फुटबलमा नेपाललाई अवसर

Footbaler Ladies copyनयाँदिल्ली, २ फागुन । भारतमा जारी १२औँ दक्षिण एसियाली खेलकुद सागअन्तर्गत सोमबार नेपालले फुटबलतर्फ (महिला÷पुरुष) दुवैले उपाधिको लागि आयोजक राष्ट्र भारतको सामना गर्दै छ ।

पुरुषतर्फको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि इन्दिरा गान्धी एथलेटिक्स् स्टेडियमा हुनेछ ।

सेमिफाइनलमा माल्दिभ्सविरुद्व नाटकीय जित निकालेको नेपालले सोमबार हुने फाइनल खेलमा पनि त्यही प्रदर्शनलाई यथावत राख्दै उपाधि जित्ने अभियानका साथ मैदान उत्रनेछ । निकै नै उत्कृष्ट लयमा देखिएका तथा एकै महिनामा ३ ह्याट्रिक पूरा गरेका नेपाल आर्मी क्लबका नवयुग श्रेष्ठले त्यही लयलाई निरन्तरता दिनसके नेपाल उपाधिको हकदार बन्ने निश्चित छ । यस्तै विमल घर्तीमगर, अन्जन विष्ट र गोलरक्षक विकेश कुथुको उत्कृष्ट प्रदर्शन पनि नेपालको जितको लागि आधार बन्नेछ ।

सन् १९९३ मा भारतलाई पराजित गर्दै उपाधि जित्दाको टोलीको मुख्य सदस्य रहेका राजुकाजी शाक्यको प्रशिक्षणमा मैदान ओर्लने नेपाली टोलीलाई सोमबार इतिहास बनाउने अवसर छ । दक्षिण एसियाली फुटबलमा भारतको दबदबा रहेको स्वीकार्दै प्रशिक्षक शाक्यले यसपटक भारतलाई घरेलु भूमिमै पराजित गर्दै उपाधि रक्षा गर्ने बताएका छन् । ‘हाम्रा खेलाडीहरूले पछिल्ला केही महिनायता उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सेमिफाइनलमा शनिबार माल्दिभ्सविरुद्वको खेलमा पनि नेपालको प्रदर्शन उत्कृष्ट रह्यो ।’ प्रशिक्षक शाक्यले भने, ‘टिमवर्क र खेलाडीहरूको कडा मिहेनतले नै यो सम्भव भएको हो । फाइनलमा पनि यस्तै प्रदर्शनको आवश्यकता छ । मैले भारतमा थुप्रै खेल खेलेँ । अब प्रशिक्षकको रूपमा रहँदा भारतलाई पराजित गर्दै अर्काे उपाधि लिने योजना छ ।’ यस्तै टिमका कप्तान विराज महर्जनले भारतविरुद्वको खेल हाम्रा लागि विश्वकपको फाइनल खेल जस्तै रहेको बताए । ‘मलाई विश्वकपको फाइनलमा पुगेको जस्तै अनुभूति भइरहेको छ जुन हाम्रो लागि महत्वपूर्ण छ । जसरी हामीले माल्दिभ्सविरुद्वको खेलमा आक्रमक शैलीमा खेल्दै अन्तिम समयमा जित निकाल्यौँ । त्यस्तै प्रदर्शनलाई भारतविरुद्व निरन्तरता दिनु आवश्यक छ ।’ कप्तान महर्जनले भने, ‘भारतविरुद्व उत्कृष्ट प्रदर्शन गर्दै उपाधिका साथ खुसी लिएर फर्कने छौँ ।’ दुईपटक साग फुटबलको उपाधि जितेको नेपाल साग पुरुष फुटबलमा १७ वर्षपछि फाइनलमा पुग्न सफल भएको हो । यसअघि नेपालले सन् १९ ८४ र १९९३ मा गरी दुईपटक उपाधि जितेको थियो भने सन् १९९९को आठौँ सागमा फाइनलमा प्रवेश गरेको थियो ।

यस्तै सोमबारै सिलोङमा हुने खेलमा नेपाली महिला टिमले पनि उपाधिको लागि भारतकै सामना गर्दै छ । खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजेपछि सुरु हुनेछ ।

नेपाली टिमका प्रशिक्षक धु्रव केसीले डिफेन्डिङ च्याम्पियन तथा आयोजक राष्ट्र भारतविरुद्व उत्कृष्ट खेल पस्कँदै उपाधि जित्ने बताएका छन् । ‘हामीले लिग चरणमै भारतसँग खेलिसकेका छौँ । उनीहरूको कमजोरी नियालेका छौँ ।’ प्रशिक्षक केसीले भने, ‘दक्षिण एसियाली स्तरको महिला फुटबलमा पनि भारतीय दबदबा रहेको छ । दुवै टिमको उपाधि सम्भावना बराबरी छ । हामी भारतविरुद्व आत्मविश्वासका साथ खेल्दै उपाधि हत्याउने छौँ ।’

नेपालले समूह चरणमा १० अंक जोडेको थियो । पहिलो खेलमा माल्दिभ्सलाई ३–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा बंगलादेशलाई २–० ले तथा श्रीलंकालाई ४–० ले पराजित गरेको थियो । भारतसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया