अन्योलमा ब्यारेक पुनर्निर्माण

काठमाडौं, ११ फागुन । बजेट अभावमा भूकम्पले क्षतिग्रस्त भएका नेपाली सेनाका ब्यारेक पुनर्निर्माण अन्योलमा परेको छ ।

नेपाली सेनाका अधिकारीहरूले दिएको तथ्यांक अनुसार भूकम्पमा १ हजार १ सय ९ वटा ब्यारेक र कार्यालयहरू भत्किएका छन् । ती भवन बनाउन सरकारले बजेट नदिँदा हतियारको समेत सुरक्षा गर्न कठिनाइ उत्पन्न भएको सैनिक श्रोतले बताएको छ ।

त्यसो त नेपाली सेनाले भूकम्प आउनुभन्दा अगाडि पनि सरकारसँग मागेजति बजेट नपाइएको गुनासो गर्दै आएको हो । तर, भूकम्पपछि सेनाले झनै बढी चित्त दुखाएको छ ।

बास बस्ने अधिकांश भवन भूकम्पले ध्वस्त बनाएपछि सिपाहीहरू बस्ने भवन मात्रै होइन, मुख्यालयमा रहेको प्रधासेनापतिको कार्यलयसमेत अस्थायी भवनबाटै चलिरहेको छ ।

भद्रकालीस्थित जंगी अड्डाको भवन भूकम्पले क्षतिग्रस्त बनाएपछि प्रधानसेनापतिका लागि नजिकै अर्को अस्थायी भवन बनाइएको छ । सैनिक प्रवक्ता सहायक रथी ताराबहादुर कार्की भन्छन्न्, ‘सेनासँग मुख्यालय बनाउने बजेट छैन, प्रधानसेनापतिको कार्यलयसमेत अस्थायी भवनमा राखिएको छ ।’

सेनाले भूकम्पबाट क्षतिग्रस्त भएका आफ्ना भौतिक संरचनाको विवरण र त्यसको मर्मत तथा पुनर्निर्माणमा लाग्ने बजेटसहितको विवरण रक्षा मन्त्रालयमा पठाइसकेको छ । त्यसमा सेनाले प्राथमिकताका आधारहरू समेत स्पष्ट पारेको छ । तर, मन्त्रालयले भने अहिलेसम्म सेनालाई कुनै प्रतिक्रिया दिएको छैन ।

सेनाले आफ्ना भत्किएका संरचनाहरू बनाउन ५ अर्ब रुपैयाँ माग गरेको छ । तर, पुनर्निर्माण प्राधिकरण गठन गर्नसमेत महिनौँ लगाएको सरकारले टहरामा बसिरहेका सैनिकलाई कहिले ब्यारेक बनाइदिन्छ भन्ने ठेगान छैन ।

यसबीचमा सरकारका सरोकारवाला निकायहरूसँग छलफल भइरहेको भए पनि ठोस निर्णय आउन नसकेको सैनिक प्रवक्ता कार्कीले बताए ।

सेनाका हरेक ब्यारेकहरूमा आधुनिक हतियारदेखि अन्य महत्वपूर्ण विस्फोटक सामग्रीसमेत राखिएका हुन्छन् । तर, भूकम्पपछि भत्किएका संरचनाहरू बनाउन सरकारले ध्यान नदिँदा ती ब्यारेकहरूमा राखिएका हतियारलगायतका महत्वपूर्ण सामानहरूको सुरक्षामा समेत समस्या पर्ने गरेको सहायक रथी कार्कीले बताए ।
सहायक रथी कार्की भन्छन् ‘सेना महत्वपूर्ण सुरक्षा संगठन भएकाले उसका हरेक ब्यारेकहरूमा संवेदनशील वस्तुहरू राखिएका हुन्छन् । त्यसैले पनि सैनिक संरचना जतिसक्दो छिटो बनाउन जरुरी छ ।’

आगामी दिनमा अन्य विपत्तिमा समेत खटाउनुपर्ने सेनाका जवानहरूलाई लामो समयसम्म ब्यारेक बाहिर राख्नु उपयुक्त नहुने कार्की बताउँछन् । भूकम्पले क्षति पु¥याएकामध्ये पनि ३ सय ७२ वटा भवन पूर्णरूपमा क्षति भएका छन् भने ७ सय ३७ वटा आंशिकरूपमा क्षतिग्रस्त भएका छन् । पुनर्निर्माण गर्नुपर्ने ३ सय ७२ भवन मर्मत गरेर बस्न सकिने अवस्थामा रहे पनि बजेटको अभावमा बनाउन नसकिएको प्रवक्ता कार्कीले बताए । विषेश गरेर धादिङ, नुवाकोट, गोरखा, काभे्र, सिन्धुपाल्चोकलगायतका जिल्लाका अधिकांश सैनिक भवनहरू क्षतिग्रस्त भएका छन् ।

ती क्षेत्रमा खटिने अधिकांश जवानहरू अस्थायी टहरा र पालहरूमा बसेर काम चलाइरहेका छन् । कतिपय कार्यलयहरू भत्किएका छन् भने कतिपय ब्यारेक काम नलाग्ने अवस्थामा पुगेका छन् । सेनाले सानोतिनो संरचना भने आपैmँले बनाएर काम चलाइरहेको छ ।

प्रतिक्रिया