काठमाडौं, २५ पुस । बगंलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले मलेसियाको फेल्डा युनाईटेडसँग गोलरहीत बराबरी खेलेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल मलेसियाको शीर्ष डिभिजन क्लब फेल्डा युनाइटेडसँग बराबरीमा रोकिएको हो । बराबरीपछि नेपाल र फेल्डाले समान १ अंक जोडेका छन् ।
बंगलादेशको हुडा स्टेडियममा शनिबार भएको खेलको सुरुवातमै नेपालले गोलको सुन्दर मौका गुमाएको थियो । खेलको तेस्रो मिनेटमा स्ट्राइकर विमल घर्तीमगर गोल गर्न चुकेका थिए । मिडफिल्डर जगजित श्रेष्ठले ६३ औँ मिनेटमा प्रहार गरेको सट पोस्टमा लागेर फर्किएको थियो । त्यससँगै बाँकी समयमा पनि नेपाल गोल गर्न चुक्यो । नेपाल सत प्रतिशत जीत दर्ता गर्न असफल भयो ।
शुक्रबार नै भएको उद्घाटन खेलमा श्रीलंकालाई ४–२ ले हराएको आयोजक बंगलादेश तालिकाको शीर्ष स्थानमा छ । श्रीलंका भने तालिकाको पुछारमा छ ।
भारतमा हुने दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपालले अघिल्लो चरण प्रवेश गर्ने लक्ष्य लिएको छ । त्यसैले टोलीमा अधिकांश खेलाडी २३ वर्ष मुनिका छन् । कप्तान अनिल गुरुङ र गोलकिपर किरण चेम्जोङबिनाको नेपाली टोलीको कप्तानी बंगबन्धु कपका लागि विराज महर्जनले गरेका छन् ।
समूह ‘ए’ मा रहेको नेपालले अर्को खेल आगामी मंगलबार श्रीलंकासँग खेल्नेछ । यस्तै बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया