तारा एअरको विमान दुर्घटना : २३ जनाको मृत्यु

tara airकाठमाडौं, १२ फागुन । बुधबार बिहान पोखराबाट जोमसोमका लागि उडेको कल साइन ९एन–एएचएच भएको तारा एयरको विमान दुर्घटनामा परेको छ । सो विमानमा सवार चालक दलका ३ सदस्य र २० यात्रु सबैको मृत्यु भएको पुष्टि भएको छ । तारा एयरले विमानमा यात्रु र चालक दलका सदस्यहरू गरी २३ जना सवार रहेको बताएको छ । विमानमा सवार सबैको मृत्यु भएको म्याग्दीका जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिए । ‘जहाज दुर्घटनास्थल दाना गाविसको टिकेढुंगामा जहाज टुक्रा टुक्रा अवस्थामा भेटिएको छ,’ खड्काले भने, ‘त्यसमा सवार यात्रुहरू कोही पनि सकुशल छैनन् ।’ शव चिन्नै नसकिने अवस्थामा रहेको उनले बताए ।

पर्यटनमन्त्री आनन्द पोखरेलले पनि विमानमा भएका सबै यात्रु जलेर मृत्यु भएको बताए । सो विमानको चालक दलमा पाइलट रोशन मानन्धर, को–पाइलट दिकेश नेमकुल र एयर होस्टेज रमा राउत थिए । नेमकुल ललितपुर पाटन निवासी हुन् भने रमा कुलेश्वरकी हुन् । २९ वर्षीय नेमकुलले एक वर्षअघि मात्र तारा एयरमा काम थालेका थिए ।

नागरिक उड्डयन कार्यालय पोखराका प्रशासकीय अधिकृत काशीनाथ पौडेलका अनुसार विमानमा कास्कीका रेवती बराल र मुक्तिनाथ वास्तोला, मुस्ताङकी विनिता भट्टचन, कृष्णलाल भट्टचन, दिलकुमारी गौचन, लक्ष्मी हिराचन र कान्छा परियार समार थियो । त्यस्तै, अन्य यात्रुमा मोतीबहादुर केसी, पासाङ लामा, बालकृष्ण न्याउरे, डोल्मा तासिङ शेर्पा, राजकुमारी तामाङ, कमला थकाली, चिनियाँ नागरिक माक्सुइद, कुवेतका अहमद रसिद रहेका छन् ।

हिमपातका कारण दुर्घटनास्थलबाट नेपाली सेना र प्रहरी टोली बुधबार साँझ फर्केको छ । मौसम खराब भएपछि शव संकलन गरेर हेलिकप्टरबाट पोखरा ल्याउने योजना असफल भएको हो । हिमपात, खराव मौसम र अग्लो ठाउँमा हेलिकोप्टर उडाउन कठिन भएपछि शव संकलन गरेर ल्याउन नसकिएको सुरक्षा अधिकारीहरूले जानकारी दिएका छन् ।

घटनास्थल १९ हजार फिटमाथि रहेको र हिमपात भएका कारण समस्या भएको हो । पोखरा विमानस्थलका प्रमुख दीपक बरालले भने, ‘हिमाल आरोहीहरू (माउन्टेन क्लाइमर्स) ल्याएर मात्रै रेस्क्यु गर्नुपर्ने देखियो ।’ उनले आवश्यक तयारीपछि बिहीबारसम्ममा शव संकलन गरेर पोखरा ल्याइने जानकारी दिए ।

जहाज विश्वका अत्यन्त दुर्गम र प्रतिकूल वातावरण शून्य डिग्री तापक्रमको अन्टाकर्टिका, उत्तरी अफ्रिकाको उच्च तापमानको मरुभूमि एवं इन्डियन महासागरको पानीमाथिदेखि हिमालयका पहाडी भेगहरूमा उडान भर्ने क्षमताले भरिपूर्ण रहेको जहाज ल्याउँदा ताराले दाबी गरेको थियो ।

तारा एयरले क्रमैसँग आफ्नो सम्पूर्ण ३०० सिरिज र डोर्नियर डिओ २२८÷२१२ विमानहरूलाई नयाँ भाइकिङ सिरिज ४०० विमानले प्रतिस्थापन गर्दै लैजाने योजना बनाएको छ । उसले सन् १९९८ देखि दुर्गम गन्तव्यहरूमा हवाइ सेवा प्रदान गर्दै आएको छ ।

अत्याधुनिक विमान
बुधबार बेपत्ता भएको कल साइन ९एन–एएचएच विमान तारा एयरले गत ९ असोजमा नेपाल ल्याएको थियो । भाइकिङ डिएचसी ६–४०० सिरिजको यो ट्वीनअटर विमान उत्तर क्यानडामा बनेको हो । यो जहाजले छोटो उडान र अवतरण (स्टल) धावनमार्ग भएका दुर्गम गन्तव्यहरू लुक्ला, फाप्लु, जोमसोम, डोल्पा, रारा र सिमिकोटमा उडान भर्दै आइरहेको थियो ।

दुर्घटनामा परेको जहाज आधुनिक प्रविधिले सुसज्जित भएको हुँदा सुरक्षित रहेको कम्पनीको दाबी थियो । स्टल जहाजमा यो सिरिज सबैभन्दा उत्कृष्ट भएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आधुनिक एभियोनिक्स प्रणाली रहेको यस जहाजमा मौसमको अवस्था देखाउने ‘कलर वेदर रिडर’ प्रविधि जडान गरिएको थियो । साथै, जहाज र जमिनबीचको दुरी नाप्ने (इजिपिडब्लुएस) यन्त्रका साथै आकाशमा हुन सक्ने ट्राफिक दुर्घटनाको संकेत दिने (टिसिएएस) प्रणाली पनि यसमा थियो ।

तारा एयरका अनुभवी र पुराना पाइलट रोशनले नै कल साइन ९एन–एएचएच विमान गत असोजमा क्यानडाबाट काठमाडौंसम्म उडाएर ल्याएका थिए । आफैँले उडाएर नेपालसम्म ल्याएको ट्वीनअटर जहाजले बुधबार उनैको ज्यान लियो । विमान दुर्घटना हुनासाथ धेरैले ‘नेपालमा थोत्रा जहाज उड्छन् त्यसैले दुर्घटना हुन्छ’ भन्ने टिप्पणी गरे । तर, यो जहाज अत्याधुनिक र केही महिना पहिले मात्र उडान थालेको नयाँ जहाज थियो । तारा एयरले गत ९ असोजमा यो विमान नेपाल ल्याएको थियो ।

छानबिन आयोग गठन
तारा एयरको विमान दुर्घटनाबारे छानबिन गर्न सरकारले आयोग बनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको अध्यक्षमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

आयोगको सदस्यमा महासेनानी दीपक बास्तोला, क्याप्टेन श्रवण रिजाल, वरिष्ठ इन्जिनियर रामप्रसाद कोइराला छन् । सदस्यसचिवमा मन्त्रालयका सहसचिव सुरेश आचार्य तोकिएका छन् । आयोगलाई दुर्घटनाका कारण पत्ता लगाउन र भविष्यमा यस्ता घटना हुन नदिन सुझाव दिन भनिएको छ ।

नेपाली आकाशमा ५९ दुर्घटना
अन्तर्राष्ट्रिय हवाइ दुर्घटना अभिलेखालयको तथ्यांकअनुसार नेपाली आकाशमा भएको यो जहाज दुर्घटना ५९औँ हो । यसअघि ५८ वटा डरलाग्दा हवाइ दुर्घटनाहरू नेपालले बेहोरिसकेको छ । नेपालमा एकै दिन २ वटासम्म हवाइ दुर्घटना भए । एउटै वर्ष २ वटा विदेशी विमान दुर्घटनामा परेर २ सय ८० जनाले ज्यान गुमाए ।

अहिलेसम्म नेपालमा साना ठूला गरी ५९ हवाइ दुर्घटना भइसकेका छन् । यी दुर्घटनाबाट ७ सय ३७ जनाले ज्यान गुमाएका छन् । तथ्यांकमा हेलिकप्टर र अल्ट्रालाइट दुर्घटना समावेश गरिएको छैन ।

नेपालमा हवाइ दुर्घटनाको इतिहास डरलाग्दो छ । पछिल्लो समय केही कम दुर्घटना भए पनि पूर्णरूपमा भने रोकिएको छैन । त्यसैले युरोपेली युनियनले नेपाली उड्डयन क्षेत्रलाई ३ वर्षदेखि कालोसूचीमा राखेको छ ।

नेपालमा पहिलोपटक ०३ साल २५ वैशाखमा पहिलोपटक हवाइ दुर्घटना भएको थियो । रोयल फोर्सको उक्त जहाजमा १४ जना सैनिक र २ जना पाइलट रहे पनि मानवीय क्षति भएको थिएन ।

दोस्रोपटक ०१२ भदौ १४ गते कलिंगा एयरको कार्गो विमान सिमरामा दुर्घटनाग्रस्त हुँदा मानवीय क्षति भएको थियो । उक्त दुर्घटनामा ३३ जनामध्ये १५ जनाको निधन भएको थियो । त्यसपछिका अधिकांश दुर्घटनामा मानवीय क्षति हुँदै आएको छ । नेपालमा सन् १९९९ मा एकै वर्ष ४ वटा हवाइ दुर्घटना भएको थियो ।

४ वटा दुर्घटनामा परेर ३५ जनाले ज्यान गुमाएका थिए । एउटै वर्षमा २ वटा हवाइ दुर्घटना भएका धेरै उदाहरण छन् ।

नेपालमा हुने हवाइ दुर्घटनामा भौगोलिक, मानवीय तथा प्राविधिक गरी ३ वटा मुख्य कारण रहेको विज्ञहरूको भनाइ छ । ३ कारणमध्ये सबैभन्दा बढी मानवीय त्रुटीले हवाइ दुर्घटना हुने गरेको प्रतिवेदनहरूले खुलाएको छ ।

प्रतिक्रिया