हिमरश्मीको पहिलो जित

ops inter football copyकाठमाडौं, १६ माघ । हिमरश्मी र राजन मेमोरी स्कुलले प्रथम ओप्स अन्तरविद्यालय फुटबल प्रतियोगितामा शनिबार जित निकालेका छन् । नेपालटारस्थित तारकेश्वरको खेलमैदानमा भएको खेलमा हिमरश्मीले सिइए स्कुललाई १–० गोलले हरायो । हिमरश्मीका सगुन कार्कीले विजयी गोल गरेका थिए ।

प्रतियोगिताको दोस्रो दिन राजन मेमोरी स्कुलले पनि शानदार सुरुआत गरेको छ । बिक्रम तामाङको उत्कृष्ट ३ गोलको मद्दतमा राजन मेमोरिले एन्जलर्हाटलाई ५–० ले हरायो । विजयी टिमका लागि सुरज खत्री र निश्चल केसीले पनि १–१ गोलको योगदान दिए । अगनाइजेसन अफ प्राइभेट स्कुल(ओप्स)को आयोजना र सृजना ज्ञानसागर स्कुलको संयोजनमा सञ्चालन भएको प्रतियोगितामा आशिक परियारको निर्णायक १ गोलको मद्दतमा कौशलले प्रगति स्कुललाई १–० ले हरायो । अर्को खेलमा फेरिल्यान्डले सिर्जना ज्ञानसागरलाई २–१ गोल अन्तरले पाखा लगायो ।

फेरिल्यान्डका दीपेश वाइबाले २ गोल गर्दा सिर्जनाका आशिष ठकुरीले पेलान्टी किकमार्फत १ गोल फर्काए । त्यस्तै अन्य खेलमा सेब र मस्यार्दी तथा पुष्प कुञ्ज र त्रिशियसले गोलरहित बराबरी खेलेका छन् । शुक्रबार प्रतियोगिताको उद्घाटन काठमाडौं जिल्ला खेलकुद विकास समिति अध्यक्ष ध्रुवराज न्यौपाने, ओप्सका अध्यक्ष लोकेन्द्रबहादुर खड्का, ओप्सका अतिरिक्त क्रियाकलाप प्रमुख राजेन्द्र कडेरियालगायतले गरेका थिए । प्रतियोगितामा १६ स्कुललाई ४ समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइएको छ ।

प्रतिक्रिया