कोइरालाको अभाव खड्किरहनेछ

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको निधनले सिंगो मुलुक शोकमा डुबेको छ । नया“ संविधान निर्माणमा कोइरालाले निर्वाह गरेको नेतृत्वदायी भूमिकाकै कारण आमनागरिकले उच्च सम्मानका साथ उनलाई स्मरण गरिरहेका छन् । आफ्नो सिंगो जीवन राष्ट्र एवं जनताको पक्षमा समर्पित गर्ने निष्ठावान राजनीतिज्ञ सुशील कोइरालाप्रति विदेशी मित्रराष्ट्रले पनि उच्च सम्मान दर्शायो । कोइराला प्रधानमन्त्री रहेकैबेला नया“ संविधान घोषणा भएकोले यसको सबैभन्दा बढी जस उनलाई रहनेछ । नया“ संविधान जारी गर्न काइरालाजत्ति नै अन्य नेताहरूको पनि भूमिका थियो तर, नेतृत्वदायी भूमिकामा कोइराला रहेकाले नै उनलाई उच्च सम्मान गरिएको हो ।

सभापति कोइरालाको निधनले कांग्रेसको महाधिवेशन तयारीमा धेरै अप्ठ्यारा परिस्थिति सिर्जना भएको छ । आगामी महाधिवेशनलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्ने कानुनी बाध्यता भएकोले कांग्रेस महाधिवेशनको मिति सारिएन । अब शोकलाई शक्तिमा बदल्दै महाधिवेशन सम्पन्न गर्ने चुनौती कांग्रेससामु छ । कांग्रेसको संगठन र जनआधार समेत कमजोर हु“दै गइरहेको परिस्थितिमा कोइरालाको स्वच्छ, इमानदार छवि र सामान्य जीवनशैलीका कारण कांग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी बन्यो । यही कारण कांग्रेसले अनन्तकालसम्म कोइरालालाई उच्च सम्मानका साथ सम्झिरहनेछ । किशोरावस्थादेखि कांग्रेसको राजनीतिमा होमिएका कोइराला ०१७ सालमा राजा महेन्द्रले तत्कालीन सरकार र संसद् भंग गरी सत्ता हत्याएपछि भएका सबै राजनीतिक संघर्ष एवं आन्दोलनमा सक्रिय सहभागी थिए । कांग्रेसको इमानदार र निष्ठावान् कार्यकर्ताको रूपमा लामो समयसम्म राजनीतिमा सक्रिय कोइरालाले आफ्नो छुट्टै पहिचान बनाएका थिए । गिरिजाप्रसाद कोइरालाको निधनपछि मात्र राजनीतिको अग्रभागमा देखापरेका कोइराला त्यसअघि कुनै लाभको पद बसेका थिएनन् । उनको यही गुण र विशेषता नै नेपाली राजनीतिमा अत्यन्तै अनुकरणीय पक्ष बन्यो । सबै राजनीतिकर्मीले कोइरालाको यो गुणबाट प्रेरणा लिन सक्नुपर्छ ।

सुशील कोइरालाको स्वच्छ छवि, सादा जीवन, उच्च विचार सबैका लागि अनुकरणीय छ । सत्तामा बस्दा उनलाई भ्रष्टाचारको आरोपसम्म लागेन । यो सबैका लागि उदाहरणीय पक्ष हो । दृढ अडान र इच्छाशक्ति भएको अनि अठोट बोकेका राजनीतिकर्मी हुन् । नया“ संविधान घोषणा भएलगत्तै भारतले नाकाबन्दी लगायो । तर, कोइराला झुकेनन् आफ्नो अडानमा कायमै रहे । उनको यही अडानका कारण पनि उनी नेपाली जनतामाझ लोकप्रिय बने । उनको निधनबाट मुलुकले एक इमानदार र कर्तव्यनिष्ठ राजनीतिकर्र्मी गुमाएको छ । नया“ संविधानको कार्यान्वयनको क्रममा रहेक क्षण मुलुकसामु उनको अनुपस्थिति खड्कििरहनेछ ।

प्रतिक्रिया