सुशीलको अभियान : ‘नमुना बाख्रा गाउँ’

काठमाडौं, ८ फागुन । स्याङ्जा–४ वालिङका सुशील अर्याल ०७१ मंसिरदेखि नमुना बाख्रा गाउँ अभियानमा लागेका छन् । करिब ६५ प्रतिशत जनता कृषिमा आश्रित रहे पनि कृषिको व्यावसायिक विकास हुन सकेको छैन । कृषिलाई व्यावसायिक गराउनुपर्ने मान्यतासहित वालिङलाई नमुना बाख्रा गाउँ बनाउन अर्याल दिनरात खटिइरहेका छन् ।

३० लाखभन्दा बढी युवा खाडी मुलुकमा र ३५ लाखभन्दा बढी युवा भारतीय भूमिमा गई परिश्रम गर्न बाध्य भएको अवस्थामा गाउँमा नै रोजगारी सिर्जना गरी आर्यआर्जन गर्न सकिन्छ भन्दै अर्याल यो अभियानमा लागेको बताउँछन् । भौगोलिक बनावटको हिसाबले पनि कृषि, पर्यटन, जलविद्युत्लगायत क्षेत्रमा व्यवसाय गर्न उपयुक्त रहेको उनको तर्क छ । अन्य क्षेत्रभन्दा पनि आधुनिक सीप, साधन र स्रोतको प्रयोग गर्दै व्यवसायमुखी कृषि गर्नसके मात्र देशलाई समुन्नतीको बाटोमा लैजान सक्ने उनको धारणा छ ।

पुरानै शैलीबाट आधुनिक पद्धतिमा जान नसक्दा अहिले भने ६५ प्रतिशत जनताले अँगालेको पेसाबाट खान नपुग्ने अवस्था हुँदा बर्सेनि अर्बौं रुपैयाँको कृषि उपज आयात गर्नुपर्ने अवस्था रहेको सुशीलको बुझाइ छ । ‘राज्यले आफ्नो पहुँच गाविससम्म पु¥याउँदासमेत कुल बजेटको ३ प्रतिशत बजेट मात्र कृषि क्षेत्रमा लगानी भइरहेको छ’ उनले गुनासो गरे ‘४५ प्रतिशत युवा वर्ग आज रोजगारीको लागि विदेशी भूमीमा भौंतारिरहेको अवस्था आउनु दुःखद हो ।’

यस्तै देशको अवस्था देखेर अर्याल कम्तीमा पनि ४५ सय जनालाई रोजगारी दिने अपेक्षाको साथ बाख्रा गाउँ अभियानमा लागेका छन् । गरिबीको रेखामुनि रहेका प्रत्येक परिवारलाई रेखामाथि ल्याउन सरकारले व्यावसायिक कृषितर्फ आकर्षित बनाउनुपर्ने उनको भनाइ छ । उनले ९ सय रोपनी जग्गामा उन्नत कोषे घाँसको खेती वृद्धि गर्ने र १२ सय रोपनी जग्गामा अर्गानिक तरकरी लगाउने तयारी गरेका छन् । ४ सयभन्दा बढी युवालाई कृषि पेसामा फर्काउने गरी रोजगार दिने उनको सोच छ । मुलुकलाई २ वर्षमा आत्मनिर्भर बनाउने सरकारको लक्ष्यमा आफ्नो अभियानले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

त्यस्तै बाँझो रहेको करिब ४५ सय रोपनी जग्गाको सदुपयोग गर्दै १ सय ८० ठाउँमा उन्नत जातको (ठाउँ विशेष) बाख्रापालन गर्ने अर्यालको योजना छ । जसमा वोयर, सानन, खरि, बारवेरीलगायतको बोका वितरण गर्ने र त्यसैबाट स्थानीय जात माउबाख्रामा क्रस गरी पूर्णरूपमा हाडनाता प्रजनन हटाउने अर्यालले योजना बनाएका छन् । साथै ९ सय माउ बाख्राको स्तर उन्नती गर्ने र स्थानीय खरि जातको बाख्रा उत्पादनमा वृद्धि ल्याउने उनले बताए । ६० भन्दा बढी गाउँलाई बाख्रापालन र अर्गानिक तरकारी खेतीको सिक्ने थलो कृषि पाठशाला बनाउने अर्यालको योजना रहेको छ । अर्यालले भने ‘यो बाख्रा गाउँ अभियानमा ९ सयभन्दा बढी परिवारलाई लाग्न प्रेरणा गर्नेछु यसबाट वार्षिक १५ करोड आम्दानी हुन्छ ।’

यसको लागि कृषि विकास कार्यालयमा समूहगत रूपमा दर्ता भई एक गाउँबाट कम्तीमा १५ जना युवा समावेश गर्ने र १ सदस्य बरावर १० वटा माउ बाख्रा र १ रोपनीमा अर्गानिक तरकारी खेती गर्ने गरी अभियान सञ्चालन गर्ने उनको तयारी छ ।

यो बाख्रा गाउँ अभियानमा जिल्ला विकास समिति, पशुसेवा कार्यालय, कृषि विकास कार्यालय, गाविस र सेवा केन्द्र स्याङ्जाको सहयोग रहने अर्यालले बताए । साथै सामुदायिक वन, उद्योग वाणिज्य संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, स्थानीय क्लब, आमासमूह, महिला विकास कार्यालय, वित्तीय संस्थालगायत सरोकारवालाको समेत सहयोग रहने अर्यालले बताए । अर्याल व्यावसायिक रूपमा बाख्रा पालनमा लाग्ने तयारी गर्दा सरकारले कृषि पकेटका रूपमा घोषणा गरेका जिल्लाहरूमा स्याङ्जा जिल्लालाई भने जुनार र सुन्तलाका रूपमा अघि सारिएको छ ।

प्रतिक्रिया