनका लागि निमन्त्रणा पठाइएको कांग्रेस विदेश विभागका प्रमुख सुजाता कोइरालाले जानकारी दिइन् ।

यसैगरी भारतीय बहुजन समाज पार्टीका अध्यक्ष कुमारी मायावती, भाकपा (माक्र्सवादी)का महासचिव सीताराम यचुरी, राष्ट्रवादी कांग्रेस पार्टीका अध्यक्ष शरद पवार, महासचिव डिपी त्रिपाठी र भाकपाका महासचिव शुभराम सुधकर रेडीलाई आमन्त्रण गरिएको छ ।

यस्तै भारत उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादव, विहारका मुख्यमन्त्री नीतिश कुमार, उत्तराखण्डका मुख्यमन्त्री हरीश रावत, बंगालका मुख्यमन्त्री ममता बनर्जी, दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल, राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव, समाजवादी पार्टीका अध्यक्ष मुलायम सिंह र जनता दल (युनाइटेड)का अध्यक्ष शरद यादवलाई निमन्त्रणा गरिएको कोइरालाले बताइन् ।

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ्साङ सुकी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष जर्ज पपन्द्रेयु र महासचिव लुइस आयलालाई पनि महाधिवेशनको उद्घाटन सत्रमा निमन्त्रणा गरिएको छ । उद्घाटन सत्रमा बंगलादेश, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, माल्दिभ्स, भुटानलगायत देशका नेतालाई समेत आमन्त्रण गरिएको छ ।

प्रतिक्रिया