१३ फागुनबाट बाल नाटक महोत्सव

bal natak copyकाठमाडौं, ५ फागुन । शैली थिएटरले विगत सात वर्षदेखि निरन्तर गर्दै आएको बाल नाटक महोत्सव आगामी १३ फागुनबाट सुरु गर्ने भएको छ । रुसी सांस्कृतिक केन्द्रको सहयकार्यमा केन्द्रकै हल, कमलपोखरीमा १३ फागुन देखि सुरु हुने महोत्सव पाँचदिन सम्म चल्ने छ ।

महोत्सवमा यसपटक १३ वटा नाटक मञ्चन हुनेछन् । नाटक हेर्नका लागि बिहान १०, दिउँसो साँढे १२ र अपरान्ह ३ बजेगरी तीन समय छुट्याइएको आयोजकले जनाएको छ । ‘शैली थिएटर’ले रुसी साँस्कृतिक केन्द्रमा आयोजना गर्नलागेको महोत्सवका लागि २३ वटा स्क्रिप्ट आवेदनमा परेका थिए ।

थिएटरका अध्यक्ष नवराज बुढाथोकीका अनुसार कथाको विषयवस्तु र समयसीमाका कारण १० वटा नाटक मञ्चनबाट हटाइएको छ । ‘देशको यस्तो अप्ठ्यारो अवस्थामा पनि २३ वटा स्क्रिप्ट आवेदनमा आउनुले हामी एकदमै उत्साहित छौं ।’ बुढाथोकीले भने, ‘राम्रा हुँदाहुँदै पनि समावेश गर्न नसकेका नाटकलाई हामी अर्को वर्ष मञ्चनमा ल्याउन प्रयास गर्नेछौं ।’

महोत्सवमा विभिन्न विधामा उत्कृष्ट हुनेहरूलाई शैलीले पुरस्कारको पनि व्यवस्था गरेको छ । जसमध्ये महिला र पुरुष दुवैतर्फ सात हजार राशीको ‘शैली उत्कृष्ट अभिनय पुरस्कार’, पाँच हजार राशीको ‘चेखव उत्कृष्ट निर्देशन पुरस्कार’ पाँचहजार राशीको ‘बालकोसेली उत्कृष्ट नाटक पुरस्कार’ महिला र पुरुष दुवैतर्फ तीन हजार राशीको ‘शैली प्रोत्साहन पुरस्कार’ प्रदान गरिनेछ भने सम्पुर्ण सहभागीलाई प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा शैलीले तयार पारेको अप्रतियोगी नाटक ‘नुनको कथा’ पनि मञ्चन हुनेछ । महेश पौड्याल अनुदित यस नाटक रुसी लोककथामा आधारित छ । महोत्सवमा कुमारी–ओसिड नेपाल, शिशिर वसन्त–प्याराडाइज स्कुल, ओइलाएइका फूल–विल्सन एकेडेमी, फालिएका हिराहरू–सहारा नेसनल स्कुल, अपराजिता–विद्या विकास बोर्डिङ, टुटेको सपना–आइडल उमावि, ब्वाँसाहरू–लालिगुराँस बाटिका विद्यालय, साँघुरो दलान–साँस्कृतिक संस्थान ‘१९ औँ ब्याच’, विदेश मोह–सरस्वती कुञ्ज उमावि, परिवर्तन आफैँबाट–जनविकास मावि, सम्बोधन–न्यु सनसाइन स्कुल, आमाको माया–साउथ वेस्टर्न स्कुल र गलत बाटो नरोजौं–कन्सटलेसन एकेडेमीको नाटकहरू प्रर्दशन हुनेछन् ।

प्रतिक्रिया