यु–१९ विश्वकप क्रिकेटको उपाधि वेस्ट इन्डिजलाई

मिरपुर । आइसिसी यु–१९ विश्वकप क्रिकेटको उपाधि वेस्ट इन्डिजले जितेको छ ।

बंगलादेशमा भएको फाइनल खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले उपाधि जितेको हो । वेस्ट इन्डिजको यो पहिलो यु–१९ उपाधि हो ।

भारतले दिएको १ सय ४६ रनको लक्ष्य पक्ष्याएको वेस्ट इन्डिजले निर्धारित लक्ष्य अन्तिम ३ बल बाँकी छँदा ५ विकेट गुमाएर पूरा गरेको हो । खराब सुरुआत गरे पनि वेस्ट इन्डिजको जितमा मध्यक्रमका ब्याट्सम्यान केसी कार्टीले अविजित ५२ रनको योगदान दिए । यस्तै केमो पौलले अविजित ४० रनको योगदान गरे । यस्तै सिमरोन हेटम्यार २३ तथा टेभिन इमलच १५ रनमा आउट भए । उसका ओपनर गिडरन पोपी ३ रनमै पभेलियन फर्किएका थिए । भारतका लागि मायंक डागरले ३ तथा आभास खान र खालिल अहमदले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले मिरपुरस्थित सेरे बंगला स्टेडियममा ४५ दशमलव १ बलमा सबै विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो । निकै नै खराब सुरुआत गरेको भारतका लागि पनि मध्यक्रमका ब्याट्सम्यान सरफराज खानले ५१ रनको पारी खेल्दै इनिङ उकासेका थिए । यस्तै राहुल बाथमले २१ तथा महिपाल लोमरोले १९ रन बनाउनुबाहेक अरू ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । वेस्ट इन्डिजका अलजारी जोसेफ र रायन जोनले समान ३–३ तथा केमो पलले २ विकेट लिए । (एजेन्सी)

प्रतिक्रिया