पर्यटकको संख्या घट्यो

चितवन, ११ माघ । नाकाबन्दीका कारण पर्यटकीय मौसममा समेत चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्यामा कमी आएको छ । धेरै पर्यटक आउने याम मंसिर–पुस महिनामा गत वर्षको तुलनामा पर्यटकको संख्या धेरै नै घटेको छ । पुसमा ८ हजार २२ जना पर्यटक मात्रै निकुञ्ज प्रवेश गरेका छन् । विदेशी ३ हजार ६ सय ३९, सार्क देशका ४ सय १९ र नेपाली ३ हजार ९ सय ६४ जना रहेका छन् । भित्रिएका पर्यटकमा ४ हजार २१ पुरुष र ४ हजार १ महिला रहेको निकुञ्जले जनाएको छ ।

गतवर्षको पुसमा ८ हजार ८ सय ८७ विदेशी, २ हजार ४ सय ८६ सार्क र ५ हजार ३ सय ४१ नेपाली पर्यटक गरी १६ हजार ७ सय १४ पर्यटक निकुञ्ज प्रवेश गरेका निकुञ्जका रेन्जर ऋषिराम ढकालले जानकारी दिए । यस वर्ष पुसमा ८८ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्ष यही समयमा २ करोड ४४ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसैगरी मंसिर महिनामा विदेशी ३ हजार ६ सय ३०, सार्क देशका २ सय ३७ र नेपाली २ हजार ३ सय गरी ६ हजार १ सय ६७ पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । गत वर्ष यही समयमा १२ हजार ३ सय ७९ विदेशी, ७ सय ५१ सार्कमुलुकका र ३ हजार ९ सय ४० नेपाली गरी १७ हजार ७० पर्यटक निकुञ्ज प्रवेश गरेका थिए ।

यसवर्ष मंसिरमा ९२ लाख ४६ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने गतवर्षको मंसिरमा ४ करोड ६७ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यसवर्ष ६ महिनामा ४ करोड ११ लाख ३७ हजार रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । गत वर्षभरिमा २४ करोड ६२ लाख ३७ हजार राजस्व संकलन भएको थियो । पर्यटक घटेसँगै राजस्व घट्दा आम्दानीको ३० देखि ५० प्रतिशतसम्म मध्यवर्तीले पाउने रकममा कटौति हुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए ।

प्रतिक्रिया