वार्तामा सिरियाली विपक्षी पनि सहभागी

जेनेभा, १६ माघ । स्वीटजरल्यान्डको जेनेभामा हुन लागेको सिरियासम्बन्धी शान्ति वार्तामा सिरियाली विपक्षी समूह पनि सहभागी हुने भएको छ । सो वार्तामा सहभागी नहुने बताउँदै आएको सिरियाको मुख्य विपक्षी समूहले शुक्रबारबाट जेनेभामा सुरु भएको सो शान्तिवार्तामा सहभागिता जनाउने निर्णय शुक्रबार अबेरतिर मात्र गरेको छ ।

शुक्रबार जेनेभामा संयुक्त राष्ट्रसंघीय अधिकारी, सिरियाली प्रतिनिधि र साउदी अरेबियाका मध्यस्थकर्ताहरू भेट्ने जनाइएको थियो । विपक्षी समूहका प्रतिनिधि भने शुक्रबार त्यहाँ पुग्न नसकेपछि औपचारिक वार्ता सुरु भएको छैन । सिरियामा जारी रहेको करिब ५ वर्ष लामो युद्धको अन्त्यका लागि सुरु हुन लागेको सो वार्तामा विपक्षीको सहभागिता नरहेपछि यसको निष्कर्षका विषयमा प्रश्न उठेको थियो । साउदी अरेबियाले मध्यस्थता गरिरहेको यस वार्तामा सहभागिताका लागि साउदी अरेबियाका मध्यस्थकर्ता समूहका अधिकारीहरूले रियादमा सिरियाली विपक्षीलाई भेटेका थिए ।

रियादमा गएको ४ दिनदेखि ती विपक्षीहरूसँग अरेबियाली मध्यस्थकर्ताहरूले वार्ता गरेका थिए । सोही वार्ताकै क्रममा शुक्रबार अबेरतिर जेनेभा वार्तामा आफूहरू पनि सहभागी हुने जानकारी उनीहरूले दिएका हुन् । सो भेटका क्रममा सिरियाली विपक्षी समूहका सदस्यहरूले आफ्ना केही शर्तहरू रहेको भन्दै ती शर्त पूरा नहँुदासम्म सरकारी पक्षसँग वार्ता नगर्ने प्रतिक्रिया दिएका थिए । सिरियाली विपक्षी समूहका एक वरिष्ठ अधिकारीले एएफपी समाचारदातालाई आफूहरू सो वार्तामा सहभागी हुन लागेको जानकारी शुक्रबार गराएका थिए ।

साउदी अरेबियाले गएको डिसेम्बर महिनामा मध्यस्थकर्ता समूह गठन गरेको थियो । सो समूहको गठनसँगै उसले वार्ताको प्रयास पनि थालको हो । सिरियाली विपक्षीहरूले सिरियामा सरकारी वा अन्य तर्फबाट गरिएका हवाई कारबाहीको अन्त्य हुनुपर्ने सर्त अघि सारेका थिए । साथै सिरियामा सहायताका लागि गरिने प्रयासहरूलाई साकार बनाइनुपर्ने र यसका माध्यमबाट आफूहरूको प्रतिनिधित्वको सुनिश्चित हुने उनीहरूले जनाएका थिए ।

रियादमा सिरियाली सरकारी पक्ष र विद्रोहीबीच गत डिसेम्बरमा आपसी सहमति र समझदारीबाट समस्याको समाधान निकाल्ने विषयमा सहमति भएपछि जेनेभामा यो वार्ताको आयोजना गरिएको हो ।

सिरियामा गएको करिब ५ वर्षदेखि जारी हिंसामा परी कम्तीमा पनि २ लाख ६० हजार नागरिकको ज्यान गएको छ । सो हिंसामा परी त्यहाँका १०औँ लाख नागरिक घरबारविहीन वा शरणार्थी भएका छन् । साउदी अरेबियाली उच्च मध्यस्थकर्ता समूहका संयोजक रेद हिजबले जेनेभा वार्ता एक उत्कृष्ट अवसर भएका प्रतिक्रिया दिए ।

उनले विपक्षीहरूलाई पनि वार्ताको टेबलमा बस्न आग्रह गर्दै वार्ताका लागि उनीहरूले अघि सारेका प्रारम्भिक शर्तहरूलाई पूरा गर्नेतर्फ सबैको ध्यान पुग्ने आश्वासन पनि दिए । सिरियामा जारी रहेको हिंसाको अन्त्यका लागि यसअघि पनि संयुक्त राष्ट्रसंघले वार्ताको प्रयास गरेको हो तर वार्ता सफल हुन सकेको छैन । यसपटकको वार्ता साउदी अरेबियाले नै तय गरेको हो । साउदी अरेबियाको पहलमा सुरु भएको सो वार्तामा संयुक्त राष्ट्रसंघको पनि सहभागिता छ ।

अमेरिका र अरेबियाद्वारा स्वागत

यसैबीच सो वार्तामा सिरियाली विपक्षी समूह सहभागी हुने भएपछि अमेरिकाले यसको स्वागत गरेको छ । अमेरिकी विदेशमन्त्री जोन केरीले शुक्रबार सो समाचारको स्वागत गरेका हुन् । उनले विपक्षी उच्चस्तरीय मध्यस्थकर्ता समूहले सिरियाली विपक्षीहरूको पक्षबाट जेनेभा वार्तामा सहभागिता जनाउन लागेकोे समाचारको संयुक्त राज्य अमेरिकाले स्वागत गरेको विज्ञप्तीमार्फत जानकारी गराए ।

उनले शान्तिपूर्ण वार्ताको माध्यमबाट सम्पूर्ण समस्याको समाधान निकाल्न पनि शुभकामना पनि दिए । त्यस्तै साउदी अरेबियाको विदेशमन्त्रालयले पनि सिरियाली विपक्षीहरूको सो निर्णयको स्वागत गरेको छ । उक्त मन्त्रालयले शुक्रबार विज्ञप्तिमार्फत सो विपक्षीको सो निर्णयको स्वागत गर्दै वार्ताका माध्यमबाटै सबै समस्याको समाधान निकाल्नेतर्फ सबै लाग्न आग्रह गरेका छन् ।

प्रतिक्रिया