कोइरालाको राजकीय बिदाई

:j=sf]O/fnf– >4f~hln g]kfnL sfFu|];sf ;efklt Pjd k"j{ k|wfgdGqL ;'zLn sf]O/fnfsf] kfly{j z/L/df a'waf/ kz'klt cfo{3f6df clGtd >4f~hln lbg'x'Fb} k|wfgdGqL s]kL zdf{ cf]nL . tl:a/ k|bLk jGt, /f;;

काठमाडौं, २७ माघ । कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको राजकीय सम्मानका साथ हिन्दू परम्पराअनुसार बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । स्व. कोइरालाको सम्मानमा नेपाली सेनाको एक टुकडीले राष्ट्रिय धूनसहित अन्तिम सलामी अर्पण गरेको थियो । उनलाई १३ तोपको सलामी दिइएको थियो । यसअघि उनको शवलाई दशरथ रंगशालाबाट विशेष किसिमले सजाइएको ट्रकमा राखेर आर्यघाट लगिएको थियो ।

कोइरालाको शवयात्रामा हजारौँको सहभागिता रहेको थियो । शवयात्रामा पार्टीका नेता कार्यकर्ता, सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, पार्टीका शुभेच्छुक एवं सर्वसाधारण गरी हजारौँको संख्यामा उपस्थिति थियो । यात्रामा सहभागीले ‘सुशील दाइको अभियान, शान्ति र संविधान, सुशील कोइराला अमर रहुन्, जय नेपालको नाराले संविधान पाए साराले’ भन्नेजस्ता नारा लगाएका थिए ।

यात्राका क्रममा चोकचोकमा उपस्थित सर्वसाधारणले पुष्पगुच्छा कोइरालाको पार्थिव शरीरमा अर्पण गरेका थिए । कोइरालाको पार्थिव शरीर राखिएको नेपाली सेनाको ट्रकमा कांग्रेस केन्द्रीय सदस्यद्वय शशांक कोइराला र शेखर कोइराला, स्वकीय सचिव अतुल कोइराला, उनका भाञ्जा रमेश शर्मालगायत रहेका थिए । यसअघि कोइरालाको शवयात्रा दशरथ रंगशालाबाट त्रिपुरेश्वर–वीरअस्पताल–भोटाहिटी–दरबारमार्ग–कमलपोखरी–ज्ञानेश्वर–रातोपुल–गौशाला हुँदै पशुपति आर्यघाटमा लगिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्लले जानकारी दिए पनि अन्तिममा त्रिपुरेश्वर–थापाथली–सिंहदरबार–पुतलीसडक–कमलपोखरी हुँदै उल्लिखित मार्गबाटै पशुपति पु¥याइएको थियो ।

माघ २५ गते जिल्ला जिल्लामा अधिवेशनमा सक्रिय रहेका नेता कार्यकर्ता सभापति कोइरालाको निधनको खबरले मर्माहत बनेर शवयात्रामा सहभागी हुन काठमाडौं आइपुगेको धादिङका नेता बद्री अर्यालले बताए । ‘संविधानका निर्माता कोइरालाप्रति त्यतिबेला सच्चा श्रद्धाञ्जली हुनेछ, जतिबेला असोज ३ गते उनको नेतृत्वको सरकार भएकाबेला जारी गरिएको संविधानको सफल कार्यान्वयन हुनेछ’ उनले भने ।

के हो राजकीय सम्मान ?
नेपालले पूर्वप्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिको निधनमा राजकीय सम्मान दिने गरेको छ । यही परम्परा दोहो¥याउँदै मंगलबारको मन्त्रिपरिषद्को निर्णयले पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई पनि राजकीय सम्मान दिइएको हो ।

यसरी राजकीय सम्मान दिनका लागि सरकारले एकदिन सार्वजनिक बिदा दिने गरेको छ । त्यस अलवा ३ दिन सरकारी कार्यालय तथा विदेशस्थित कूटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने र कुनै औपचारिक कार्यक्रम नगर्ने तथा सबै नियोगहरूमा शोक पुस्तिका राख्ने गरिन्छ ।

मन्त्रिपरिषदको निर्णय बमोजिम पूर्वप्रधानमन्त्रीहरूका लागि दिइने राजकीय सम्मानका लागि सेनाको एक छुट्टै टुकडीले शव उठाउनेदेखि शवयात्रा गरी पशुपति आर्यघाटमा विशेष सम्मानका साथ जलाउनेसम्मको जिम्मेवारी पूरा गर्दछ ।

यो सम्मानमा नेपाली सेनाको मेजरको कमान्डमा ४० जना सेनाका जवान सम्मिलित टुकडीले मृतकको शव विशेष राष्ट्रिय धुनसहित खटाइएका ब्राहमणहरूले सेनाको गाडीमा राख्छन् । उनीहरूले पशुपति आर्यघाटमा शवमा गर्नुपर्ने वैदिक परम्परा अनुसारको प्रक्रिया पूरागरी विशेष ढंगले सजाइएको चितामा शवलाई राख्छन् । अन्तिम दागबत्ती दिनेबेलामा सेनाको टुकडीले राष्ट्रिय गानको धुन बजाउनुका साथै खटिएका सुरक्षाकर्मीले आफ्नो हतियार झुकाएर सम्मान प्रकट गर्छन् भने सेनाको अर्को टुकडीले सैनिकमञ्चमा १३ तोप पड्काएर सलामी दिन्छन् ।

राजकीय सम्मानका लागि सरकारले निश्चित प्रकार तोकेको भए पनि कतिपय अवस्थामा मन्त्रिपरिषद्ले पटके निर्णयका आधारमा यसअघि कतिपय नेताहरूलाई पनि राजकीय सम्मान दिइएको छ । विशेष गरी जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको निधनमा तत्कालीन सरकारले विशेष निर्णय गर्दै सरकारका मन्त्रीहरू सबै सिंहको निवासदेखि विष्णुमतिसम्म शवयात्रामा सहभागी भएका थिए ।

यसरी राजकीय सम्मान पाउनेहरूको सूचीमा पूर्वप्रधानमन्त्रीहरू मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराई पर्दछन् । त्यस अलवा रामाराजाप्रसाद सिंहको निधनमा ०६८ सालमा तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले सिंहलाई पनि राजकीय सम्मान दिएको थियो भने ०७० सालमा खिलराज रेग्मी नेतृत्वको सरकारले पञ्चायतकालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंहलाई भने राजकीय सम्मान नदिँदा आलोचना खेप्नुपरेको थियो ।

भतिजाले दिए दागबत्ती
कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई उनका भतिजाहरूले दागबत्ती दिएका छन् । कोइरालाका भतिजा तथा उनका निजी सहयोगी अतुल र सुधांशु कोइरालाले बुधबार राजकीय सम्मानका साथ गरिएको अन्त्येष्टिमा संयुक्तरूपमा दागबत्ती दिएका हुन् । अविवाहित कोइरालालाई उनका दाई विनोद कोइरालाका छोरा अतुल र भाइ अरुण कोइरालाका छोरा सुधांशुले पशुपति आर्यघाटमा मुखाग्नी दिएका हुन् ।

त्यसअघि चितामा राखिएको कोइरालाको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा ओढाएर सम्मान गरे र अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । कोइरालाको सम्मानमा नेपाली सेनाले सलामी दिएको थियो । राष्ट्रिय गानको धून पनि बजाइएको थियो । आर्यघाटमा उपस्थित सर्वसाधारणहरूले सुशील दाइ जिन्दावादको नारा लगाइरहेका थिए ।

आर्यघाट स्वर्गीय कोइरालाका शुभेच्छुकहरूले खचाखच भरिएको थियो । कोइरालाको अन्तिम बिदाइमा सहभागी हुन कांग्रेसका वरिष्ठ नेता, कार्यकर्ता, अन्य राजनीतिक दलका नेता, मन्त्री, सांसद, सुरक्षाकर्मी, कुटनीतिक नियोगका प्रतिनिधि, आफन्तजन, पेसा व्यवसायी र सर्वसाधारणहरूको उपस्थिति थियो ।

यसैबीच कोइरालाको अन्त्येष्टी (किरिया) कोइराला निवास महाराजगञ्जमा बस्ने व्यवस्था मिलाइएको छ । स्वर्गीय कोइरालालाई दागबत्ती दिएका उनका भतिजाद्वय अतुल र सुधांशु कोइराला नै किरियामा बस्ने भएका छन् ।

अन्तर्राष्ट्रिय सदभाव
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चीन, बंगलादेश, भुटान, पाकिस्तान, अमेरिका संयुक्त राष्ट्र संघ, युरोपेली संघ, सोसलिस्ट इन्टरनेसनल र जापानले शोक व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले नेता कोइरालाको निधनबाट आफू मर्माहत भएको उल्लेख गर्दै उनी सबैका आदरणीय राजनेता भएको उल्लेख गरेका छन् ।

महासचिवका तर्फबाट उनका प्रवक्ताले बुधबार जारी गरेको वक्तव्यमा महासचिव बानले जटिल संक्रमणकाल र संवैधानिक प्रक्रियाका बेला नेपाललाई नेता कोइरालाले मार्गनिर्देश गरेको बताएका छन् । सहमति, समझदारीको भावनाबाट प्रेरित भएर नेता कोइरालाले नेपाली जनता र राजनीतिक दललाई एकताबद्ध गरेको स्मरण गर्दै महासचिव बानले त्यसबाट नेपालको प्रजातान्त्रिक प्रक्रिया र शान्ति प्रक्रियामा ठूलो योगदान पुगको बताएका छन् । महासचिव बानले कोइराला परिवार र नेपाली जनतामा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयलाले कांग्रेसलाई बुधबार एक समवेदना सन्देश पठाउँदै नेता कोइरालाको निधनबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा अपूरणीय क्षति भएको जनाएका छन् ।

त्यसैगरी, युरोपेली प्रतिनिधिमण्डलका राजदूत रिन्चे टिरिङले संघका तर्फबाट शोक सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री कोइरालाले लामो राजनीतिक अनिश्चितताबाट नेपाललाई अगाडि बढाएको भन्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेता कोइरालाको इमान्दारी र दृढ प्रतिबद्धतापूर्ण सोचबाटै नेपालले नयाँ संविधान पाएको उल्लेख गर्दै उनले सन्देशमा नेपालको चौतर्फी विकास सुनिश्चित गर्न तथा द्विपक्षीय बाह्य कूटनीति प्रवद्र्धन गर्न उनमा स्पष्ट सोच थियो भनेका छन् । सन्देशमा राजदूत टिरिङले युरोपेली संघको उनी शुभचिन्तक थिए भन्दै नेता कोइरालाका परिवारजन, कांग्रेस र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । यस्तै जापानले पनि नेता कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै नेपालको लोकतान्त्रिकीकरण र संविधान जारी गर्न उनले निर्वाह गरेको ऐतिहासिक भूमिकाको स्मरण गरेको छ ।
कांग्रेसका कावा सभापति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाउँदै नेपालका लागि जापानी राजदूत मासासी ओगावाले जापान सरकार, त्यहाँका जनता र शोक सन्तप्त कोइराला परिवारमा हार्दिक सहानुभूति व्यक्त गरेका छन् ।

प्रतिक्रिया