थपिए रामसार क्षेत्र

fewa copyपोखरा । विश्व सिमसार दिवस, २०१६ का अवसरमा कास्कीका ९ वटा ताललाई एउटै समूहमा राखी १९ माघदेखि रामसारमा सूचीकृत भएको प्रमाणपत्र प्राप्त भएसँगै यहाँका ताल अन्तर्राष्ट्रियकरण भएका छन्  ।

जैविक विविधताको निश्चित मापदण्ड पूरा गरेका पोखराका फेवा, रुपा, बेगनास, खास्टे, कमलपोखरी, गुइडे, नेउरेली, दिपाङ र मैदीताललाई जेनेभास्थित रामसारको सचिवालयका सल्लाहकार डा. लिउ योङले वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटालाई सामूहिकरूपमा रामसारमा सूचीकृत गरेको औपचारिक प्रमाणपत्र एक कार्यक्रमकाबीच मंगलबार हस्तान्तरण गरे ।

सन् २००८ मा सरकारले पोखरा उपत्यकाका ताललाई केन्द्रित गरी विकास समिति ऐनको परिधिमा रही राष्ट्रिय ताल संरक्षण विकास समिति गठन गरी पोखराका ताललाई रामसार सूचीमा समावेश गर्नका लागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेस गरेको थियो । उक्त प्रतिवेदनको आधारमा र पटकपटक ताल समिति र सरोकारवालाबीच छलफल गरी रामसार इन्फरमेसन सिट (आरआइएस) तयार गरी अनलाइन एप्लिकेसन प्रस्तुत गरिएको थियो ।

विभिन्न चरणमा रामसार सचिवालयका कर्मचारीसँग छलफल गरी आरआइएसलाई अन्तिमरूप दिएसँगै सचिवालयले तालहरू रामसारमा सूचीकृत भएको प्रमाणपत्र प्रदान गरेको हो । एकपटक रामसारमा सूचीकृत भएपछि प्रत्येक ६ वर्षको अन्तरालमा आरआइएसलाई अद्यावधिक गर्नुपर्ने प्रावधान छ । त्यस्तै, सूचीकृत सिमसार क्षेत्रको व्यवस्थापन गर्दा र सूचना अद्यावधिक गर्दा एकातर्फ साइन्टिफिक टेक्निकल रिभ्यु प्यानल (एसटीआरपी) र अर्कोतर्फ कम्युनिकेसन एजुकेसन पार्टीसिपेसन एन्ड एवारनेस (सिइपिए) कार्यक्रममार्फत जानुपर्ने प्रावधान राखिएको छ ।

begnas copyकार्यक्रममा वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाले पर्यटकीय नगरी पोखराको पहिचान बनेका तालहरू रामसार सूचीमा सूचीकृत हुनु समग्र देशकै लागि गौरव भएको बताए । उनले यहाँ तालतलैयाको संरक्षण गर्नु चुनौती भएको उल्लेख गर्दै रामसार सूचीमा सूचीकृत हुनुले यसको संरक्षणका लागि थप दायित्वसमेत प्राप्त भएको उल्लेख गरे । व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले पोखराका ताल रामसार सूचीमा सूचीकृत बन्नु अत्यन्त महत्वपूर्ण उपलब्धि भएको र यहाँको पर्यटकीय पहिचानमा यसले थप टेवा पु¥याउने विश्वास व्यक्त गरे ।

‘प्रकृति तथा वातावरणको संरक्षण हाम्रो पुस्तालाई मात्र नभएर पुस्तौँ पुस्तालाई हो’ भन्ने सोचका साथ आजैदेखि वातावरणको संरक्षण र विकासका लागि सबैले आआफ्ना तर्फबाट योगदान गर्नुपर्ने उनको भनाइ छ । एसियाका लागि रामसारका सल्लाहकार डा. लिउ योङले पर्यावरणको संरक्षणका लागि सिमसार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउँदै यसको संरक्षणमा जुट्नु सबैको कर्तव्य भएको उल्लेख गरे ।

वन तथा भूसंरक्षण मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले नेपाल भूपरिवेष्टित देश भए पनि सिमसारमा धनी भएको बताउँदै पछिल्लो समयमा भइरहेको जलवायु परिवर्तन, अव्यवस्थित सहरीकरणलगायत कारण वातावरणमा परेको असरप्रति सबै गम्भीर बन्नुपर्ने धारणा राखे । पश्चिमाञ्चल क्षेत्रीय प्रशासक शंकर कोइरालाले पोखराका ताल रामसार सूचीमा सूचीकृत हुनुले यहाँका तालहरूो संरक्षण र यहाँको पर्यटनलाई विशेष सहयोग पुग्नेमा जोड दिए ।

पोखरा उपत्यका ताल संरक्षण समिति, कास्कीका संयोजक एवं स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले पोखराको सम्पूर्ण पर्यटन यिनै तालमा निर्भर रहेको बताउँदै पोखराको पहिचानलाई कायम राख्न पनि तालहरूको संरक्षण र विकासका लागि समाजका सबै पक्षको सहयोग आवश्यक हुने बताए ।

कार्यक्रममा राष्ट्रिय ताल संरक्षण एवं विकास समितिका संस्थापक खगराज अधिकारी, जिल्ला वन अधिकृत प्रभात सापकोटा, राष्ट्रिय ताल संरक्षण एवं विकास समितिका सदस्य प्रदीप आचार्यलगायतले पोखराका ताल रामसार सूचीमा सूचीकृत बन्नु महत्वपूर्ण उपलब्धि भएको र यसले यहाँका तालको अन्तर्राष्ट्रियकरण गराएको उल्लेख गरे । तालहरू रामसारमा सूचीकृत भएर अन्तर्राष्ट्रियकरण भएकोेमा स्थानीयवासीमा पनि हर्ष छाएको छ ।

स्थानीयवासी एवं दिपाङ कृषि सहकारी संस्था, लेखनाथकी लेखा समिति सदस्य इन्दिरा लामिछाने लेखनाथ नगरपालिकाका ७ तालसहित कास्कीका ९ वटा ताल रामसारमा सूचीकृत बन्नुले यहाँको पहिचान अन्तर्राष्ट्रियस्तरमा पुगेको बताउँछिन् । वतावरणलाई दिगो राख्नका लागि सिमसार क्षेत्रको संरक्षण अपरिहार्य हुने अवस्थामा कास्कीका ताल सम्बन्धमा देखिएको अन्तर्राष्ट्रिय चासोले यहाँको संरक्षण र स्थानीयवासीको जीवनस्तर उकास्न र तालआसपासका क्षेत्रको समग्र विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

rupa copyराष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता डा.महेश्वर ढकालका अनुसार रामसार सूचीमा सूचीकृत भएसँगै कास्कीका यी तालहरूले अन्तर्राष्ट्रिय पहिचान प्राप्त गरेका छन् । सूचीकृत भएसँगै यी तालको संरक्षण र विकासका लागि आवधिक योजना बन्ने, संरक्षणमा स्थानीय जनसहभागिता बढ्ने, पर्यटन प्रवद्र्धन हुने तथा यहाँ रहेका दुर्लभ र लोपोन्मुख वन्यजन्तु तथा जलचरको संरक्षणमा महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।

२ फेब्रुअरी १९७१ मा इरानको रामसार सहरमा भएको अन्तरसरकारी महासन्धिले अन्तर्राष्ट्रिय महत्वका सीमसार क्षेत्रको संरक्षणमा केही प्रावधान राखेकाले सो महासन्धिलाई रामसार महासन्धि भनिन्छ । सोही महासन्धिअनुसार कुनै पनि सीमसार संरक्षणको सूचीकृत भएमा त्यसलाई रामसार भनिन्छ र सोही दिन (२ फेब्रअरी) लाई नै विश्वमा सीमसार दिवसको रूपमा मनाइन्छ ।

सन् १९८७ मा कोसी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्र घोषणा गरी नेपाल रामसार महासन्धिमा प्रवेश गरेको हो । नेपालमा हालसम्म सोलुखुम्बुको गोक्यो, रसुवाको गोसाइकुण्ड, कपिलवस्तुको जगदीशपुर, मुगुको रारा, कैलालीको घोडाघोडी, डोल्पाको शे–फोक्सुन्डो, इलामको माइपोखरी र चितवनको बीसहजारीताल रामसारमा सूचीकृत भइसकेका छन् ।

जैविक विविधताको भण्डार मानिने सीमसार क्षेत्रले मुख्यरूपमा पृथ्वीमा पानीको सञ्चय गर्ने र पानीको पुनः भण्डारणलाई जोगाउने काम गर्छ । यसले प्राणी र वनस्पतिको बासस्थानलाई जोगाउने भएकाले पनि यो पारिस्थितिकीय प्रणालीका लागि महत्वपूर्ण मानिन्छ । विश्वभर हालसम्म १ सय ६९ देशका २ हजार २ सय २५ सीमसार रामसारमा सूचीकृत छन् । (रासस)

प्रतिक्रिया