“भाग् सानी भाग्”को प्रचारटोली पोखरामा

1 copyकाठमाडौं, १२ फागुन । चलचित्र ‘भाग् सानी भाग्’ को प्रचारमा उक्त फिल्मको युनिट पोखरा पुगेको छ । चलचित्र प्रचारका लागि पोखरा पुगेका नायक सविन श्रेष्ठ, नायिका केकी अधिकारीलगायतले प्रचारको छुट्टै शैली अपनाएका छन् । निर्माता शहदेव गौतम, कार्यकारी निर्माता चेतन सापकोटा र निर्देशक नवल नेपाल पनि भाग्दै (दौडदै) पत्रकार सम्मेलनमा पुगेका हुन् ।

महेन्द्र पुल चोकमा राखिएको पत्रकार सम्मेलनमा चलचित्रको युनिट दर्शकसँग नाच्दै र भाग्दै पुगेका थिए । पत्रकार सम्मेलनस्थलभन्दा करिब सय मिटर अगाडिको दुरीबाट उनीहरू दौडेर पुगेका थिए । दौडेर पुगेर कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले यो चलचित्र आफ्ना अघिल्ला चलचित्रभन्दा फरक रहेको बताइन् । उनले यो चलचित्रमा पश्चिमेली लबजमा बोलेको भन्दै दर्शकले प्रशस्त हाँस्न सक्ने बताएकी छन् । चलचित्रका कार्यकारी निर्माता चेतन सापकोटाले यसमा पूर्वका नायक र पश्चिमकी नायिका भएको भन्दै दर्शकमाझ पुगेरै प्रचार गरेको बताए ।

निर्देशक नवल नेपालले यसअगाडिका चलचित्रमा आफूले दर्शक रुवाएको भन्दै यसमा हँसाएको बताए । ५ चैतबाट चल्ने यो चलचित्रको ट्रेलरलाई रुचाइएको छ । चलचित्रको युनिट अहिले प्रचारका लागि देश दौडाहामा छ ।

प्रतिक्रिया