खोजखबर

प्रतिनिधि संख्या ३ हजार बढी

सौर्य अनलाइन २०७२ फागुन ४ गते १२:११ मा प्रकाशित

काठमाडौं, ३ फागुन । कांग्रेसको आसन्न १३औँ महाधिवेशनमा ३ हजार १ सय ८१ महाधिवेशन प्रतिनिधिले भाग लिने निश्चित भएको छ । कांग्रेस विधानमा यसपटक प्रतिनिधिमा समावेशी व्यवस्था गरेकाले प्रतिनिधिको संख्या बढेको बताइएको छ ।

कांग्रेसमा २ सय ४० निर्वाचन क्षेत्रबाट समावेशी प्रतिनिधित्वसहित निर्वाचित १२ जनाका दरले २ हजार ८ सय ८०, विदेशस्थित १७ नेपाली जनसम्पर्क समितिबाट ७ जनाका दरले १ सय १९, पार्टीका १८ वटा भ्रातृ एवं शुभेच्छुक संस्थाबाट ९८ र केन्द्रीय पदाधिकारी एवं सदस्य ८४ महाधिवेशन प्रतिनिधिले भाग लिने केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । कांग्रेसको ३६ जिल्लामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । २५ माघमा धेरै जिल्लामा अधिवेशनको प्रक्रिया सुरु भएकामा २६ माघमा सभापति सुशील कोइरालाको निधनले माघ मसान्तसम्म अधिवेशनको कार्यक्रम स्थगन गरिएको थियो ।

बारा र पर्सा जिल्लामा प्राविधिक कारणले गाउँ अधिवेशनको प्रक्रिया बाँकी रहेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिए । ती जिल्लामा मंगलबारदेखि नै निर्वाचन कार्यक्रम सुरु हुने भएको छ । ‘तराईका अन्य जिल्लामा पनि अधिवेशनको कार्यक्रम भइरहेको छ, धनुषा, सिरहा र सप्तरीको गाउँ अधिवेशन सम्पन्न भएको छ, रौतहटमा ५ क्षेत्रको क्षेत्रीय अधिवेशन पनि सम्पन्न भई अन्य क्षेत्र सकेर जिल्ला अधिवेशनको प्रक्रिया अघि बढेको छ,’ पराजुलीले भने ।

बाँकी ३९ जिल्लाको अधिवेशन यही फागुन १० गतेभित्रै सम्पन्न गर्ने गरी निर्देशन दिइएको कांग्रेस निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । ‘२० फागुनदेखि केन्द्रीय महाधिवेशन हुने भएकाले तयारीका लागि पनि नाम सूची १० गतेपछि बुझाउनुपर्छ, यसैले १० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गराउन निर्देश गरिएको छ,’ उनले भने ।

हालसम्म ६५ जिल्लाका २ सय ३ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिएका छन् । त्यस्तै सोमबारसम्म सम्पन्न ३६ जिल्ला अधिवेशनबाट निर्वाचित भएका जिल्ला सभापतिमा ताप्लेजुङमा लीला पोखरेल, झापामा उद्धव थापा, मोरङमा डिगबहादुर लिम्बू, सुनसरीमा राजीव कोइराला, खोटाङमा नरेशकुमार श्रेष्ठ, ओखलढुंगामा प्रदीपकुमार सुनुवार, उदयपुरमा विदुर बस्नेत, सिन्धुलीमा उज्जवलप्रसाद बराल र धादिङमा रमेश धमला छन् ।

यसैगरी काभ्रेपलाञ्चोकमा मधु आचार्य, मकवानपुरमा इन्द्रबहादुर बानियाँ, गोरखामा हरिबहादुर घले, मनाङमा टेकबहादुर गुरुङ, कास्कीमा कृष्ण केसी, तनहुँमा वैकुण्ठनाथ न्यौपाने, स्याङ्जामा कमलप्रसाद पंगेनी, पाल्पामा वीरबहादुर राना, अर्घाखाँचीमा विष्णुप्रसाद खनाल, नवलपरासीमा विष्णु लामिछाने र रुपन्देहीमा अब्दुल रज्जाक जिल्ला सभापतिमा विजयी भएका छन् ।

यस्तै मुस्ताङमा याङ्जिङ विष्ट, जाजरकोटमा दीपकजंग शाह, सुर्खेतमा कमलराज रेग्मी, डोटीमा प्रदीप देउवा, बैतडीमा नरेन्द्रसिंह थापा, डडेलधुरामा कर्णबहादुर मल्ल, पाँचथरमा नवीन्द्र केरुङ, भोजपुरमा नन्दमणि राई, धनकुटामा अग्निप्रसाद पौडेल, नुवाकोटमा जगदीश्वरनरसिंह केसी, कपिलवस्तमाु सुरेन्द्रराज आचार्य, मुगुमा खड्गबहादुर शाही, कालीकोटमा हर्षबहादुर बम, हुम्लामा जयपति रोकाया र बैतडीमा नगेन्द्रराज थापा सभापतिमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय