‘अब विद्युतीय सरकार’

kp oli p copyकाठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब विद्युतीय सरकारको अवधारणाअनुसार सरकारका सेवा प्रदान गर्ने बताएका छन् । मुलुकको द्रुततर विकास गर्न सूचना प्रविधिको प्रयोग अपरिहार्य रहेको उनले सुनाए ।

कम्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले शुक्रबार आयोजना गरेको ‘सुबिसु क्यान सूचना प्रविधि–२०१६’ को उद्घाटनका क्रममा उनले मुलकलाई अब आधुनिक बनाउन आवश्यक भइसकेको र त्यसका लागि सूचना प्रविधिको महत्वपूर्ण भूमिका रहने बताए ।

२२औँ सूचना प्रविधि मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वमा हासिल भएका नयाँनयाँ ज्ञान सीपका आधारमा विकासलाई उन्नत र व्यवस्थित बनाउन सकिने बताउँदै त्यसको प्रयोगमा नै हाम्रो विकासको गति निर्भर हुने बताए ।

प्रधानमन्त्री ओलीले मुलुक अब परम्परागत रूपमा अघि बढ्न नसक्ने बताउँदै उनले सरकारले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर भरपुर प्रयोग गर्ने बताए ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले दक्षिणी सिमानामा कसैले अवरोध नगर्दा पनि आपूर्तिमा असहज भएको बताउँदै अब त्यो खुल्ने अवस्थामा पुगेको र छिट्टै खुल्ने जिकिर गरे । कार्यक्रममा क्यान महासंघका अध्यक्ष इन्जिनियर विनोद ढकालले सूचना सञ्चार प्रविधिको पहुँच ग्रामीण क्षेत्रमा नपुगेसम्म विद्युतीय नेपालको परिकल्पना साकार नहुने बताए ।

सुबिसु केबलनेट प्रालिका अध्यक्ष सुधीर पराजुलीले इन्टरनेट सेवाको महत्व र आवश्यकतालाई बुझेर इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको सूचीमा राख्न सरकारसँग आग्रह गरे । क्यान महासंघका महासचिव विश्व बलामीले सूचना प्रविधिसम्बन्धी यस्ता मेलाले मुलुकमा सूचना प्रविधिको विकास र विस्तार गर्न मद्दत पुग्ने बताए ।

सुबिसु केबलनेटको मुख्य प्रायोजन तथा हुवावेको सहप्रायोजनमा प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आयोजित सो मेला माघ २० गतेसम्म चल्नेछ भने सो मेलामा सूचना सञ्चार प्रविधिसम्बन्धी १ सय ८० स्टल रहेका छन् । क्यानले सन् १९९२ देखि प्रत्येक वर्ष राजधानीमा सूचना प्रविधि मेलाको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया