आवास इकाइ निर्माणको लक्ष्य सरकारले भेटेन

काठमाडौं, २० माघ । जनता आवास कार्यक्रमअन्तर्गत सरकारले २ हजार ४ सय २८ आवास इकाइ निर्माण गर्ने लक्ष्य लिए पनि लक्ष्यको एकछेउ पनि पूरा गर्न सकेको छैन । आर्थिक वर्ष ०७२÷७३ मा निर्धारण गरेको लक्ष्य अनुसार काम नगर्दा हालसम्म ३८ वटा मात्र आवास इकाइको निर्माण कार्य सम्पन्न भएको छ ।

सहरी विकास मन्त्रालयका अनुसार सहरी सुकुम्वासी र न्यून आयवर्गका लागि आवास व्यवस्थापनको पहिलो चरणको १ सय ३० आवास इकाइको निर्माण कार्य सम्पन्न भएको छ । बाँकी बाहिरी पूर्वाधारको केही काम यसै आवमा सुरु गरिने मन्त्रालयले जनाएको छ । भवन निर्माणतर्फ (ठूला सभाहल, भवन) बुटवल, टीकापुर र डोटीको सभाहल निर्माण भइरहेको तथा बुटवल र डोटीको दोस्रो चरणको बोलपत्र आह्वानको तयारी भइरहेको सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता पद्मकुमार मैनालीले जानकारी दिए ।

मन्त्रालयले भूकम्पपछिको पुनर्निर्माणतर्फ हालसम्म गरेको कार्यलाई हेर्दा चालु आवका लागि करिब ३ अर्ब १० करोड रूपैयाँको कार्यक्रम पेस भएकोमा केही कार्यक्रमबाहेक अधिकांश कार्यक्रम राष्ट्रिय योजना आयोगबाट स्वीकृत भएको पाइएको भएपनि कार्यन्वयनमा समस्या देखिएको छ ।

भूकम्पबाट पूर्णरूपमा क्षति भएका आवास पुनःनिर्माण अनुदान वितरण कार्यविधि,०७२ स्वीकृत भएको प्रवक्ता मैनालीले जानकारी दिए । काभ्रे, धादिङ र गोरखामा २२ वटा सामूहिक जाडोयामका आश्रय निर्माणका लागि बोलपत्र मूल्यांकन भइरहेको छ । मन्त्रालयका अनुसार १७ वटा नमुना भवनको डिजाइन स्वीकृत भई क्याटलगका रूपमा प्रकाशन भइरहेको छ ।

त्यसैगरी, मन्त्रालयले १० हजार स्थायी आवास र १ हजार शौचालय निर्माण गर्न लाग्ने करिब ३ अर्ब रूपैयाँ बराबरको सहयोगका लागि विभिन्न ७ वटा राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग सहमति गरेको छ ।

प्रतिक्रिया