काठमाडौं, २ फागुन । अहिले नायिका अशिष्मा नकर्मी र नायक सौगात मल्ल वीरगञ्ज पुगेर रमाइरहेका छन् । चलचित्र ‘संरक्षण’को क्रममा उनीहरू वीरगञ्ज पुगेर लभस्टोरी दृश्य छायांकनमा व्यस्त रहेका छन् । फेरि एकपटक प्रहरीको भूमिकामा अभिनय गर्न लागेका नायक निखिल उप्रेतीको मुख्य भूमिका रहेको चलचित्र ‘संरक्षण’को छायांकन अहिले वीरगञ्जमा धमाधम भइरहेको छ ।
सोही छायांकनस्थलबाट बाहिरिएको एक तस्बिरमा अशिष्मा नकर्मी सौगात मल्लको पिठ्यूमा चढेकी छन् । १० दिनसम्म वीरगञ्जमा खिचिने यो चलचित्रको हालसम्म ३५ प्रतिशत छायांकन सकिएको छ । चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी मुख्य भूमिकामा छन् । चलचित्रमा एसएसबी रमेश खरेलको केन्द्रीय भूमिका रहने बुझिएको छ । ३५ दिन लामो यो चलचित्रको छायांकन काठमाडौं, वीरगञ्ज र हेटौँडालगायतका स्थानमा हुनेछ ।
द्वारिका उदय प्रोडक्सन, श्रीवास्तव फिल्मस्, हेटौँडा मुभि मेकर टिम, एचएमएमटी र पूर्णेन्दु प्रोडक्सनको संयुक्त प्रस्तुतिमा यो चलचित्र बन्न लागेको हो । चलचित्रलाई पूर्णेन्दुकुमार झाले निर्देशन गर्नेछन् । चलचित्रमा प्रदीपकुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र श्वेता शाहको लगानी रहनेछ ।
प्रतिक्रिया