नयाँ राजनीतिक युगमा म्यानमार

नाइपिद्व, १८ माघ । म्यानमारको राजनीति नयाँ युगमा प्रवेश गरेको बताइएको छ । सोमबार सुरु भएको नयाँ संसद्को कार्यभारसँगै यो चित्रण गरिएको हो ।

म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीको प्रजातान्त्रिक दल सोमबार नयाँ संसद्मा प्रवेश गरेको छ । सुकीको दल नेसनल लिग फर डेमोक्र्यासीले गत नोभेम्बरमा भएको आमनिर्वाचनमा अत्यधिक बहुमत ल्याएको थियो ।

सोही दलले सोमबारदेखि संसद्मा आफ्नो सबैभन्दा ठूलो दलको कार्यभार थालेको बताइएको छ । योसँगै म्यानमारको राजनीति नयाँ युगमा प्रवेश गरेको हो भनिएको छ । सुकीको दलका सांसदहरू सुन्तला रङको पोसाकमा सोमबार पहिलोपटक संसद् प्रवेश गरेका हुन् ।

त्यस घटनालाई म्यानमारका तथा म्यानमारमा रहेका विदेशी सञ्चारमाध्यमले पनि बढो महत्वका साथ लिएका छन् ।

गएको नोभेम्बर महिनामा सम्पन्न आमनिर्वाचनमा सुकीको दलले स्पष्ट बहुमत हासिल गरेको थियो । त्यसयता सोमबार मात्र म्यानमारको नवनिर्वाचित संसदको अधिवेशन सुरु हुन लागेको हो । म्यानमारको सैनिक सहयोगको सरकार एवं पूर्वसैनिक जर्नेलहरूको बाहुल्यतामा रहेको राजनीतिक प्रणालीमा सुकीजस्तो प्रजातान्त्रिक दलले गरेको विजयका कारण पनि म्यानमारमा राजनीतिको नयाँ बिहानी उदाउने अपेक्षा गरिएको विश्लेषकहरूको भनाइ छ ।

नेत्री सुकी सो संसद्मा प्रवेश गरेको क्षणलाई पनि क्यामेरामा कैद गर्नका लागि सञ्चारमाध्यमका प्रतिनिधिहरू ठूलो संख्यामा संसद् बाहिर उभिएका थिए । निकै छोटो समयका लागि सुरु भएको संसद् अधिवेशन औपचारिक सम्बोधन मात्र गरी त्यसपछि संसद्मा सभामुखको चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको थियो ।

बैठकको सुरुमा केही सम्बोधन भएको थियो र सांसद्हरूले शपथ लिएका थिए । त्यसपछि सुरु भएको निर्वाचनको प्रक्रियामा नेत्री सुकीकै एकजना नजिकका राजनीतिज्ञ विन मिन्तलाई संसद्को तल्लो सदनको सभामुखको उम्मेदवार बनाइएको छ । उनले आफ्नो उम्मेदवारीबारे संसदमा दिएको मन्तव्यमा भने, ‘म्यानमारको राजनीतिक इतिहासमा आजको दिन अत्यन्तै महत्वपूर्ण छ ।’

नयाँ संसदले सभामुख र उपसभामुख निर्वाचन गरेपछि नयाँ राष्ट्रपतिको पनि चयन गर्नेछ । तर म्यानमारको वर्तमान सैनिक सहयोगको संसदले नेत्री सुकीलाई भने उम्मेदवार बन्न नमिल्ने किसिमले कानुन बनाएको छ ।

यसअघि पनि पटकपटक म्यानमारको सरकारले प्रजातान्त्रिक दललाई सरकार निर्माणमा प्रतिबन्ध लगाउनुका साथै नेत्री सुकीलाई नै जेल हालेकोले अहिले पनि शक्ति हस्तान्तरण हुने कुरामा त्यहाँका नागरिकमा आशंका थियो । तर पनि यस पटक भने म्यानमारको सैनिक सहयोगको सरकारले आमनिर्वाचनमा अत्यधिक बहुमत ल्याएको सुकीको दललाई सत्ता हस्तान्तरण गर्ने जनाइसकेको छ ।

त्यसैले यो राजनीतिक परिवर्तनले म्यानमारमा नयाँ बिहानी ल्याउने अपेक्षा म्यानमारका नागरिकले गरिरहेको बताइएको छ ।

प्रतिक्रिया