महत्वपूर्ण क्षणको पर्खाइमा

gyani chunara copy८० को दशकको सुरुआत नेपाली तेक्वान्दोको शाख उच्च बन्यो । विधान लामा, राजकुमार राई, सीता राई, प्रमिला थापालगायत एक से एक स्टार थिए । अरू पनि थुप्रै नाम छन् । तेक्वान्दो खेलाडी नेपाली समाजको रोल मोडल बन्ने क्रमलाई संगीना वैद्य, सबिता राजभण्डारी र दीपक विष्टसम्मले निरन्तरता दिए । पछिल्लोसमय दुई एसियाड पदकविहीन बिताएको तेक्वान्दो फेरि उच्च जोशका साथ १२औँ दक्षिण एसियाली खेलकुदको तयारीमा जुटेको छ । नियमित कप्तान मनिता शाही अमेरिका गएपछि एउटा रिक्तता देखिएको छ । त्यो रिक्तताको माझ नेपाली खेल क्षेत्रबाट समाजमा देखिन सक्ने रोल मोडलको सम्भावना सायद यसपटक पूरा हुनेछ, एउटा नयाँ स्टारको उदय हुनेछ भन्नेमा धेरै जना आशावादी पनि हुनु स्वाभाविकै हो ।

हाल १३ जना नियमित अध्यक्षमा छन् । धेरै जना आशा लाग्दा पनि छन् । अनुशासित पनि छन् । उत्तिकै मिहेनति पनि छन् । मोहम्मद ओएसको राष्ट्रिय टोलीमा पुनरागमन भएको छ । उनीबाट निराश हुनुपर्ने कुनै ठाउँ नै छैन । त्यसो त निमा गुरुङ पनि उत्कृष्ट खेलाडी हुन् । रामबहादुर महत राम्रा प्रतिस्पर्धी मानिन्छन्, दक्षिण एसियाली क्षेत्रमा । यानकुमारी चौलागाईं लागातार लामोसमयदेखि एउटै फर्ममा रहेकी छिन् । विगतको भन्दा फरक तौल भए पनि आयशा शाक्य चतुर र खेलको परिस्थिति बुभ्mन सक्ने खेलाडीको रूपमा छिन् ।

यी एक से एक तेक्वान्दोकर्मीको माझमा अनुशासित, सामाजिक चेतना भएकी दबाबको सामना नगर्ने, कर्तव्यमा दृढ ज्ञानी चुनारा आसन्न सागबाट नेपालमा फेरी स्टारको रूपमा उदाए उनी नयाँ युगकी नयाँ रोल मोडल हुन लायक भएकोमा धेरै सहमत पनि छन् । ‘साग छनोटमा ३ वटै खेलमा कुनै दबाब महसुस नहुनु र उनमा देखिएको परिपक्वताले हामीलाई धेरै आशावादी तुल्याएको छ ।’ ज्ञानीलाई नजिकबाट नियालिरहेकी प्रशिक्षक संगीना वैद्यको उनकै बारेको प्रतिक्रिया हो यो ।

उमेरमा २२ वर्ष भए पनि परिपक्व मानसिकताकी यी स्टार मेक्सिकोमा भएको विश्व च्याम्पियनसिप र १७औँ एसियाली खेलकुदमा प्राप्त अनुभवपछि तेस्रो ठूलो प्रतियोगिताका लागि उनी दैनिक तीनपटक गरी पाँच घन्टा अभ्यासमा व्यस्त छिन् । विश्व च्याम्पियनसिपमा जर्मनी तथा एसियाली खेलकुदमा जापानकी खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा पराजित भएकी थिइन् । बाबु शेरबहादुर चुनारा सेनामा जागिरे । बाबुकै कारण अध्ययन विजेश्वरी स्कुलमा त्यसै स्कुलमा एथलेटिक्स र तेक्वान्दो खेल्न सुरु गरिन् । विद्यालयमा भलिबलसहित ३ खेल भए पनि भलिबलमा उनी जम्न सकिनन् । बाँकी दुवै खेलको उत्तिकै राम्रो खेलाडी । बलबहादुर श्रेष्ठ यिनको सुरुआती प्रशिक्षक ।

एथलेटिक्समा हाइजम्पकी स्टार चुनारा अहिले पनि इन्डुरेन्स पावर भएकी, राम्रो फेस किक र सुरुआतदेखि अन्त्यसम्म डटेर खेल्नसक्ने क्षमता भएको संगीना बताउँछिन् । तीनै संगीना बिजेश्वरीबाट आर्मी क्लबमा प्रवेश गरेपछि लगातार ४ वर्ष नेपालको प्रभावकारी खेलाडीको रूपमा रहेकी छिन् ।

उनलाई सुरुआती दिनमा यस खेलको राष्ट्रिय च्याम्पियन हुनुको महत्व र दबाब कमै थाहा थियो । संगीना वैद्य र दीपक विष्टको स्टाम देखेपछि उनले तेक्वान्दो खेलाडी हुनुको थप गर्व महशुस गर्न थालिन् । तेक्वान्दोकर्मी हुनुको जिम्मेवारी उनलाई थाहा छ । केही दबाब त हुन्छ नै तर दबाबको महसुस त्यत्ति साह्रो छैन । भन्छिन्, ‘हाम्रो काम परिणाम र नतिजाकै बारे धेरै सोचेर अल्मलिने होइन । प्रशिक्षणमा मिहेनत गर्ने र धेरै सिक्ने रिङमा यसलाई अधिक उपयोग गर्ने ।’ उनको यही सिक्ने चाहनाको कारण खेल रिभ्यु हेर्ने र सहकर्मी तथा प्रशिक्षकसँग सल्लाह र छलफल गर्ने बानी छ । उनको यही सिक्ने चाहना र राम्रो खेल्ने प्रतिवद्धताका कारण धेरैको प्रिय बनेकी छिन् । साथमा अनुशासन, भद्र र शालीन व्यक्तित्व भएको कारण रिङमा प्राप्त हुने नतिजासँगै नेपाली तेक्वान्दोले नयाँ रोल मोडलको बाटो तय गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया