“प्रेमगीत”को भव्य प्रिमियर

prem git premier copyकाठमाडौं, २८ माघ । चलचित्र ‘प्रेमगीत’को शीर्ष गीत ‘म यस्तो गीत गाउँछु जुन प्रेमगीत बनोस्’ भन्ने बोलको गीतबाटै चर्चाको शिखरमा पुगेको शुक्रबारबाट देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रेमगीत’को राजधानीमा भव्य प्रिमियर गरिएको छ ।

टेलिभिजन लाइभसहितको प्रिमियरमा नेपाली सिने कलाकर्मीको बाक्लो उपस्थिति थियो । प्रिमियरमा कलाकर्मीको रेड कार्पेट फेसन स्टेट्मेन्टको चर्चासँगै फिल्म हेरिसकेपछि फिल्मले त्योभन्दा बढी चर्चा पायो । फिल्म हेरिसकेपछि प्रायः सबै कलाकारहरूले फिल्मले मन छोएको प्रतिक्रिया दिएका थिए ।

उच्च मेकिङ क्वालिटी, सिनेमाटोग्राफी, लोकेसन, अभिनेता प्रदीप खड्काको अभिनयसँगै निर्देशकीय पाटोबाट पनि फिल्मले राम्रो तारिफ भेट्यो । फिल्म हेर्ने सबैजसो दर्शकबाट ‘प्रेमगीत’का युनिटलाई तारिफका शब्दहरू दिन कन्ज्युस्याइँ गरेनन् । अधिकांशले निर्देशक सुदर्शन थापा ‘मेरो एउटा साथी छ’ पछि दर्शकले खोज्ने र रोज्ने प्रकारको लभस्टोरी बेसको फिल्ममा फर्केको पनि बताए ।

प्रिमियरमा पुगेकी अभिनेत्री रिमा विश्वकर्माले ‘प्रेमगीत’ले मन छोएको र फिल्म हेर्दा धेरैपटक रोएको भन्दै प्रेम गर्नेहरूको लागि ‘प्रेमगीत’ नहेरी नहुने फिल्म बनेको बताइन् । प्रिमियरमा सहभागी भएका सबैले फिल्मको तथा निर्माण युनिटदेखि कलाकारसम्मको खुलेर प्रशंसा गरे । दर्शक राम्रो प्रतिक्रिया आएपछि निर्माता निर्देशक निकै उत्साहित देखिन्थे । हामीले फिल्मबाट जे आशा गरेका थियौँ प्रिमियरपछि पाएको प्रतिक्रियाबाट त्यो पूरा भएको अनुभूति भएको छ, हर्षित मुद्रामा देखिएका निर्देशक थापाले शुक्रबार रिलिजपछि दर्शकबाट पनि यो प्रकारको प्रतिक्रिया र साथ पाउने पूर्ण विश्वास लिएको बताए ।

चलचित्रले राम्रो प्रतिक्रिया पाएपछि निर्माता सन्तोष सेन पनि मख्ख देखिँदै लगानीले सार्थकता पाउने आशा बोकेका उनी यो फिल्मले सफलता पाउँदै गर्दा अर्को फिल्मको निर्माण घोषणा गर्ने तयारीमा जुट्ने पनि बताए ।

प्रतिक्रिया