काठमाडौं, १२ फागुन । राजधानीको बौद्ध, टुसालस्थित तारागाउँ म्युजियममा मंगलबारबाट ०४६ यताको कार्टुन प्रदर्शनी सुरु भएको छ । ‘नेपाल कार्टुनिस्ट क्लब’को संयोजन तथा ‘नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान’ र ‘तारागाउँ म्युजियम’को सहकार्यमा कार्टुनहरूको प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा राखिएका कार्टुनले तत्कालीन नेपाली राजनीति, समाज र संस्कृतिको इतिहास, राजनीतिक परिवर्तनमा कार्टुनको भूमिकालगायतका विषयमा स्पष्ट पार्छन् ।
प्रदर्शनीमा शशी शाह, कुलमानसिंह भण्डारी, दुर्गा बराल ‘वात्स्यायन’, रमेशनाथ पाण्डे, प्रा. रामकुमार पाँडे, टेकवीर मुखियाले ०२५ सालअघि बनाएका कार्टुन मुख्य आकर्षणमा छन् । त्यस्तै पञ्चायती व्यवस्थाको समयमा उज्ज्वल कुन्दन ज्यापू, बलराम थापालगायतले बनाएका कार्टुनले नेपाली समाजको तत्कालीन अवस्थाको चित्रण गर्छन् ।
प्रदर्शनीको सन्दर्भ पारेर प्रदर्शनीमा राखिएका कार्टुनसहितको कार्टुनको नालीबेली समेटिएको ‘नेपाली कार्टुनको एउटा कालखण्ड’ पुस्तकसमेत सार्वजनिक गरिएको छ ।
कार्यक्रममा नेपाली छापामाध्यममा पहिलोपटक कार्टुन प्रकाशित गरेका गोवद्र्धनविक्रम शाहले जानी नजानी बनाएको कार्टुन पनि पहिलो हुन पुगेको स्मरण गर्दै कार्टुनको भविष्य राम्रो रहेको बताए । त्यस्तै, पूर्वमन्त्री तथा नयाँ सन्देश साप्ताहिकका सम्पादक रमेशनाथ पाण्डेले आपूmले पत्रकारिता गर्दा कार्टुनिस्टको अभावमा आपैmँले कार्टुन बनाएको स्मरण गर्दै अहिलेको अवस्थामा कार्टुन पत्रकारिताको अभिन्न अंग बन्न पुगेको बताए । उनले विश्वमा सामाजिक व्यंग्यका रूपमा सन् १७४० देखि सुरू भएको कार्टुन विधाले विसं १९१४ बाट भने राजनीतिक व्यवस्थालाई पनि व्यंग गर्न थालेको जानकारी दिए ।
यसैबीच व्यंग्य लेखक तथा कार्टुनिस्ट रामकुमार पाँडेले आफ्नो समयमा कार्टुनिस्टहरूको कमी रहेको र कलाकारलाई आग्रह गरेर कार्टुन बनाउन अनुरोध गर्ने परम्परा आजका दिनमा व्यावसायिक कार्टुनिस्टहरूले तोडेको बताए ।
प्रदर्शनीमा चन्द्रमानसिंह मास्के, शशी शाह, कुलमानसिंह भण्डारी, रामकुमार पाँडे, दुर्गा बराल ‘वात्स्यायन’ उज्ज्वल कुन्दन ज्यापु, रमेशनाथ पाण्डे, मोदनाथ प्रश्रित, मनुजबाबु मिश्र, मदन चित्रकार, सुरेन्द्रराज भट्टराई, शरद रञ्जित, अशोकमान सिंह, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, किरण मानन्धर, सुवास क्षितिजलगायत ४९ जनाका १ सय ३० भन्दा बढी कार्टुन राखिएका छन् । प्रदर्शनी २० फागुनसम्म चल्नेछ ।
प्रतिक्रिया